प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी महिलाले नेपाल कम्युनिष्ट पार्टीका नेतृहरू पूर्वसभामुख ओनसरी घर्ती र पम्फा भुषाललाई घटनाबारे बताएको तर उनीहरूले कुनै सहयोग नगरेको बताएकी छन्।
नेकपाका नेतृहरूले भने ती महिलाले आफूलाई त्यस्तो कुनै जानकारी नगराएको बताए। नेपाली कांग्रेसकी एक नेतृले भने ती महिलाले आफूलाई आइतबार राति फोन गरेर घटनाबारे जानकारी दिएको बताइन्।
महराले आइतबार आफूमाथि बलात्कार गरेको संसद सचिवालयमा काम गर्ने ती महिलाको आरोप छ।
पूर्वसभामुख घर्तीले आफूलाई ती महिलाको कुनै मेसेज नआएको र घटनाबारे थाहा नभएको बताइन्।
तीन वर्षअघि पनि ती महिलाले महराले आफूसँग गर्ने आचरणबारे घर्तीलाई लिखित जानकारी गराएको बताएकी छन्।
घर्तीले भने त्यसलाई अस्वीकार गरिन्।
‘उनले सबै झूट कुरा बोलिरहेकी छन् हिजो पनि गरेको रे। उनले न मलाई सम्पर्क गरेकी छन् न एसएमएस गरेकी छन्। निवेदन पहिले दिएको पनि छैन। तपाईंहरू पनि धेरै पछि नलाग्दा हुन्छ किनभने यिनी छिनछिनमै कुरा फेर्छिन्,’ घर्तीले भनिन्।
हामीले घर्तीलाई तीन वर्षअघि ती महिलाले दिएको लिखित जानकारी बारे पनि सोध्यौं।
उनले भनिन्- त्यो बेला म पार्टीमै थिइनँ।
परिवर्तित संसदकी सभामुख भएकाले तपाईंलाई उजुरी गरे सुनुवाइ हुन्छ भनेर उनले उजुरी दिएकी थिइन् होलिन् नि? भन्ने प्रश्नमा घर्तीले भनिन्, ‘मलाई थाहा छैन। त्यस्ता उजुरी त कति आउँछन् कति जान्छन् नि। तर मलाई निवेदन आएको छैन आवश्यक परे बोलम्ला।’
नेकपाकी अर्की सांसद पम्फा भुषालले पनि आफूलाई ती महिलाले केही नभनेको बताइन्। मेसेज फोन केही नआएको पनि उनको भनाइ छ।
‘मलाई उनको फोन आएको छैन। मेसेज पनि छैन। कुरा उठेपछि छानबिन होला यसबारे मलाई केही नसोध्नु,’ उनले भनिन्।
महराले बलात्कार गरेको भन्दै ती महिलाले कांग्रेस नेतृ उमा रेग्मीलाई आइतबार राति नै फोन गरेकी थिइन्।
रेग्मीले भने ती महिलाले पहिला प्रहरीमा उजुरी गरेपछि मात्र आफूले बोल्न मिल्ने बताइन्।
‘मलाई उनले घटना भएकै राति साढे एघार बजे फोन गरेर रूँदै यस्तो यस्तो भयो भनेकी थिइन्। उनले प्रहरीमा अहिलेसम्म उजुरी गरेकी छैनन्। उनले नै उजुरी नगरी यो विषयमा हामीले के भन्न मिल्छ र?’ उनले भनिन्,‘फोन आएपछि मैले हाम्रो पार्टीका प्रभावशाली नेताहरूलाई जानकारी गराएकी छु यसबारे बुझ्न भनेर।’
सम्बन्धित समाचारहरू :
सभामुख महराले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप, गृहमन्त्री र सचिवद्वारा प्रहरीसँग छलफल
बलात्कार आरोपमा मुछिएका महराको भनाइ र विज्ञप्ति बाझियो
महराबारे बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल
महरा प्रकरणमा प्रहरी फेरि चुक्यो, बालुवाटारले के गर्छ?
नेकपाले महरालाई भन्यो- सभामुख र सांसदबाट राजीनामा देऊ