तत्कालीन आइजिपी ओमविक्रम राणाले बाह्र वर्षअघि रौतहटको राजापुरस्थित कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमको घरनजिकै भएको बम विष्फोट र त्यसपछिको सामूहिक हत्याबारे आफूलाई केही थाहा नभएको बताएका छन्।
आइतबार साँझ सेतोपाटीसँग कुरा गर्दै उनले आफूलाई उक्त घटनाबारे त्यो बेला कसैले 'ब्रिफिङ' नगरेको र आइतबारै बिहान मात्रै आफूले थाहा पाएको बताए।
'त्यो बेला संविधानसभाको निर्वाचन थियो। गृहमन्त्री, गृहसचिव र म ७५ वटै जिल्लामा जाने, चुनावको सम्बन्धमा ब्रिफिङ गर्ने, त्यस्तो भिडभाडमा थियौं। त्यसैले यो घटना के हो भन्ने मलाई सम्झना छैन,’ उनले भने।
आफू केही समयदेखि तीर्थयात्रामा रहेकाले आइतबार मात्र समाचारहरू पढेर यसबारे थाहा पाएको उनले बताए।
'म तीर्थ गएको थिएँ। हिजो मात्र आएको। बिहान पत्रिका पढ्दा यो त यस्तो घटना रहेछ भन्ने थाहा पाएँ,' उनले भने, ‘अहिले मिडियामा आएका समाचारहरू हेर्दा त्यो सत्य हो भने कारबाही अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।’
राणा २०६३ भदौदेखि २०६५ भदौसम्म आइजिपी थिए। २०६४ चैत २८ गते संविधानसभा चुनावको अघिल्लो दिन यो घटना भएको थियो। तत्कालीन प्रहरी प्रमुखलाई त्यत्रो घटना थाहा नहुन कसरी सम्भव हुन्छ भन्ने प्रश्नमा उनले आफूलाई कसैले थाहा नदिएको जिकिर गरे।
'यत्रो घटना हुँदा पनि मलाई त्यति बेला कसैले ब्रिफिङ गरेनछन् भन्ने लागेको छ,' उनले भने।
त्यो बेलाको माहोल सम्झिँदै उनले भने, 'संविधानसभा चुनावको बेला बम विष्फोट त भइराख्या हुन्थ्यो। तर यस्तो, यस्तो भयो भनेर मलाई कसैले रिपोर्टिङ गरेको सम्झनै छैन।'
राजापुर प्रहरी चौकीका तत्कालीन इन्चार्ज तथा इन्सपेक्टर इन्द्र सुवेदीले बम विष्फोट भएकै रात आफ्नो सरूवा गरिएको बताएका छन्। त्यसरी घटनालगत्तै इन्सपेक्टरको सरुवा किन गरियो भन्ने प्रश्नमा उनले उक्त सरुवाबारे पनि आफूले अहिले बल्ल थाहा पाएको दाबी गरे।
'इन्सपेक्टरलाई सरूवा गर्ने भन्ने कुरा जिल्लाको एसपीले नै काजमा सरूवा गर्न सक्छ,' उनले भने, 'आइजीकोमा आउनुपर्दैन।'
त्यो बेला रौतहट जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपाने थिए, जो संविधान निर्माण बेला भएको मधेस-थरूहट आन्दोलन क्रममा टीकापुरमा मारिए।
राणाले त्यस दिन मात्र हैन, त्यसपछिका दिनमा पनि आलमले बम विष्फोट गराएको भन्नेबारे आफूलाई कुनै सूचना नआएको बताए। राणा उक्त घटनापछि पनि पाँच महिनासम्म प्रहरी प्रमुख थिए।
संविधानसभा निर्वाचनलगत्तै पीडितहरूले काठमाडौं आएर पत्रकार सम्मेलन गरेका थिए। पछि राष्ट्रिय मानवअधिकार आयोग, गैरसरकारी संस्था इन्सेक लगायतले छानबिन टोली बनाएर रौतहट पठाएका थिए। दुवै टोलीले घटना भएको हुनसक्ने, आलमका मानिसले छानबिनमा अवरोध पुर्याएको भन्दै थप अनुसन्धान हुनुपर्ने जनाएका थिए।
त्यतिका महिनासम्म प्रहरी प्रमुख राणालाई उक्त घटनाबारे थाहा नहुन कसरी सम्भव छ?
'जिल्लाले जाहेरी लिएन भने सरकारी वकिलकोमा, सिडियो साहबहरूकोमा पनि उजुरी गर्ने ठाउँ छ। त्यहाँ नभए त्यतिखेर अञ्चल प्रहरी कार्यालय थियो, क्षेत्रीय प्रहरी कार्यालय पनि थियो। त्यहाँ उजुरी हुन्थ्यो। त्यसपछि बल्ल प्रहरी प्रधान कार्यालयमा आउँथ्यो,' उनले भने, 'यस्तो जाहेरी परेको कुरा प्रहरी प्रधान कार्यालयमा आएको मलाई थाहा छैन। अहिले जसरी मिडियामा ब्रिफिङ भएको छ नि, त्यसरी घटना भएको मलाई सम्झना छैन।'
उनले बारम्बार तलबाट त्यस्तो घटनाबारे ब्रिफिङ नभएको जिकिर गरे। 'तलबाट यस्तो जटिल घटना छ भनेर ब्रिफिङ भए न माथिलाई थाहा हुने हो,’ उनले भने।
त्यो घटनाबारे राजनीतिज्ञले, तत्कालीन गृहमन्त्रीले पनि तपाईंसँग कुरा गरे होलान्, उनीहरूले के भने भन्ने प्रश्नमा राणाले भने, ‘मलाई नै थाहा थिएन। उनीहरूसँग के कुरा गर्नु। कहिल्यै कुनै कुरा भएन।'
बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घरनजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका घटना विवरणहरू आएका छन्। बम बनाएकै ठाउँमा विष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
विष्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी पठाएका थिए। त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो। घटनास्थलमा ओसीका लुगा र चप्पल थिए। इँटाभट्टाको माटो परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो। तर, प्रयोगशालामा माटो परीक्षण गर्ने प्रविधि नभएको भन्दै यसै फिर्ता पठाइयो।
प्रहरीले आलम र उनका भाइसहित पाँच जनालाई मुद्दा चलाउन भन्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलले मुद्दा चलाउन अस्वीकार गर्यो। उक्त निर्णयलाई महान्यायाधीवक्ता कार्यालयले पनि सदर गरेको थियो।
मुद्दा नचल्ने निर्णय भएपछि सिंह र खातुन दुवैले सर्वोच्च अदालतमा रिट दिएका थिए। त्यही रिटमाथि न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै यसमा थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान आदेश गरेको थियो। त्यही आदेश कार्यान्वयन गर्न अहिले आलमलाई पक्राउ गरिएको हो।
यी सबै घटना विवरण आफूलाई थाहा नभएको तत्कालीन आइजिपी राणाको दाबी छ।
'अहिले यसरी मिडियामा आएको भएर पो कत्रो ठूलो भयो। त्यो बेला पनि यसरी नै आएको भए हामीले थाहा पाउँथ्यौँ,' उनले भने।
यो पनि:
न्याय माग्दै आलमविरूद्ध सर्वोच्च आएकी रुक्सनाको गरिएको थियो हत्या
सांसद आलम पक्राउ प्रकरणमा पीडित परिवारले भने - न्याय पाउने आश पलाएको छ
कांग्रेस सांसद आलम निवासबाटै पक्राउ