प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण आइतबार संसद बैठक जाने तरखरमा थिए।
‘मोबाइल बज्यो। एसएमएस आएको रहेछ। हेरें, बैठक माघ ६ गतेसम्म स्थगित,’ खाँणले सेतोपाटीसँग भने, ‘नेकपाले संसदलाई अनिर्णयको बन्दी बनायो।’
संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ। यो अधिवेशनमा संसदले धेरै ऐनकानुन पारित गर्छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सभामुख बन्ने व्यक्ति टुंग्याउन नसक्दा सुरू भएको एक महिना बित्न लाग्दा पनि संसद बैठक चल्न सकेको छैन।
यसअघि पुस ११ र १६ गते डाकिएका दुबै बैठक सूचना टाँसेर स्थगित गरिएका थिए।
‘सांसदहरू जिल्ला गइरहेका हुन्छन्। संसद बैठक बस्छ भनेर हतारहतार आयो, स्थगित गरिएको खबर आउँछ,’ खाँणले भने, ‘जनताका कुरा सदनमा राख्न पाइएन, यो राम्रो होइन।’
यो पनि:
संसदलाई नेकपाको लाचार छाया बनाउन खोज्नु लज्जास्पद: कांग्रेस
प्रतिपक्षी सांसदहरूले नेकपाले संसदलाई बन्धक बनाउनु गैरलोकतान्त्रिक भएको बताएका छन्।
समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका सांसद बाबुराम भट्टराईले नेकपाभित्रको गुटगत खिचातानीले संसद बन्धक भएको आरोप लगाएका छन्।
‘हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो,’ उनले ट्वीट गरेका छन्, ‘तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने? जनप्रतिनिधि मुकदर्शक भइरहने? यही हो लोकतन्त्र? अझै कम्युनिज्म? धन्य कणहरू!’
कांग्रेस सांसद गगन थापाले नेकपाभित्रको स्वार्थको बेमेलले संसद बन्धन बनाउनु निन्दनीय भएको बताएका छन्।
‘नेकपाभित्रको स्वार्थको वेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ। यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ,’ थापाले ट्वीट गर्दै भनेका छन्।
उनले उपसभामुखलाई नियमअनुसार सदनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।
‘उपसभामुखज्यू, संसद कुनै दलको छायाँ होइन। तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडि बढाइयोस्,’ थापाले ट्वीटरमा लेखेका छन्।
तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी एक कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेपछि राजीनामा दिएका थिए। त्यसयता सभामुख पद खाली छ।
सत्तारूढ नेकपाले सभामुखमा उम्मेदवारी दिने निर्णय त गरेको छ तर उम्देवार को हुने टुंग्याउन सकेको छैन।
नेकपाभित्र अहिले सभामुखमा तीन गुटले दाबी गरिरहेका छन्।
पूर्वमाओवादी पक्षले पार्टी एकता हुनुअघि सभामुख आफूले पाएकाले फेरि पनि त्यो पदमा आफ्नो दाबी स्वभाविक हुने बताएको छ। अध्यक्ष प्रचण्डले अग्नि सापकोटा वा पम्फा भुसालमध्ये एक सभामुख हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सभामुखका लागि उपर्युक्त हुने बताउँदै आएका छन्।
उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सभामुखमा दाबी गर्दै आएकी छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आड दिएको बताइन्छ।
सभामुख हुने ग्यारेन्टी नभएसम्म उनले उपसभामुखबाट राजीनामा नदिने अडान लिएकी छन्।
आइतबार बालुवाटार पुगेर उनले दुई अध्यक्षसँग आफूले राजीनामा नदिने अडान दोहोर्याइकी छन्।
शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको थियो। तर तुम्बाहाङ्फेले आफू सार्वभौमसत्ता सम्पन्न संसदको प्रमुख भएकाले पार्टीले आफूलाई निर्देशन दिन नमिल्ने तर्क पनि गरेकी छन्।
यो पनि:
बालुवाटारमा शिवमायाको प्रश्न- मलाई राजीनामा दिन लगाउने निर्णय लेख्ने को हो?
प्रधानमन्त्रीको चाहनाविपरीत तुम्बाहाङ्फेलाई राजीनामा गराउने सचिवालयको निर्णय?
उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय