नेपाली कांग्रेसभित्र डेढ महिनादेखिको विवाद तत्कालका लागि मिलेको छ।
बरिष्ठ नेता रामचन्द्र पौडेल ०७७ फागुनमै १४ औं अधिवेशन गर्न राजी भएका छन्। पौडेलले महाधिवेशन कार्यतालिका सच्याउन गरेको मागमा सभापति शेरबहादुर देउवा पनि सहमत भएका छन्।
‘केन्द्रीय महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्नेमा बरिष्ठ नेता सहमत हुनुभयो। सभापति पनि जिल्ला अधिवेशनको कार्यतालिकालाई केही हेरफेर गर्न तयार हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘यही निर्णयलाई बैधानिकता दिन सोमबार केन्द्रीय समिति बैठक बस्छ।’
केन्द्रीय महाधिवेशन नै फागुनको सट्टा मंसिरमा गर्नुपर्ने अडान राखेको पौडेल समुह जिल्ला अधिवेशनको कार्यतालिका अगाडि सार्न, क्रियाशील सदस्यता छानविन समिति गठन गर्नेलगायत विषयमा सभापति देउवा सकरात्मक देखिएपछि सहमतिमा आएको हो।
पाँचपटक केन्द्रीय समिति बैठक सारे पनि पौडेल सहमतिमा नआएपछि गत पुस ११ गते सभापति देउवा निकट केन्द्रीय समिति सदस्य उपस्थित बैठकले कार्यकाल एक वर्ष थप गर्ने, विभाग संख्या ४७ बनाउने, १४ औं महाधिवेशनका लागि सदस्यता सम्बन्धी धारा निलम्बन गर्नेजस्ता निर्णय गरेको थियो।
आफूसँग परामर्श नै नगरी सभापति एकलौटी ढंगले प्रस्तुत हुँदै महाधिवेशन बहुमतका आधारमा घोषणा गरेकोमा पौडेल पक्ष रूष्ट थियो। पौडेलले यो निर्णयबाट पछि हट्न दवाव दिन तीन दिनसम्म जिल्ला सभापति भेला पनि गरेका थिए।
सभापति देउवाले विवाद मिलाउन अग्रसरता देखाएपछि अब केन्द्रीय समिति बैठकमा पौडेल पक्ष पनि उपस्थित हुने भएको छ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह सभापति देउवा सहमतिका आधारमा अघि बढ्न तयार भएपछि आफूहरू अब केन्द्रीय समितिमा उपस्थित हुने बताउँछन्। मंसिर २६ देखि पौडेल पक्ष केन्द्रीय समितिमा उपस्थित भएको थिएन।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए।
‘केही समययता जारी विवाद समाधान नजिक पुगेको छ,’ उनले भने, ‘संवादबाट सहमति खोज्ने र सहमतिसाथ नै महाधिवेशन गर्न घनिभुत छलफल जारी छ।’
शर्माले सोमबार यी सबै विषयहरू केन्द्रीय समिति बैठकबाट टुंगोमा पुगिने पनि बताएका छन्।
‘केन्द्रीय समिति बैठकमा सबैको उत्साहपूर्वक सहभागिता रहन्छ,’ उनले भने।
सोमबार बस्ने बैठकका लागि एजेन्डा तय गर्न महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ। उनीहरूलाई मिनेन्द्र रिजाल र रमेश लेखकले पनि सघाउनेछन्।
पार्टीलाई विधानअनुसार सञ्चालन गर्न दवाव दिइरहेको बताएका पौडेलले अन्तत: भागबन्डा मिलेपछि विधानविपरीत निर्णय पनि स्वीकार गरेका छन्। कांग्रेस विधानमा २८ विभाग गठन गर्न सक्ने नियम छ। तर विभाग बढाएर ४७ पुर्याइएको हो। विभाग गठनमा पनि पौडेल पक्षलाई समेटेर अघि बढ्नेमा देउवा छन्।
दुई हजार चार सय कार्यकर्ता व्यवस्थापन गर्न र महाधिवेशनमा प्रभाव पार्न सभापति देउवाले विभाग गठन गर्न लागेको र उक्त कदम विधान विपरीत भन्दै पौडेल पक्षले विरोध गर्दै आएको थियो।
सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच विवाद हुनुको भित्री कारण नेविसंघको नेतृत्व कसले पाउने भन्नेमा रहेको स्रोतको दावी छ। सभापति देउवाले सुनसरीका राजीव ढुंगानाको नाम नेविसंघ सभापतिमा प्रस्ताव गरेका छन्।
नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने विधान गत वर्ष कांग्रेस केन्द्रीय समितिले नै पारित गरेको थियो। भागबन्डा मिलेपछि उक्त विधान मिचेरै अघि बढ्नेमा नेताहरू पुगेका हुन्। तर कांग्रेस मुख्यालयको ढोकामा एक महिनादेखि ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने माग राखेर रिले अनसन जारी छ।
नेताहरूले ५० वर्ष पुगेका ढुंगानालाई नेविसंघ सभापति बनाउन लागेपछि नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विरोध गरेका छन्। ‘नेविसंघको जारी आन्दोलनलाई थप शशक्त बनाउने’ उनले बताएका छन्।
सभापति देउवाले नेविसंघका पूर्वउपाध्यक्ष ढुंगानालाई नेविसंघ सभापति बनाएर उपाध्यक्ष र महामन्त्री पौडेल समूहलाई पनि दिने प्रस्ताव गरेका हुन्। उक्त कार्यसमितिलाई अब हुने नेविसंघ महाधिवेशनमा उम्मेदवार बन्न नदिने र छ महिनाभित्र ११ औं महाधिवेशन गरिसक्नुपर्ने जिम्मेवारी दिन लागिएको छ।
‘नेतृत्व आफूले राखेर सभापतिले बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई समेटेर ६० प्रतिशत भाग दिएर नेविसंघ कार्यसमिति गठन गर्दै हुनुहुन्छ,’ स्रोत भन्छ, ‘संभवत सोमबार नै नेविसंघले नेतृत्व पाउनेछ।’
नैनसिंह महर नेतृत्वको नेविसंघ गत वर्ष माघमा विघटन गरिएको थियो। अब बन्ने नेविसंघ एक सय २७ सदस्यीय बन्नेछ। नौ जना महामन्त्री, छ जना उपसभापति, छ जना नै सहमहामन्त्री राख्ने गरी नेविसंघ कार्यसमिति ल्याउन लागिएको हो।
नौ जना महामन्त्रीमा देउवा पक्षबाट तीन, पौडेल पक्षबाट तीन, सिटौला पक्षबाट दुई र उपसभापति विजयकुमार गच्छदार पक्षबाट एक जना रहने गरी भागबन्डा मिलाइएको स्रोतको दाबी छ। यी समग्र विषयमा निर्णय लिन सोमबार केन्द्रीय समिति बैठक बस्दैछ।
यो पनि:
ढोकैको अनसन सुन्दैन कांग्रेस (भिडिओ)
देउवालाई ढोकामै छेक्छ नेविसंघ