१४ औं महाधिवेशन घोषणा गरेलगत्तै पार्टी सभापति शेरबहादुर देउवाले भटाभट विभाग संयोजक, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरे, त्यसले भिन्न गुट चलाइआएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको मनमा पनि चस्का पस्यो।
आफ्ना समूहमा रहेका काभ्रेका शिव हुमागाईंलाई देउवाले विभाग संयोजक कै जिम्मेवारी दिए। यसले हुमागाईं देउवा समूहमा गएको चर्चा सिटौलाको कानमा पुग्यो।
यतिमात्र होइन, आफूलाई भरथेक गरिरहेकामध्ये एक केन्द्रीय सदस्य तनहुँका प्रदीप पौडेल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिकिएका कुरा आए।
अर्का केन्द्रीय सदस्य गगन थापा पछिल्ला दिनमा कुनै पनि गुट भेलामा देखिएनन्। उपर्युक्त गुटमा ढल्कने पर्खाइमा थापा रहेको चर्चाबीच सोमबार सिटौलाले बत्तीसपुतलीमा बैठक नै राखे।
यतिमात्र होइन, आफ्ना समूहबाट अनुशासन समितिमा प्रतिनिधित्व गरेका उमाकान्त चौधरीले राजीनामा दिएको अवस्था पनि थियो। यस्तै विषयलाई प्रष्ट पार्न सिटौलाले भेला राखेका हुन्।
सिटौलाले बैठकमा कुरा नै उमाकान्त चौधरीले दिएको राजीनामाबाट सुरू गरे।
चौधरीले आफूलाई राजीनामा बुझाएको र त्यो सभापति देउवालाई बुझाउनुपहिले नै फिर्ता गरिदिएको उनको प्रष्टोक्ति रह्यो।
अनि सिटौलाले मन फुकाएर भने, हाम्रो शक्ति कमजोर भएको छैन। बरू विस्तारित हुँदै गएको छ। उनले आगामी दिनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धामा त्यो शक्ति कति विस्तारित भएको रहेछ देखिने पनि बताए।
‘हामीलाई कुन नाम दिनुहुन्छ, तेस्रो टिम भन्नुस्, नयाँ टिम भन्नुस् जे भन्नुस्। हामी कहीँकतै गएको छैन,’ आफ्नो नेतृत्वमा भिन्न शक्ति निरन्तर चलिआएको उल्लेख गर्दै सिटौलाले थपे, ‘अझै विस्तारिक स्वरूपमा छौं।’
सिटौलाले कसरी टिम विस्तारित भयो, पहिलेभन्दा नयाँ को थपिएका छन् प्रष्ट पारेनन्। ‘आएका साथीहरूलाई धपाउनुपर्ने अवस्था छैन,’ उनले यति मात्रै भने।
सिटौलाले आफ्नो गुट कसरी जन्मियो भन्नेबारे चार वर्षअघिका घटना पनि सुनाए।
तत्कालीन सभापति सुशील कोइराला जिवित भएको भए भिन्न गुट बनाएर अघि जानुपर्ने अवस्था नआउनेजस्तो लागेको पनि उनले बताए।
‘सुशील दा बाँचिराख्नुभएको भए यो परिस्थिति हुँदैनथ्यो होला भन्ने मेरो बुझाइ छ। दुर्भाग्य सुशील दा बित्नुभयो। १३ औं महाधिवेशनमा कुनै तयारीविना म, गगन र उमाकान्तजीले उम्मेदवारी दियौं,’ उनले भने।
त्यसपछि सिटौलाले आगामी दिनको चर्चामा समय बिताए। तोकिएको समय अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म नै महाधिवेशन गर्ने गरी नेतृत्वलाई दबाव दिइरहनुपर्ने उनले बताए।
‘समयमै महाधिवेशन नहुँदा पार्टीलाई क्षति पुगको छ,’ उनले भने, ‘अब पनि तोकिएको समयभित्र महाधिवेशन नगर्ने र सार्ने खेल खेल्ने हो भने हाम्रो साथ नेतृत्वलाई रहँदैन।’
महाधिवेशन सकेर स्थानीय तह निर्वाचनमा होमिनुपर्ने पनि उनले बताए।
देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको आलोचना गरेका सिटौलाले बहुमत र बहिष्कारको खेलले पार्टीलाई हित नगर्ने बताए।
सभापति देउवाले पुस ११ गते आफूपक्षका केन्द्रीय सदस्य मात्रै उपस्थित बैठकबाट महाधिवेशनको मिति र कार्यतालिका ल्याएपछि पौडेल र सिटौलाले लगातार पाँच वटा केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए।
उनले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई भेटेर आफूले अहिलेकै जस्तो कमजोर शैलीले पार्टी सञ्चालन गर्न नहुने बताएको आफूनिकटका कार्यकर्तालाई सुनाए।
‘सभापति देउवा र पौडेलजीलाई भेटेरै भनेको छु, पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा त भइरहन्छ। तर यस्तो लुलो र कमजोर ढंगले अब अगाडि जान सकिन्न,’ सिटौलाले भने।
सिटौलाले देउवा र पौडेलबाट बलियो कांग्रेस बनाउन संभव नरहेको पनि घुमाउरो भाषाबाट बताउन खोजे।
‘आफैंभित्र कलह भएजस्तो अवस्थाबाट पार्टी बाहिर निकाल्नुपर्छ। कार्यकर्ता एकताबद्ध बनाउनुपर्छ,’ सभापति देउवालाई लक्षित गर्दै उनले थपे, ‘एक्लै हिँडेर कहीँ पुगिँदैन। नयाँ केही गर्न सक्ने कौशलता चाहियो।’
जनता र कार्यकर्ताले पनि केही नयाँ गर्न सक्ने दृष्टिकोण भएको नेतृत्व खोजिरहेको सिटौलाले बताए।
‘विचार, व्यवहार र आचरणले नयाँ बन्नुपर्छ,’ उनले भने, ‘हिजोको नशाबाट बाहिर निस्कनुस्। देशमा यति ठूला परिवर्तन पार्टीकै नेतृत्वमा ल्याउन सक्ने, नेता परिवर्तन हुन नसक्ने?’
उनले पार्टीलाई आमूल परिवर्तन गर्न आचरण सुधार्न सक्ने नेता चाहिएको र त्यो आफ्नो नेतृत्वमा हुन सक्ने पनि संकेत गरे।
‘पार्टीभित्र संरचना, विचार र संगठनले आमुल परिवर्तन हुनुपर्छ। अनि मात्रै जनताका पक्षमा प्रष्ट उभिन सकिन्छ,’ उनले भने।
छेउमा रहेका गगन थापा, प्रदीप पौडेलतर्फ हेर्दै सिटौलाले युवामा चलायमान शक्ति कहाँ गयो? भनेर पनि सोधे।
‘मैले नबुझेका कुरा, उमेरमा भाइजस्तो तपाईंहरू व्यवहारमा भने किन बूढोजस्तो?,’ उनले प्रश्न गरे।
उनले केन्द्रमा आफू संगठन राम्रो बनाउन लागिपर्ने वडासम्म गएर काम गर्न अरू कार्यकर्तालाई आग्रह पनि गरे।
‘अरूको आश्रयमा बस्ने होइन। तपाईं नै अरूभन्दा दृष्टि भएको बन्नुस्,’ उनले भने, ‘अरू आश्रय खोज्दै तपाईंलाई भेट्न आउनेछन्।’
उनले महाधिवेशन तोकिएकै समयमा गर्न सभापति देउवाको काँधमा सबै जिम्मेवारी रहेकोले नभाग्न आग्रह गरेका थिए।
उनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा व्यवस्थित ढंगले लाग्ने पनि सन्देश आजको बैठकबाट दिएका छन्।
सिटौलाभन्दा अगाडि बोलेका केन्द्रीय सदस्य गगन थापाले उनलाई साथ दिँदै अझै शक्ति बढाएर परिवर्तनको पक्षमा उभिने बताएका थिए।
‘कुनै अलमलविना कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सहीमा सही र गलतमा गलत भनेका छौं। शक्ति बढाएर परिवर्तनको पक्षमा वातावरण निर्माण गर्ने हो,’ थापाले भने।
एकपछि अर्को निर्णयका कारण पार्टीभित्र अनेक विवाद सिर्जना भइरहेको थापाले बताए। क्रियाशील सदस्यता बाँड्न थालिसकेको अवस्थामा विधानविपरीत विभाग संयोजक सभापतिले तोकेको उनको भनाइ छ।
‘१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता बाँड्न थालिसक्यो अहिले विभाग बनाउने?,’ थापाले प्रश्न गरे, ‘विधानभन्दा धेरै विभाग किन? अहिले विभाग बनाउने कुरा गलत हो।’
उनले नवलपरासीमा पनि विधानमिचेर जिल्ला सभापति मनोनित गरिएको बताए।
‘नवलपरासीमा विधान मिचेर निर्णय गर्ने कुरा गतल,’ उनले भने।
सभापति देउवाले महाधिवेशनको वातावरणलाई अल्मल्याउने गरी भूमिका खेलेको आरोप थापाले लगाए।
‘एकपछि अर्का विवादास्पद निर्णयले महाधिवेशन गर्ने वातावरणलाई अल्मल्याइदिएको छ,’ उनले भने।
उनले सभापति देउवालाई अरू कुरा छाडेर तोकिएकै समयमा महाधिवेशन गर्ने गरी काम गर्न आग्रह गरे।
‘सभापतिले अधिवेशन गराउने हो। किन्तु परन्तु नभनी,’ उनले भने, ‘सभापतिको सफलता र असफलता भनेको महाधिवेशन समयमै गर्न सक्नु र नसक्नुमा हुन्छ।’
उनले पार्टीमा सजिलोका लागि विधान मिच्ने काम नगर्न पनि आग्रह गरे। ‘सजिलोका लागि विधान मिच्ने काम नगरौं। यसले समस्या ल्याउँछ। अधिवेशनको टार्गेट तलमाथि नहोस्,’ थापाले भने।
सम्बन्धित समाचार :
सिटौलाकै नेतृत्वमा शक्ति बढाएर परिवर्तनको पक्षमा उभिन्छौं: गगन थापा
महाधिवेशनका लागि प्रष्ट रोडम्याप हुनुपर्छ: प्रदीप पौडेल
सिटौला समूहले बोलायो आन्तरिक बैठक