हिजो–
सानेपा। मोटरसाइकल र बस ठोक्किए। मोटरसाइकल चालक चन्द्रबहादुर मगर घाइते भए। ३२ वर्षका उनी ट्रमा सेन्टरमा छन्।
अस्ति–
बालकुमारी पुल। ट्रक र मोटरसाइकल जुधे। मोटरसाइकल चालक सनम अधिकारी घाइते भए। २१ वर्षका उनी बिएन्डबी आइसियूमा छन्।
झन् अस्ति–
चोभार। पानी ट्यांकर र मोटरसाइकल ठक्कर खाए। मोटरसाइकलमा सवार नानीमाया महर्जनको घटनास्थलमै मृत्यु भयो। उनी ६५ वर्षकी थिइन्।
काठमाडौं उपत्यकामा दिनहुँ एउटा न एउटा सवारी दुर्घटना हुने गरेको ट्राफिक महाशाखामा रेकर्ड छ। अधिकांशमा दुई पाङ्ग्रे सवारी ठूला गाडीसँग ठोक्किएका छन्। टिपरसँग। ट्यांकरसँग। बस वा ट्रयाक्टरसँग।
दुर्घटना पीडितमध्ये ६० प्रतिशत दुई पाङ्ग्रेकै।
महाशाखाका अनुसार एक वर्षमा काठमाडौं उपत्यकाभित्र १ सय ९४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए। मृत्यु हुनेमा दुई पाङ्ग्रेकै १ सय ११ जना छन्। यो वर्षको मृतक संख्या अहिलेसम्मकै धेरै हो।
जोखिम बढ्दो छ। बागमती अञ्चलमा ९९ लटका मोटरसाइकल गुड्न थालिसके। छिट्टै ‘सेन्चुरी’ मार्दैछ। यो भनेको १० लाख पुग्नु हो। यसमध्ये केही हजार मात्र उपत्यकाबाहिर गुड्छन्।
उपत्यकामा दैनिक ८ लाखभन्दा बढी सवारी गुड्नेमा ७ लाख दुई पाङ्ग्रे रहेको ललितपुर ट्राफिक प्रमुख सिताराम हाछेथूँ बताउँछन्।
जति धेरै संख्या, उति दुर्घटना जोखिम।
दुर्घटनामा संवेदनशीलता जाने साना सवारीमै हो। गल्ती जसको भए पनि क्षति सानाकै। हताहत उही। सहानुभूति पाउने उही। यसो भन्दैमा दोषजति सधैं ठूलाको मात्र हुँदैन। साठी प्रतिशत दुर्घटना दुई पाङ्ग्रेकै लापरबाहीले हुने हाछेथूँको दाबी छ।
त्यसमाथि ठूला गाडीको रजाइँ। सानालाई देख्यो कि त्यसै पेल्छन्। उनीहरूलाई लाग्छ– दुई पाङ्ग्रेले सरक्क बाटो छाडिदिऊन्। जो टेर्दैन, ऊ चेपिन्छ। खुला सडकमा हुइँकिदा त्यही। जाममा फस्दा त्यही।
‘दुई पाङ्ग्रेले नियम पालना गरेर पुग्दैन। नियम मिच्ने ठूला गाडीबाट पनि जोगिनुपर्छ,’ काठमाडौं ट्राफिक प्रमुख वसन्त पन्तले भने, ‘यहाँ त ठूला न साना, नियम मिच्नेमा कोही कम छैनन्।’
बढी सतर्क हुनुपर्ने दुई पाङ्ग्रे उल्टो बढी लापरबाह देखिएको उनको पनि अनुभव छ।
उनी दुई पाङ्ग्रेका चार मुख्य लापरबाही औंल्याउँछन्।
ट्राफिक प्रहरीको रेकर्डमा दुर्घटनाको प्रमुख कारण तीव्र गति हो।
मोटरसाइकललाई जति हतार कसैलाई हुन्न। समय हुञ्जेल घरमै आलटाल। सडकमा निस्केपछि हावासँग बात् मार्ने धून। पन्ध्र मिनेटको दूरी पाँच मिनेटमा छिचोल्न खोज्छन्। यताबाट छिराउँछन्, उताबाट। जाममा लामबद्ध उभिने धैर्य छैन। सबै अगाडि थुप्रिन पुग्छन्। जाम त्यसै लम्बिन्छ। जे कारणले रोकियो, त्यो टरिसक्छ। तर मुखमा दुई पाङ्ग्रे थुप्रिएपछि बाटो खुलोस् कसरी?
कम उमेरका र नयाँ चालक छन् भने त झनै डरलाग्दो गरी चलाउँछन्। ४० वर्षमुनिका चालक बढी दुर्घटनामा संलग्न हुनुले यही देखाउँछ। त्यसमा पनि ३० वर्षभन्दा कम धेरै छन्। सबैखाले दुर्घटनाका मृतक १७ देखि ३५ वर्षका धेरै छन्।
अर्को लापरबाही, ओभरटेक।
ट्राफिक नियमले भन्छ– दायाँबाट मात्र ओभरटेक गर्नु। मोड र घुम्तीमा ओभरटेक नगर्नु। अर्को सवारीसँग दूरी राख्दै सुरक्षित स्थानमा ओभरटेक गर्नु।
पन्तका अनुसार यी तीनै नियम नमान्नेमा दुई पाङ्ग्रे अगाडि छन्।
भर्खर–भर्खर लाइसेन्स निकालेकालाई ज्ञान नहोला। पुराना पनि कम छैनन्। बायाँतिर साँघुरो ठाउँ देखी देखी घुस्रिन आउँछन्। मोड र घुम्तीमा कहाँबाट कुन गाडी आउँदैछ हेर्दैनन्।
‘मोडहरूमा निकै अगाडि आइसकेपछि मात्र एकअर्कालाई देखिन्छ। बेलैमा हेक्का नराख्दा ठूलो दुर्घटना हुनसक्छ,’ पन्तले भने।
ठूलो सवारीसँग एकदमै नजिक टाँसिएर ओभरटेक गर्नु पनि दुई पाङ्ग्रेको लापरबाही हो। यस्तो गर्दा अर्कोतिरबाट आइरहेको गाडी खतरनाक हुन्छ। अलिकति यताउति परे दुवैतिरको चेपाइमा परिन्छ। उताबाट आइरहेकोले पेल्न सक्छ। जसलाई ओभरटेक गर्न खोजेको हो, उसले सँगसँगै लतारेर लैजान सक्छ।
‘एकै दिशामा गइरहेका ट्रयाक्टर र मोटरसाइकल धेरैजसो यही कारणले दुर्घटनामा पर्छन्,’ हाछेथूँले भने।
उकालो वा ओरालोमा लापरबाहीपूर्वक ओभरटेक गर्नुले पनि दुर्घटना गराउँछ। अगाडिको गाडीसँग एकदमै टाँसिएर पछ्याउनु जोखिमपूर्ण हो। अगाडि झ्याप्प ब्रेक लागे, आफू ढ्याम्म। ब्रेक नलागेर ‘ब्याक’ आए झन् खतरा। पछाडिको सवारीले सोच्ने मौकाधरि पाउँदैन। बढी जोगिनुपर्ने दुई पाङ्ग्रे नै हो।
यिनको अगाडि पनि झ्याप्प जानु हुन्न। मध्यम गतिकै भए पनि ठूला गाडीको ठाउँको ठाउँ ब्रेक लाग्दैन। त्यसैले पर्याप्त रोकिने ठाउँ दिनुपर्छ।
अर्काथरी हुन्छन्, जो सर्कस देखाएजस्तो छड्के ओभरटेक गर्छन्। ज्यामितीमा ‘डायग्नल’ धर्सो तानेजस्तो। दुइटा गाडी गुडिरहेका छन् भने पछाडिकोलाई बायाँबाट ओभरटेक गर्छन्। त्यसपछि ‘क्रस’ गरेर दायाँतिर लाग्छन्। अलिकति गल्ती भए दुइटा गाडीको बीचमा च्याप्प।
तेस्रो लापरबाही हो, दुई पाङ्ग्रेहरू अक्सर सिधा गुड्दैनन्।
घरि यता घरि उता। नागबेली। घुमाइफिराइ। सडक लेनको मतलबै छैन। सानो कुना देख्यो कि घुसिहाल्ने। पन्तका अनुसार लेन मिच्नेमा सबभन्दा बढी दुई पाङ्ग्रे नै हुन्।
‘यसरी जथाभाबी हाक्नेले कि आफू दुर्घटनामा पर्छन्, नभए अर्कालाई पार्न सक्छन्,’ उनले भने।
चौथो लापरबाही, दुई पाङ्ग्रेले साइड लाइट र ऐना प्रयोग नगर्नु।
छेउ लाग्दा, रोक्दा वा मोडिँदा साइड लाइट बाल्नु सामान्य नियमै हो। संकेत नदिई झ्याप्प रोक्दा वा मोडिँदा पछाडिको गाडी अलमलिन्छ। बढी दुर्घटना हुने यस्तै बेला हो। ऐना हेरेर पछाडिका गाडीको ‘पोजिसन’ थाहा पाउन सकिन्छ। साइड लाइट बालेर आफ्नो दिशा प्रस्ट्याउन सकिन्छ। धेरैलाई यसको वास्तै हुन्न।
‘जुन सवारी सबभन्दा बढी जोखिममा छ, उही बढी लापरबाह हामीले देखेका छौं,’ पन्तले भने।
नियम मिच्नु एउटा कुरा। जान्दै नजान्नु अर्को।
ट्राफिक प्रहरीको अनुभवमा नियम नबुझेका र सुरक्षा चेत नभएका पनि दुई पाङ्ग्रेको ह्यान्डल समातेर हिँडेका छन्। लाइसेन्स प्रक्रियादेखि नै यो त्रुटि सुरु हुने हाछेथूँ बताउँछन्।
उनका अनुसार लिखित परीक्षा प्रणालीले चालकलाई सैद्धान्तिक ज्ञान मात्र दिन्छ। त्यो पनि एकदम कम। २० प्रश्नमा १० वटा मिलाए पास। यसमा पनि ४ वैकल्पिक उत्तर हुन्छन्। अन्दाजका भरमा चिनो लाए पनि पास भइन्छ। ट्रायल पनि निश्चित फ्रेम र स्थानमा एक्लै दिइन्छ। यस्तो सिकाइमा भिडभाडको व्यवहारिक अनुभव हुन्न।
‘नयाँ चालकलाई त ट्राफिक संकेतको अर्थसमेत थाहा नभएको हामीले पाएका छौं। सुनसान ठाउँमा सिक्छन्। व्यस्त सडकमा आएपछि त्यसै अतासिन्छन्,’ उनले भने।
ठूला सवारीको प्राविधिक पक्षबारे जानकार नहुनु पनि दुर्घटनाको कारण हो।
अधिकांश दुई पाङ्ग्रेको दुर्घटना ट्रक, टिपर, बसलगायत ठूला सवारीसँग हुन्छ। यसबाट बच्न दुई पाङ्ग्रे चालकले ठूला सवारीको प्राविधिक पक्षबारे जानकारी राख्नुपर्ने काठमाडौं ट्राफिक प्रहरी दामोदर सिलवाल बताउँछन्।
दुई पाङ्ग्रे सानो हुन्छ। जता पनि मोडिन्छ। खुला हुन्छ। यताउति देखिन्छ। थोरै दूरीमा ब्रेक लाग्छ। यही अनुभवले ठूला सवारीलाई त्यस्तै ठान्नु गल्ती हो।
सोचविचार गरेर चलाउँदा पनि कहिलेकाहीँ काठमाडौंका जीर्ण सडकले दुर्घटनाको निम्तो दिन्छ। ठाउँठाउँ खाल्डाखुल्डी छन्। ढुंगा–गिट्टीमा चक्का चिप्लिन सक्छ। हिलोमा पछारिन सक्छ। बढी मर्का दुई पाङ्ग्रेलाई नै।
‘मेरो २९ वर्षको अनुभवले भन्छु, दुई पाङ्ग्रे सवारी चलाउनेहरूले मात्र नियम नमिच्ने र सडकमा विचार पुर्याउने हो भने ८० प्रतिशत दुर्घटना त्यसै कम हुन्छ,’ हाछेथूँले भने।
‘दुई पाङ्ग्रेले आफैं ठूला सवारीसँग जोगिनु पर्छ।’