कृष्ण महर्जनले गाडी हाँक्न थालेको २५ वर्ष भयो।
केही दिनअघि पुल्चोकको पार्किङमा कार ‘ब्याक’ गर्दै थिए। एक्कासि उनको मुटु ढक्क फुल्यो। हंसले ठाउँ छाड्यो।
झ्याप्प ब्रेक लगाए।
दुवै ‘लुकिङ ग्लास’ हेरे। केही थिएन।
‘ब्याक मिरर’ हेरे। केही देखिएन।
उनको कानमा भने मधुरो स्वरमा एकोहोरो आवाज ठोक्किँदै थियो– बच्चा रोएको।
शंका लागेर गाडीबाट ओर्ले। फटाफट पछाडि गए।
झसंगै भए।
गाडीको ठिक पछाडि बच्चो रुँदै थियो। दुई–तीन वर्षको। उचाइ त्यस्तै अढाई फिट। अनुहार आत्तिएर कालो–निलो।
कृष्णले कारको ‘ड्राइभिङ सिट’ बाट बच्चा देखेका थिएनन्। लुकिङ ग्लासमा पनि देखेका थिएनन्। न ब्याक मिररमा।
‘बच्चा गाडीको यस्तो विन्दुमा थियो, जुन कहीँबाट देखिँदैन,’ ललितपुर, सानागाउँका कृष्णले भने, ‘उसको उचाइ गाडीको डिक्कीभन्दा होचो भएकाले पछाडि फर्केर हेर्दा पनि देखिनँ।’
‘बेलैमा ओर्लेर नहेरेको भए बित्यास पर्थ्यो,’ उनले भने।
यहाँ त कृष्णको ‘ड्राइभिङ’ अनुभवले काम गर्यो। सबैको यस्तै अनुभव नहुन सक्छ। यस्तो बेला दुर्घटना भइहाले, दोषी को? बच्चा अलपत्र छाड्ने अभिभावक? कि, लापरबाह चालक? देखिँदै नदेखिएपछि चालकलाई लापरबाह मान्न मिल्छ कि मिल्दैन?
प्रत्येक गाडीमा यस्ता केही विन्दु हुन्छन्, जहाँ चालकको आँखा पर्दैन। त्यसलाई ‘ब्लाइन्ड स्पट’ भनिन्छ। केही महँगा गाडीमा पछाडिका सबै दृश्य देखिने भिडियो सुविधा हुन्छ। यस्तो सुविधा नभएको गाडीमा ‘ब्लाइन्ड स्पट’ भित्र अर्को सवारी आए दुर्घटना हुनसक्छ।
कारको निम्ति डिक्कीमुनिको भाग मात्र ‘ब्लाइन्ड स्पट’ होइन। दायाँबायाँका ‘लुकिङ ग्लास’ ले पनि सबै दृश्य देखाउँदैन। गाडीबाट अलि परका सवारी वा मान्छे ऐनामा पर्दैन। पर गुडिरहेको सवारी एक्कासि लेन फेरेर नजिक आयो भने दुर्घटना हुनसक्छ।
माथिको चित्रमा रातो कारको ‘ब्लाइन्ड स्पट’ दायाँबायाँ निलो छायामा देखाइएको छ। छाया परेको भाग रातो कारको ऐनामा देखिन्न। पछाडि गुडिरहेका दुइटा कारले एक्कासि लेन परिवर्तन गरे रातोसँग ठोक्किने डर हुन्छ।
चारपाङ्ग्रे सवारीको यो ‘ब्लाइन्ड स्पट’ बाट सबभन्दा बढी दुर्घटनामा पर्ने दुईपाङ्ग्रे र पैदलयात्रु हुन्।
काठमाडौं उपत्यकामा दुईपाङ्ग्रे संख्या बढ्दो छ। आठ लाख सवारी गुड्नेमा सात लाख दुईपाङ्ग्रे छन्। जति धेरै सवारी, उति बढी जोखिम। एक वर्षयता १ सय ९४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए। तीमध्ये १ सय ११ जना दुईपाङ्ग्रेका छन्।
ठूला गाडीको ‘ब्लाइन्ड स्पट’ मा परेर धेरै मोटरसाइकल वा स्कुटर दुर्घटना भएको काठमाडौं ट्राफिकका प्रहरी निरीक्षक दामोदर सिलवाल बताउँछन्।
ज्वलन्त उदाहरण, टिपरसँगको दुर्घटना।
आर्थिक वर्ष २०७४/७५ मा टिपरको ठक्करले २२ जनाको ज्यान गयो। यसको कारण चालकको लापरबाहीसँगै टिपरको मेकानिकल संरचना पनि हो।
टिपरमा चालक बस्ने भाग अग्लो हुन्छ। जमिनबाट करिब ८ फिट उचाइको चालकसिटमा बसेर हेर्दा अगाडि एक–दुई मिटरसम्मको भुइँ देखिँदैन। त्यसैले अगाडिको एक–दुई मिटर भाग टिपरको ‘ब्लाइन्ड स्पट’ हो।
टिपरको ठिक पछाडि र दायाँ–बायाँ पनि यस्तै विन्दु हुन्छन्। त्यसैले टाँसिएर ओभरटेक गर्ने, एकदमै कम दुरीमा पछ्याउने वा अगाडि आएर घ्याच्च रोकिने दुईपाङ्ग्रे टिपरचालकको नजरमा पर्दैन। उसले दायाँबायाँ मोड्दा, ब्रेक लगाउँदा वा ब्याक गर्दा दुर्घटनाको खतरा हुन्छ।
काठमाडौंका टिपर धेरैजसो यस्तै अवस्थामा भएको ट्राफिक प्रहरी निरीक्षक सिलवालको भनाइ छ।
कोटेश्वर–सल्लाघारी सडकमा एकै दिशातर्फ जाँदै गरेका टिपर र मोटरसाइकल जुधेका थुप्रै उदाहरण छन्। टिपरचालकले ओभरेटेक गर्न खोज्ने मोटरसाइकल वा स्कुटरलाई अनावश्यक पेलेर पनि हुनसक्छ। वा, ‘ब्लाइन्ड स्पट’ मा पर्दा नदेखेर पनि हुनसक्छ।
‘टिपरसँग कार, जीप वा अन्य ठूला सवारी ठोक्किएको खासै सुनिँदैन। मोटरसाइकल वा स्कुटर नै दुर्घटनामा पर्छन्। यसको कारण चालक सिटबाट नदेखिनुले हो,’ बागमती टिपर व्यवसायी संघका पूर्व अध्यक्ष शेरबहादुर कुँवरले भने।
टिपरलगायत ट्रक, ट्यांकर र ठूला बसहरू सबैमा यस्तै ‘ब्लाइन्ड स्पट’ हुन्छन्। त्यही भएर भिडभाडयुक्त ठाउँमा यस्ता सवारी गुडाउन पाइन्न। नेपालमा भने मध्यसहरमै निर्माण सामग्री ओसार्न टिपर प्रयोग हुँदै आएको छ। पानी र फोहोर बोक्ने ट्यांकर पनि हुइँकिरहेकै छन्।
ठूला गाडीका ‘ब्लाइन्ड स्पट’ सानाको भन्दा बढी हुन्छ। साना कारको तुलनामा ठूला गाडीको दायाँबायाँका धेरै भाग ऐनामा देखिँदैन। टिपर, ट्रक र बसको सिधा पछाडि कार गुडिरहेको छ भने पनि चालकको आँखामा नपरेको हुनसक्छ। दुईपाङ्ग्रे र पैदलयात्रु त देख्ने कुरै भएन।
उदाहरणका लागि, १६–१८ चक्के ट्रकको अगाडि १० देखि २० फिटसम्मको भाग ‘ब्लाइन्ड स्पट’ मा पर्छ भने पछाडि २०० फिटसम्म।
‘साना सवारी चालकले ठूला गाडीको ब्लाइन्ड स्पटबारे बुझे धेरै जोखिम कम हुनेछ,’ ट्राफिक प्रहरी सिलवालले भने।
माथिको चित्रमा टिपरको ‘ब्लाइन्ड स्पट’ सुन्तले रङमा देखाइएको छ। टिपरले ध्यानै नदिई दायाँबायाँ मोडे वा लेन परिवर्तन गरे सुन्तले रङको छायामा गुडिरहेका सवारीसँग ठोक्किन सक्छ। अनुभवी चालकले यसको हेक्का राख्दै सावधानीपूर्वक मोड्न सक्छन्।
‘सबै चालकबाट उस्तै सावधानी अपेक्षा गर्न सकिन्न,’ सिलवालले भने, ‘दुर्घटना भइसकेपछि कसको गल्ती थियो भनेर लेखाजोखा गर्नुको अर्थ हुन्न। ठूला गाडी चालकलाई सजाय दिन सकिएला, तर गइसकेको ज्यान फिर्ता आउन्न। जुन पक्ष बढी पीडित हुन्छ, बढी सावधान हुनुपर्ने उसैले हो।’
टिपर, ट्रक वा ठूला गाडी छेउछाउका साना सवारीले होस पुर्याउने हो भने दुर्घटना धेरै हदसम्म कम गर्न सकिने उनको भनाइ छ।
चालक संघका अध्यक्ष भीम ज्वाला राई साना सवारी वा दुईपाङ्ग्रेले ठूलो गाडीलाई वरिपरि पर्याप्त ठाउँ छाड्नुपर्ने बताउँछन्।
‘मध्यम गतिमै आइरहेका भए पनि ठूला गाडीमा ठाउँको ठाउँ फ्याट्ट ब्रेक लाग्दैन। रोकिने ठाउँ पर्याप्त दिनुपर्छ। ठूला गाडीले नदेख्ने भागबाट बच्नुपर्छ,’ उनले भने, ‘ठूला सवारीसँग जति धेरै दूरी राख्यो, जोखिम उति कम हुन्छ।’
उनका अनुसार ठूला गाडी मोडिँदा र लेन परिवर्तन गर्दा फराकिलो ठाउँ चाहिन्छ। यसको जानकारी नहुँदा धेरै दुईपाङ्ग्रे टाँसिन आइपुग्छन्। यसले दुर्घटना जोखिम बढाउँछ।
साना सवारी चालकले आफ्नै सिटमा बसी बसी पनि अर्को गाडीको ‘ब्लाइन्ड स्पट’ थाहा पाउन सक्छ।
मानौं, तपाईं ठूलो गाडीसँगसँगै मोटरसाइकलमा गुडिरहनुभएको छ। अगाडि गाडीको ‘लुकिङ ग्लास’ मा हेर्नुहोस्। त्यसमा गाडीचालक देख्नुभयो भने ठिक छ, नभए सतर्क हुनुहोस्। तपाईं त्यो गाडीको ‘ब्लाइन्ड स्पट’ मा हुनुहुन्छ।
आफ्नो गाडीको ‘ब्लाइन्ड स्पट’ थाहा नहुनुले पनि समस्या ल्याउँछ।
कतै मोडिँदा वा जाममा बढ्दा ऐना र पछाडि मात्र हेरेर पुग्दैन। ऐनालाई धेरैभन्दा धेरै भाग देखिने गरी मिलाएर राख्नुपर्छ। नदेखिने ठाउँमा पनि साना गाडी, दुईपाङ्ग्रे, पैदलयात्रु वा जनावर आइरहेको छ कि भनी सतर्क हुनुपर्छ।
यस्तोमा दुर्घटना कम गर्ने दुइटा उपाय छ — होसियारी र अनुभव।
कृष्ण महर्जनले एक निमेषमै दुवै देखाए। उनी होसियार भए। अनुभवले काम गर्यो।
धन्न, दुई–तीन वर्षको त्यो बच्चोलाई केही हुन पाएन।