ट्याक्सी चालकले मनलाग्दी भाडा असुल्नुमा उनीहरू मात्र दोषी छैनन्। नापतौल तथा गुणस्तर विभाग पनि यो ठगीमा उत्तिकै भागीदार छ।
ट्याक्सी चढ्दा मिटरमा उठेअनुसार भाडा तिर्ने हो। उपभोक्ताले सही भाडा तिर्न मिटर दुरूस्त हुनु जरूरी छ। यो काम नापतौल विभागको हो। जब मिटर नै दुरूस्त छैन भने दोष कसको?
हामी आज ट्याक्सीको मिटर अनुगमन गर्नुपर्ने नापतौल विभागले कसरी यो ठगीलाई प्रश्रय दिइरहेको छ भनी चर्चा गर्नेछौं।
काठमाडौं उपत्यकामा गुड्ने अधिकांश ट्याक्सीको मिटर दुरूस्त छैन। सरकारले गत असोज ७ बाट ट्याक्सीको भाडा १० प्रतिशत बढाएको छ। तर, अधिकांशले नयाँ भाडा दरअनुसार मिटर समायोजन गरेका छैनन्। यहाँ नापतौल विभागले आफ्नो काम ठीकसँग नगर्दा ट्याक्सी चालकहरूले मनलाग्दी भाडा असुल्न छुट पाएका छन्। कसैले उजुरी नै हाले पनि उनीहरू 'नियमअनुसार भाडा लिएको' भन्दै सजिलै पन्छिन सक्छन्।
ट्याक्सीको नयाँ भाडा प्रतिकलोमिटर ३९ रूपैयाँ पुगेको छ। पहिले ३५ थियो। ट्याक्सी चढ्नेबित्तिकै मिटरमा उठ्ने शुल्क भने १४ रुपैयाँ कायम छ।
यसको मतलब, तपाईंले ट्याक्सीमा एक किलोमिटर यात्रा गर्नुभयो भने पहिले ४९ रूपैयाँ तिर्नपर्थ्यो। अब ५३ तिर्नुपर्छ।
भाडा बढे पनि सबै ट्याक्सीले मिटर समायोजन नगर्दा चालकहरू आफूखुसी दाम भन्छन्। कारण सोध्दा भाडा बढेको जवाफ दिन्छन्। उनीहरूको जवाफ सही हो। तर, मिटर समायोजन नगरेपछि यात्रुले कसरी हिसाब गर्ने? दस प्रतिशत भनेको कति हो भन्दै औंला भाँचेर गन्ने? कि, चालकले मागेजति दिने?
भाडा बढेको तीन महिनासम्म यस्तो बेथिति राखेर नापतौल विभागले सोझासाझा उपभोक्ता ठग्ने वातावरण बनाइदिएको छ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सरकारले १० वटा कम्पनीलाई ट्याक्सीको मिटर राख्ने र मर्मत गर्ने अनुमति दिएको छ। नयाँ भाडा दरअनुसार मिटर मिलाउन चालकहरू ट्याक्सी लिएर ती कम्पनीमा जानुपर्छ। त्यहाँ मिटर खोलखाल पारेर नयाँ भाडादर तय हुन्छ। त्यसपछि मिटर सही छ कि छैन जाँच्ने काम नापतौल विभागको हो। विभागले परीक्षण मेसिनमा राखेर मिटर दुरूस्त भए-नभएको हेर्छ। एक किलोमिटर गुडाएर भाडा ठीक भए-नभएको जाँच्छ। त्यसपछि बल्ल सिल लगाएर 'पास' गर्छ।
पछिल्ला तीन महिनामा काठमाडौंमा गुड्ने करिब एक हजार ट्याक्सीले मात्र यो प्रक्रिया पार गरेका छन्। यसको मतलब, यहाँ दर्ता भएका १० हजार ५ सय ट्याक्सीमध्ये ९ हजार ५ सय वटामा 'चालक भरोसे' मिटर कुद्छन्।
सबै मिटरमा भाडा समायोजन सक्न अझै तीन महिना लाग्ने महानिर्देशक पुडासैनी बताउँछन्।
तीन महिनामा जम्मा हजारवटा मिटर समायोजन गरेको विभागले थप तीन महिनामा बाँकी सबै सक्छन् भनेर कसरी पत्याउनु?
यही प्रश्न सोध्दा पुडासैनीले भने, 'कामै ढिला सुरू भयो। तिहारपछि मात्र मिटर मिलाउन थालियो। अब तीन महिनामा लगभग सक्छौं।'
काम ढिला हुनुमा उनले कर्मचारी अभावलाई दोष दिए। हार्डवेयर काम गर्न पर्याप्त पूर्वाधार छैन भने। उनका अनुसार मिटर मिलाउन नापतौल विभागमा जम्मा ४ जना कर्मचारी छन्। परीक्षण गर्ने मेसिन दुईवटा। कर्मचारी माग्दा पदपूर्ति नभएको गुनासो पनि उनले गरे।
उनको भनाइमा दुईवटा कुरा असत्य छ।
पहिलो, कर्मचारी पदपूर्ति नै नभएको अवस्थामा अहिलेकै जनशक्तिबाट कसरी तीन महिनामा काम सकिएला? सक्दै नसक्ने कामलाई 'तीन महिनामै सक्छु' भनेर किन बोल्नु?
दोस्रो, ट्याक्सी मिटर दुरूस्त नहुने समस्या तीन महिनादेखिको मात्र हो त?
ट्याक्सी मिटर दुरूस्त नहुनु र प्रत्येकचोटि भाडा समायोजन हुँदा मिटर समायोजन नहुनु पुरानै रोग हो। यसलाई पुष्टि गर्न तपाईं कुनै एउटा ट्याक्सीमा नयाँबानेश्वरबाट माइतीघर जानुस्। अर्को ट्याक्सीमा फेरि माइतीघरबाट नयाँबानेश्वर फर्कनुस्। मान्नुस्, जाँदा-आउँदा दुवैचोटि ट्राफिक जाममा फस्नुभएन। एउटा कुरा पक्का छ, समान दुरीमा यात्रा गर्दा पनि तपाईंले ट्याक्सीपिच्छे फरक दाम तिर्नुपर्छ।
यस्तो त्यति बेला मात्र हुन्छ, जब ट्याक्सीको मिटर दुरूस्त हुन्न। मिटर दुरूस्त राख्ने काम कसको?
ठीक छ, विभागले कर्मचारी नभएर सबै ट्याक्सीमा मिटर समायोजन गर्न भ्याएन रे। तर, समायोजन नगर्दा पनि समान दुरीमा समान भाडा उठ्नुपर्ने होइन र? के यो पछिल्लो तीन महिनाको बीचमा मिटर समायोजन गर्न नभ्याउँदाको मात्र परिणाम हो र?
होइन।
ट्याक्सीको मिटर दुरूस्त छैन भन्ने जान्दाजान्दै विभागका अधिकारीहरू वर्षौंदेखि आँखा चिम्म गर्दै आएका छन्। त्यही भएर यो ठगी वर्षौंदेखि ठेगान लाग्न सकेको छैन।
२०४८ सालदेखि ट्याक्सी व्यवसाय गर्दै आएका अर्जुन गौतम भाडा बढ्दा समयमै मिटर नबन्ने समस्या पहिल्यैदेखि रहेको बताउँछन्।
'यो आजको समस्या होइन, पहिलेदेखिको हो,' मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष गौतमले भने, 'हाम्रा पनि केही कमजोरी होलान्। तर, सबै कुरा मिलाइदिए हामीलाई सहज हुन्छ।'
उनको अनुभवमा विभागमा मिटर मिलाउने काम गर्न २०४८ सालमा जति मान्छे थिए, अहिले पनि त्यति नै छन्। यही अवधिमा ट्याक्सी संख्या भने पाँच गुणा बढेको छ। त्यो बेला यहाँ २ हजार १ सय ट्याक्सी थिए। अहिले १० हजारभन्दा बढी छन्।
'चाहिएजति कर्मचारी र मेसिन नराख्दासम्म मिटर बनाउने काम सधैंको यस्तै हो,' उनले भने, 'हरेकचोटि ६ देखि ८ महिना लगाउँछन्।'
हामीसँगको कुराकानीमा विभागका महानिर्देशक पुडासैनीले दिनकै ७०-८० वटा मिटर समायोजन गरिरहेको बताएका थिए। गौतम भने ३०-४० वटाभन्दा बढी नभएको दाबी गर्छन्। उनका अनुसार विभागले गाडीको नम्बरअनुसार दिन तोकेर बोलाउँछ। यो क्रम बा१ज बाट सुरु भएको छ। कहिलेकाहीँ दिनभर बस्दा पनि पालो आउँदैन।
मिटर नबनेको यही मौकामा चालकहरूले भने आफूखुसी भाडा असुल्ने छुट पाएका छन्। त्यसो त उनीहरू यस्ता कुनै पनि मौका छाड्दैनन्। बजारमा पेट्रोलियम अभाव होस् वा अन्य सार्वजनिक सवारीको हड्ताल- ट्याक्सी भाडा त्यसै उकालो लाग्छ। साँझ-बिहान त यसै पनि उनीहरूकै रजाइँ छ। चाहे मिटर समायोजन भएको होस्, चाहे नहोस्, उनीहरू मुखमा आएको भाडा भन्छन्।
यहाँ उपभोक्ता ठग्ने अर्को सजिलो बाटो के बनेको छ भने, मिटर समायोजन नसकुञ्जेल ट्याक्सीलाई १० प्रतिशत बढी भाडा लिन छुट छ। त्यस्तालाई कारबाही पनि नहुने महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्त पन्त बताउँछन्।
अब प्रश्न उठ्छ, कुन ट्याक्सीको मिटर समायोजन भयो, कसको भएको छैन भन्ने उपभोक्ताले कसरी थाहा पाउने? अनि मिटरमै १० प्रतिशत बढी भाडा लिने ट्याक्सीले थप १० प्रतिशत बढी असुल्दैन भन्ने के ग्यारेन्टी?
यो अन्यौलले यात्रु ठगिने क्रम झन् बढेकोमा ट्राफिक प्रमुख पन्त सहमत छन्। 'मिटर बनिसकेकाले झन् धेरै भाडा उठाउन सक्छन्। त्यसैले, सकेसम्म चाँडै सक्नुपर्छ,' उनले भने।
नापतौल विभागको लापरबाही यतिमै टुंगिँदैन।
विभागले २०७३ पुस १७ देखि ट्याक्सीमा मिटर र बिल प्रिन्टर अनिवार्य गरेको छ। प्रिन्टर नभएका ट्याक्सी नवीकरण नगर्ने भनिएको थियो। तर, आधा ट्याक्सीले पनि प्रिन्टरजडित मिटर राखेका छैनन्। यस्तो मिटर महँगो पर्छ भन्ने उनीहरूको तर्क छ। भएकाहरूले पनि कहिले प्रिन्टर बिग्रेको त कहिले कागज सकिएको बहानामा बिल दिँदैनन्।
यति हुँदाहुँदै न ती ट्याक्सीको नवीकरण रोकियो, न बिल नदिएकोमा चालकमाथि कारबाही भयो। उल्टै बिल माग्ने उपभोक्ता उल्लूमा दरिन थाले। बिल फेल भएपछि चालकहरू मिटर चलाउन बाध्य भएनन्। मनलाग्दी भाडा असुल्न छुट पाए।
काठमाडौंमा सरदर पाँच हजार ट्याक्सी दैनिक सडकमा गुड्छन्। एउटाले दिनको ५ सय मात्र ठग्यो भने पनि २५ लाख रूपैयाँ हुन्छ।
नापतौल विभागले मिटर दुरूस्त राख्न जति धेरै अल्मल्याउँछ, यो ठगीको जालो उति जेलिँदै जान्छ।
यी पनि हेर्नुहोस्: