एक वर्षदेखि धूलाम्मे र खाल्डाखुल्डीले अस्तव्यस्त कीर्तिपुर, नयाँ बजार सडक बुधबार कालोपत्रे गरियो। अब यो काठमाडौं उपत्यकाकै विशेष सडक बनेको छ।
विशेष हुनुको कारण- यहाँको कालोपत्रेमा अलकत्रा र गिटीबालुवासँगै चाउचाउ, बिस्कुट, पराग, चक्लेट लगायत विभिन्न 'जंकफुड' का प्लास्टिक खोलसमेत मिसिएका छन्।
सहर प्रदूषित पार्ने यी प्लास्टिक खोल बटुलेर, मेसिनले टुक्राटुक्रा पारेर, पगालेर, अलकत्रा र गिटीबालुवासँग मिसाएर सडक कालोपत्रे गरिएको हो।
'प्लास्टिक सडक' बनाउने अभियान पोखराबाट सुरू भएको थियो। पोखराका दुई युवा इञ्जिनियर र केही व्यवसायीले नौ महिनाअघि नेपालमै पहिलोपटक 'प्लास्टिक सडक' बनाएका थिए।
कीर्तिपुरका मेयर रमेश महर्जनले त्यही प्रविधि नयाँ सडकमा लागू गर्न पोखरेली समूहसँग सम्पर्क गरे। त्यसमा मेकानिकल इञ्जिनियर विमल बास्तोला, सिभिल इञ्जिनियर राजीव सुवेदीसहित सञ्जीव बास्तोला, अजय केसी र निराजन घिमिरे छन्। उनीहरू 'ग्रिन रोड वेस्ट म्यानेजमेन्ट' कम्पनीमार्फत् काम गरिरहेका छन्।
'उहाँहरूलाई डाकेर सिधै काम लगाउन नमिलेपछि हामीले उपभोक्ता समिति गठन गर्यौं,' मेयर महर्जनले सेतोपाटीसँग भने, 'समितिले सामान्य सडकमा जस्तै बजेट बनाएर काम सुरू गर्यो।'
करिब दुई सय मिटरको नयाँ बजार सडकमा पाँचदेखि बाह्र प्रतिशत प्लास्टिक मिसाइएको छ। मेकानिकल इञ्जिनियर विमलका अनुसार ६ सय किलो प्लास्टिक खोल प्रयोग भएका छन्।
यो विधिमा प्लास्टिक खोलहरूलाई मसिनोसँग काटेर १ सय ७० डिग्री तातो गिटीबालुवामा हालिन्छ। तातो गिटीमा परेपछि प्लास्टिकका टुक्रा पग्लिन्छन्। गिटीमै टाँसिदै–मिसिँदै जान्छन्। त्यो मिश्रण अलकत्रामा हालिन्छ। त्यही घोलबाट सडक कालोपत्रे गरिन्छ।
यसरी प्लास्टिक प्रयोग गरेपछि ढुंगा र कोइलाको जोड सामान्यभन्दा मजबुत हुने उनी बताउँछन्।
'यसले सडकमा पानी रसाउँदैन, टिकाउ हुन्छ,' विमलले भने, 'तापक्रम नघट्दै कालोपत्रे गरिसक्नुपर्छ। सकेसम्म निर्माणस्थलमै घोल तयार पार्नु बेस।'
उनीहरूले कीर्तिपुरमा झन्डै १८ दिन निर्माणस्थलमै घोल तयार पारेका थिए। प्लास्टिक खोलको व्यवस्थापन 'ब्लु वेस्ट टु भ्यालु' नामक कम्पनीले गरेको थियो। उक्त कम्पनीले शंकरापुर र कीर्तिपुर नगरपालिकासहित विभिन्न होटलका फोहोरमैला व्यवस्थापन गर्दै आएको छ।
'हामी पुनः प्रयोग हुनसक्ने फोहोर बटुलेर बिक्री गर्छौं,' कम्पनीका प्रमुख कार्यकारी नवीन विकास महर्जनले भने, 'नबिक्ने फोहोर व्यवस्थापनको उपाय खोज्ने क्रममा प्लास्टिक सडकबारे थाहा पाएर सहकार्य गरेका हौं।'
उनका अनुसार चाउचाउ, बिस्कुट, परागका खोल, डाइपर, स्यानिटरी प्याड लगायत पुनः प्रयोग हुँदैनन्। फोहोरको अधिकांश हिस्सा भने यस्तै चिजले ओगट्छन्।
नवीनको कम्पनीसँग प्लास्टिक काट्ने मेसिन पनि थियो। उनी त्यस्ता प्लास्टिक टुक्रा पारेर विमलको समूहलाई दिन तयार भए।
कीर्तिपुरको 'प्लास्टिक सडक' पोखराको भन्दा अलि फरक भएको विमल बताउँछन्।
पोखरामा उनीहरूले बोरा, पोलिथिन झोला लगायत प्लास्टिकजन्य सामान पनि मिसाएका थिए। यहाँ भने चाउचाउका खोलजस्ता टल्किने प्लास्टिक मात्र हालेका छन्। यसले कस्तो नतिजा दिन्छ भनी केही समय हेर्नुपर्ने उनले बताए।
'यो प्रयासमा सफल भयौं भने सहरी सरसफाइमा समस्या बन्दै गएका प्लास्टिक खोल तह लगाउने नयाँ उपाय हामीसँग हुनेछ,' उनले भने।
चाउचाउ, बिस्कुट, चक्लेट उत्पादकहरूले नै आ-आफ्ना प्लास्टिक खोल तह लगाउन अघि सर्ने हो भने अझ सहज हुने देखिन्छ। उनीहरूले 'दस खाली खोलको सट्टा एउटा सित्तैमा' जस्ता उपभोक्ता योजना ल्याएर देशलाई प्लास्टिकको 'डम्पिङ साइट' बन्नबाट जोगाउन सक्नेछन्।
यसरी संकलन हुने प्लास्टिकलाई विभिन्न नगरपालिकासँग सहकार्य गरी सडक कालोपत्रेमा प्रयोग गर्न सकिन्छ।
पोखरेली इञ्जिनियर तथा व्यवसायीको टोलीले यो सम्भावनाको ढोका खोलेका छन्। जब युवा इञ्जिनियरहरू यस्तो काममा लाग्न सक्छन् भने लाखौं-करोडौं कमाउने कम्पनीले नसक्ने कुरै छैन। फोहोर उत्पादन उनीहरूले गर्ने भएपछि व्यवस्थापनको पहिलो जवाफदेहीता उनीहरूले नै लिनुपर्छ।
पोखरेली युवाहरू यो अभियानमा कसरी लागे त?
उनीहरूको यात्रा बलिउड अभिनेता आमिर खानको ‘सत्यमेव जयते’ कार्यक्रमसँग जोडिन्छ।
सामाजिक मुद्दाबारे छलफल हुने यो कार्यक्रमको सन् २०१४ को एक शृंखलामा आमिरले फोहोरमैला प्रशोधनबारे बहस चलाएका थिए। उनले वैज्ञानिक तथा सामाजिक अभियन्ता राजगोपालन वासुदेवनसँग अन्तर्वार्ता गरे, जो फोहोरमैला प्रशोधनको सफल अभ्यासमा संलग्न छन्।
मधुराईको थियागराजर कलेज अफ इञ्जिनियरिङका यी प्राध्यापक ‘प्लास्टिक सडक’ का सर्जक हुन्। उनले सन् २००२ बाट प्लास्टिकका खोल, बोतल र झोला संकलन गरी सडक निर्माणमा प्रयोग गर्दै आएका छन्।
आमिरको उक्त कार्यक्रमपछि चर्चामा आएका यिनै प्राध्यापकलाई पछ्याउँदै विमल र राजीवले पोखरामा ‘प्लास्टिक सडक’ निर्माण गरेका हुन्।
पोखरा महानगरपालिका–१४, चाउथेको अनुपम टोलमा गत वर्ष साउनबाट सञ्चालनमा आएको प्लास्टिक सडक सय मिटर लामो छ।
यो सडक बनाउनुअघि विमलले सन् २०१८ मा प्राध्यापक वासुदेवनसँग सम्पर्क गरेका थिए। उनकै विद्यार्थीसँग तालिम पनि लिएका छन्।
भारतको सुरतस्थित नेसनल इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट मेकानिकल इञ्जिनियरिङ पढेका विमललाई कसरी 'प्लास्टिक सडक' को सूर चढ्यो त?
इञ्जिनियरिङ पढेर फर्केपछि उनी पोखरामै बत्ती, पानी तान्ने मोटर, प्लम्बिङ लगायतका प्राविधिक घर-घरै पठाउने कम्पनी खोलेर बसेका थिए। त्यही बेला एक दिन सडकमा दुर्घटनामा परेर घाइते भए।
मान्छेको जिन्दगीमा कहिलेकाहीँ दुर्घटना पनि बाटो देखाउने कारक बनेर आउँछ। विमललाई त्यस्तै भयो।
साँझ घर फर्कंदै गर्दा उनको बाइक सडकको खाल्डोमा पछारिएको थियो। ज्यानमा घाउ लाग्यो, दिमाग छर्लंग भयो।
पोखराभरिका खाल्डाखुल्डी सडक उनका आँखाआगाडि नाच्न थाले। कुनै साना खाल्डा, कुनै ठूला। जस्ता भए पनि मान्छेलाई पछार्न पर्याप्त।
उनले ‘सत्यमेव जयते’ मा आमिर खानले अन्तर्वार्ता लिएका प्राध्यापक वासुदेवनलाई सम्झे। प्लास्टिक मिसाएर सडक कालोपत्रे गर्ने विधि उनको दिमागमा घुम्न थाल्यो।
त्यही बेला भुटानमा यही विधि प्रयोग गरेर धमाधम सडक बन्दै गरेको उनले थाहा पाए।
‘मैले आफ्नै कलेजको सडक सम्झेँ। त्यहाँ पनि प्लास्टिक मिसाएर पिच गरिएको थियो। त्यति बेला खासै वास्ता गरेको थिइनँ,’ विमलले भने, ‘मनमा अठोट जागेपछि यससम्बन्धी सबै साना–ठूला खबर एकत्रित गरी पढ्न थालेँ।’
उनले वासुदेवनसँग इमेल सम्पर्क गरे। प्लास्टिक सडक निर्माण विधिबारे तालिम लिन आउने इच्छा देखाए। वासुदेवनले जवाफ त फर्काए, तत्काल समय भने मिलाउन सकेनन्।
त्यसपछि भुटानमा यही विधिबाट सडक बनाएका इञ्जिनियर रिकेश गुरुङसँग सम्पर्क गरे। रिकेश वासुदेवनकै विद्यार्थी हुन्।
यति बेलासम्म उनका साथी राजीव सुवेदी पनि यो अभियानमा जोडिन आइसेकका थिए। सिभिल इञ्जिनियर राजीवले यसअघि अन्य सडक आयोजनामा काम गरेका थिए। प्लास्टिक सडक बनाउन उनको अनुभव र विज्ञता खाँचो थियो।
विमल र राजीव रिकेशसँग तालिम लिन भुटान गए। उनीहरूसँग अब अठोट र प्राविधिक ज्ञान दुवै भयो।
पोखराका होटल व्यवसायी सञ्जीव बास्तोला र निर्माण व्यवसायी विमल बस्याल पनि यो अभियानमा जोडिए। छलफलपछि खाल्डाखुल्डीले धराप बनेको विमल बस्यालकै घरअगाडिको सय मिटर सडक बनाउने निधो भयो।
उनीहरू प्रस्ताव लिएर वडा कार्यालय र पोखरा महानगर पुगे। सुरुमा कसैले पत्याएनन्। रुचि पनि देखाएनन्। तै लत्तो नछाडेपछि महानगर तयार भयो।
महानगरले केही गडबड भए सम्पूर्ण जिम्मेवारी लिएर क्षतिपूर्ति तिर्ने सर्तमा विमलको टोलीलाई काम गर्न दिने भयो।
'त्यो बेला हामीसँग प्लास्टिक टुक्रा पार्ने मेसिन थिएन। बल्लतल्ल विराटनगरमा फेला पर्यो,' विमलले भने, 'अर्कै कामलाई प्रयोग हुने त्यो मेसिन कामचलाउ थियो।'
दुई–तीनपटक मेसिनमा हालेर भए पनि उनीहरूले प्लास्टिक मसिनो पारे र ती टुक्रा पोखरा ल्याए।
अनि बन्यो नेपालकै पहिलो ‘प्लास्टिक सडक’।
दस लाख रूपैयाँ खर्चमा उनीहरूले सय मिटर सडक कालोपत्रे गरे। यसमा तीन सय किलो प्लास्टिक खपत भएको छ।
कीर्तिपुर, नयाँ बजारको सडक त्योभन्दा दोब्बर लामो हो। यसमा करिब २० लाख खर्च भएको छ।
विमलका अनुसार बढी पानी पर्ने ठाउँमा सामान्यभन्दा यस्तो सडक बलियो हुन्छ। बर्खामा लगातार पानी पर्दा सडकभित्रको गिटी ओसिलो हुँदै जान्छ। गिटीहरूबीचको जडान विस्तारै फुक्न थाल्छ। बाहिरी सतह चर्किएर खाल्डाखुल्डी पर्छ।
प्लास्टिक मिसाएर कालोपत्रे गरेको सडकमा भने यो समस्या हुँदैन। यस्तो सडकमा पानी जम्दैन। सोसिँदैन। सतहबाटै तर्केर जान्छ। कालोपत्रेमुनि पानी नछिरेपछि गिटीबालुवा खुकुलो हुने समस्या आउँदैन। खाल्डाखुल्डी पनि पर्दैन।
अलकत्रामा कति प्लास्टिक मिसाउने भन्ने भूगोलअनुसार फरक पर्छ। हिमालतिर कम प्लास्टिक राखे हुन्छ भने तराईमा बढी हाल्नुपर्छ। भौगोलिक अवस्था हेरेर ५ देखि १५ प्रतिशत तलमाथि हुने उनले बताए।
यसको अर्को विशेषता भारवहन क्षमता हो। अलकत्रा मात्र प्रयोग भएका सडकको भारवहन क्षमता हजार टन हुन्छ। प्लास्टिक सडकले २ हजार ५ सय टनको भार सजिलै थेग्न सक्ने उनले जनकारी दिए।
सडकको गुणस्तर, टिकाउ र प्लास्टिक प्रशोधन दृष्टिले प्रभावकारी यो विधि प्रत्येक नगरले अपनाउनुपर्ने विमलको सुझाव छ।
हामीकहाँ निस्कने फोहोरको करिब १५ प्रतिशत प्लास्टिकले ओगटेको एक अध्ययनले देखाएको छ। गुट्खा, चक्लेट, चाउचाउका खोल र पोलिथिन झोलाले सडक फोहोर पारेको हामीले देखेकै छौं।
‘बाक्ला प्लास्टिक अन्य माध्यमबाट पनि पुनर्प्रयोग हुन सक्छन्। साना पोलिथिन, गुट्खा, चाउचाउ र चक्लेटका खोल अरू कुनै काममा आउँदैन। यसको सबभन्दा राम्रो उपयोग सडकमै हो,’ विमलले भने।
उनका अनुसार खेर गएका यी प्लास्टिक राजमार्गबाहेकका भित्री सडकमा सजिलै प्रयोग गर्न सकिन्छ।
नयाँ बजार सडकको परीक्षणकाल हेरेर राम्रो ठहरिए अन्त पनि यस्तै बनाउने योजना रहेको कीर्तिपुर मेयर महर्जनले बताए। 'भदौसम्म यसको अवस्था हेर्छौं, सफल भए अन्त पनि गर्छौं,' उनले भने, 'सडक पनि बन्ने, फोहोर पनि व्यवस्थापन हुने।'
'ब्लु वेस्ट टु भ्यालु' का नवीन पनि यो फोहोर प्लास्टिक व्यवस्थापनको उत्तम उपाय भएको बताउँछन्।
'कहीँ काम नलाग्ने यस्ता फोहोर सडकमा प्रयोग हुँदो रहेछ,' उनले भने, 'काठमाडौंका सहायक सडक यसैगरी बनाउने हो भने धेरै हदसम्म फोहोरको समस्या कम हुन्छ।'
यी पनि हेर्नुहोस्: