स्वयम्भू, भगवानपाउको प्रवेशद्वार आधुनिक शैलीमा बनेको भन्दै स्थानीयले विरोध गरेपछि काठमाडौं महानगरपालिकाले गत शुक्रबार डोजर चलायो। तर, स्वयम्भू महाचैत्य परिसरमा जंगलसमेत हड्पेर आधुनिक संरचना निर्माण भइरहँदा पनि महानगर मौन छ।
महाचैत्यछेउ पहिलेभन्दा सात गुना बढी क्षेत्रफल ओगट्ने गरी ‘कर्मराज महाविहार’ निर्माण हुँदैछ। आधुनिक शैलीमा बन्दै गरेको यो गुम्बालाई महानगरले नै अनुमति दिएको हो।
विश्व सम्पदा सूचीकृत क्षेत्रमा कुनै पनि संरचना आधुनिक शैलीमा निर्माण गर्न पाइँदैन। वसन्तपुर दरबार क्षेत्रदेखि पशुपतिसम्म यही कारणले विवादित बन्दै आएको छ।
सन् १९५४ मा निर्माण भएको कर्मराज महाविहार तिब्बती बौद्धअन्तर्गतका चार मुख्य विद्यालयमध्ये एक हो। आकर्षक कलाकृतिले सजिएको यो गुम्बामा करिब ५० भिक्षु अटाउँथे। प्रत्येक दिन धुपबत्ती बालिन्थ्यो।
२०७२ को भुइँचालोले क्षति पुगेपछि भत्काएर नयाँ बनाउन लागिएको हो। भुइँचालोअघि २ आना ३ पैसा क्षेत्रफल थियो, अहिले १४ आना ३ पैसामा निर्माण गर्न लागिएको छ।
क्षेत्रफल बढाउन वरिपरिको केही जंगलसमेत समेटिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका उपाध्यक्ष ज्ञानु लामाले बताए।
उनका अनुसार वनको जग्गा पहिले वन मन्त्रालयअन्तर्गत थियो। मन्त्रिपरिषद बैठकबाट गुठी संस्थानको स्वामित्वमा गयो। त्यसपछि गुठीकै मिलेमतोमा उक्त वनक्षेत्रलाई समेत गुम्बाअन्तर्गत पारिएको हो।
‘मन्त्रिपरिषद बैठकले नै वनको जग्गा गुठीलाई दिएपछि हामीले केही भन्न सकेनौं,’ महासमिति उपाध्यक्ष लामाले सेतोपाटीसँग भने।
करिब २४.७ हेक्टरमा फैलिएको स्वयम्भू क्षेत्र व्यवस्थापन र संरक्षण जिम्मा महासमितिलाई छ। यसअन्तर्गत वन क्षेत्र पनि पर्छ। सरकारले भने महासमितिसँग सल्लाह नै नगरी वनको जग्गा गुठीलाई सुम्पेको हो।
यहाँ बाहिरबाट जस्तापाताले छोपेर भित्रभित्रै निर्माण भइरहेको छ। भित्र जान रोक लगाइएकाले के–कस्तो निर्माण भइरहेको छ भन्ने थाहा नभएको महासमिति बताउँछ।
‘हामी भित्र पस्न पाउँदैनौं, के बन्दैछ थाहा छैन,’ लामाले भने, ‘विश्व सम्पदा क्षेत्रमै यस्तो लापरबाही हुँदा पनि पुरातत्व मौन छ।’
कर्मराज महाविहारका सचिव राजेन्द्रलाल मानन्धर भने विगतमा नापीको गल्तीले क्षेत्रफल घटेको बताउँछन्।
उनका अनुसार २०२१ को नापीमा यो महाविहार रहेको कित्ता नम्बर ६८६ थियो। त्यतिबेला ‘भूलवश’ २ आना ३ पैसा कायम भएछ। दोस्रो नापी हुँदा कित्ता नम्बर ६२ कायम गरी क्षेत्रफल १४ आना ३ पैसा पुर्याइएको उनले हालसाविक दर्ताको निवेदनमा उल्लेख गरेका छन्।
सन् २०२० सम्म सक्ने लक्ष्य रहेको यो गुम्बा करिब १३ करोड ५२ लाखमा निर्माण हुँदैछ। यहाँ आधुनिक सिमेन्ट र डन्डी प्रयोग गरिएको छ। गुम्बाले स्वयम्भू परिसरका स्थानीयको घरसमेत पुनर्निर्माण गरिदिने प्रलोभन देखाएर समर्थन जुटाएको महासमिति पदाधिकारी आरोप लगाउँछन्।
‘स्वयम्भू संरक्षण एवं निर्माण मापदण्ड २०६४’ का अनुसार स्वयम्भू डाँडास्थित महाचैत्य वरिपरि अधिकतम २४ फिटको संरचना मात्र निर्माण गर्न पाइन्छ। यो मापदण्डअनुरूप गुम्बा पनि २४ फिटभन्दा अग्लो बनाउन पाइँदैन।
चौबीस फिट मात्रै बन्नुपर्ने गुम्बामा परम्परागत सामग्री प्रयोग नगरी किन कंक्रिट पिलर हालेको भनी स्थानीयले प्रश्न गरेका छन्।
‘विश्व सम्पदा क्षेत्रमा कुनै पनि निर्माण गर्दा आधुनिक सामग्री प्रयोग गर्न हुँदैन भनेर पुरातत्व विभागले भनेको हामीले सुनेका छौं,’ हाल मरूटोल निवासी स्थानीय मधुसुदन श्रेष्ठ भन्छन्, ‘स्वयम्भूको यो गुम्बामा भने सिमेन्ट र डन्डी प्रयोग गरेको देख्दादेख्दै पुरातत्व किन मौन?’
स्वयम्भू क्षेत्रमा अर्को पनि संरचना पुनर्निर्माण भइरहेको हामी देख्छौं। पूर्वी भर्याङबाट उकालो लाग्दा देखिने ज्ञानमाला भजन खलः पुनर्निर्माणमा सुर्खीचुना लगायत परम्परागत सामग्री नै प्रयोग गरिएको छ।
‘ज्ञानमाला भजन खलः परम्परागत शैलीमा बन्दा नजिकैको कर्मराज महाविहारमा भने किन भिन्नता?’ मधुसुदनले प्रश्न गरे, ‘पुरातत्वको कुरा आफैंमा विवादित देखिन्छ।’
पुरातत्व विभागका अधिकृत देवेन्द्र भट्टराई भने यो निजी गुम्बा भएकाले सम्पदाका अन्य मापदण्ड लागू नहुने बताउँछन्। ज्ञानमाला भजन खलः करिब सय वर्ष पुरानो र सम्पदामै पर्ने भएकाले परम्परागत शैलीमा निर्माण गर्न लागिएको उनको भनाइ छ।
‘यो गुम्बा बनेको ४०–५० वर्ष मात्रै भयो। त्यसमाथि निजी भएकाले सम्पदाका रूपमा सूचीकृत छैन,’ भट्टराईले भने, ‘पहिले पनि आधुनिक सामग्री प्रयोग गरेरै निर्माण भएको हुँदा त्यसैलाई निरन्तरता दिन लागिएको हो।’
उनको भनाइ पुरातत्वको आधारभूत मान्यता र विभागको पुरानो नजिरसँग बाझिन्छ।
सम्पदा क्षेत्र भनेको कुनै एउटा स्मारक मात्र होइन, त्यो स्मारक वरिपरिको समग्र क्षेत्र हो। डाँडाको टुप्पोमा बसेको स्वयम्भू महाचैत्य अहिले चारैतिरबाट देखिन्छ। महाचैत्य नै छेक्ने गरी अर्को संरचना उभियो भने यसको सम्पदा महत्व के रहला?
अर्कातिर, महाचैत्य छेउको गुम्बामा सम्पदा मापदण्ड लागू हुँदैन भने भगवानपाउको प्रवेशद्वारलाई कुन आधारमा मापदण्डविपरीत भनेर भत्काइयो?
स्वयम्भू डाँडाको टुप्पोमै मनलाग्दी निर्माण गर्न पाइन्छ भने डाँडाको फेदमा आधुनिक शैलीको प्रवेशद्वार बनाउन किन नपाउने?
निजी गुम्बा भएकाले महाविहारलाई ‘हरियो झन्डा’ देखाउने पुरातत्वले निजी क्षेत्रबाटै बनेको प्रवेशद्वारमा भने किन आपत्ति जनायो?
भगवानपाउको प्रवेशद्वार र त्यहाँका चैत्य जसरी मापदण्डविपरीत भन्दै भत्काइयो, त्यस्तै सक्रियता महाचैत्य छेउको गुम्बामा पनि देखाउनुपर्ने स्थानीयको माग छ।
स्वयम्भू महाचैत्य वरिपरि पहिले ३५ फिटको मापदण्ड थियो। २०६४ सालमा २४ फिटको मापदण्ड बनेको हो। स्थानीयका अनुसार यो गुम्बामा भुइँतल्ला पनि निर्माण हुँदैछ, जसबाट भवन करिब ४१ फिट हुनेछ। यसमा पनि धेरैले आपत्ति जनाएका छन्।
चौबीस फिटको मापदण्ड हुँदाहुँदै यति अग्लो गुम्बा बनाउने अनुमति कसरी पायो? दुई आनाको गुम्बा १४ आनामा फैलिँदा पनि पुरातत्वले किन कारबाही गरेन?
हामीले यिनै प्रश्न पुरातत्वका भट्टराईलाई सोध्दा उनले २४ फिटको मापदण्ड भवनको अगाडि देखिने उचाइ मात्र भएको बताए। त्यस्तै, गुम्बाले १४ आना ३ पैसा जग्गा ओगटे पनि भवन निर्माण पुरानो स्वरूपभन्दा ठूलो नहुने दाबी गरे।
‘हामीले उनीहरूलाई पहिलेभन्दा ठूलो नबढाउनू भनेका छौं,’ उनले भने, ‘कंक्रिट सामाग्रीको प्रयोग भने निजी संरचना भएकाले रोक्न सक्दैनौं।’
स्थानीय भने पुरातत्वको व्यवहारबाट रूष्ट छन्।
करिब तीन दशक स्वयम्भूमै बिताएका मधुसुदन बढ्दो आधुनिकीकरणले स्वयम्भू क्षेत्रको मौलिकता मासिँदै जाँदा पनि पुरातत्व मौन बसेको बताउँछन्।
यसअघि बुद्ध पार्क निर्माण गर्दा पनि युनेस्कोले आधुनिक संरचना प्रयोग नगर्नू भनेको थियो। उसको कुरा सुनुवाइ भएन।
‘त्यहीसँगै जुंगा भएको तिब्बती बुद्ध पनि हालियो। बाहिरबाट आउने धेरैले त्यसैलाई बुद्ध मान्छन्, त्यसैलाई स्वयम्भू ठान्छन्,’ उनले भने, ‘त्योभन्दा केही पर नाचिरहेको पद्यमसम्भवको मूर्ति पनि बनाइँदैछ।’
कमजोर पहाड रहेको स्वयम्भूमा आनन्दकुटी विहारले ‘ड्रिलिङ’ गरेर पानी निकालेको उनले बताए।
युनेस्कोले सन् १९७९ मा स्वयम्भूलाई विश्व सम्पदा सूचीमा राखेको थियो। सूचीकृत गर्ने क्रममा यहाँ हुने सांस्कृतिक परम्परा, मौलिक घर लगायतका विविध पक्ष हेरिएका थिए। यही विश्व सम्पदा हेर्न विदेशीहरूले स्वयम्भू प्रवेश निम्ति टिकटसमेत काट्नुपर्छ।
‘स्वयम्भू भने क्रंक्रिट सम्पदा बन्दैछ, हासँउठ्दो पाराले मूर्ति रंगरोगन गरिएका छन्,’ मधुसुदनले भने, ‘पुरातत्व र युनेस्को दुबै मौन छन्। अब त विदेशीलाई फोटो खिच्नसमेत स्वयम्भू लायक रहेन।’
यी पनि हेर्नुहोस्:
स्वयम्भू क्षेत्रमा पनि सम्पदा विनाश
कामपाले पुरातत्व विभागलाई भन्यो : स्वयम्भू क्षेत्रमा नयाँ संरचना निर्माण गर्न स्वीकृति नदिनू
स्वयम्भूमा बन्दै गरेको आधुनिक प्रवेशद्वार डोजरले भत्काइयो