असनको कोथुननीस्थित अशोक वृक्ष विहारमा बुधबार बिहानैदेखि भीडभाड थियो। काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट शाक्य, बज्राचार्यहरू यहाँ भिक्षा माग्न आए। उनीहरूलाई गुठियारहरूले आ-आफ्नो गक्षअनुसार चामल, नुन, पैसा दान दिए।
यो त्यही विहार हो, जसलाई गुठी संस्थानले व्यावसायिक कम्प्लेक्स बनाउने नाममा भत्काउन खोजेको छ। स्थानीय त्यसको विरोधमा छन्।
अशोक वृक्ष विहारमा आयोजित यो सांस्कृतिक उत्सवलाई 'पञ्चदान' भनिन्छ। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् गुँलागा त्रयोदशीको अवसर पारेर पञ्चदान गर्ने चलन छ। कम्तीमा हजार वर्षदेखि चल्दै आएको मानिने यो पर्व काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, थिमी लगायत नेवार बौद्ध धर्मावलम्बी भएका विभिन्न बस्तीमा मनाइन्छ। यस दिन बौद्ध परम्पराअनुसार बाहा र बहीका बौद्ध भिक्षु पाँच प्रकारका वस्तु दान गर्छन्, जसमा अन्न (चामल, धान, गँहु, जौ आदि), गेडागुडी, फलफूल लगायत पर्छन्।
पञ्चदानमा विशेषत: दीपंकर बुद्धको मूर्तिलाई प्रमुख रूपमा राखेर पुज्ने गरिन्छ। कोथुननी विहारमा रहेको बुद्धमूर्ति अमिताभ बुद्धको हो। यो विहार र यहाँको बुद्धमूर्ति पाँच सय वर्ष पुरानो भएको पुरातत्व विभागले पुष्टि गरेको छ। विभागको अनुसन्धानले यो विहार पन्ध्रौं वा सोह्रौं शताब्दीमा बनेको देखिएको छ। यस आधारमा बुधबार आयोजित पञ्चदान उत्सव यही विहारमा पाँच सय वर्षदेखि चल्दै आएको स्थानीय सजीव बज्राचार्य बताउँछन्।
'गुठी संस्थानले मास्न आँटेको विहारमा हामीले आज पञ्चदानको प्राचीन उत्सव मनायौं,' कोथुननी बचाउ अभियानका अभियन्ता बज्राचार्यले भने, 'यो पर्व यहाँ कम्तीमा पाँच सय वर्षदेखि चल्दै आएको यही विहारको इतिहासले पुष्टि गर्छ।'
अशोक वृक्ष विहार जुन घरमा छ, त्यहीँ मल्लकालीन व्यापार केन्द्र पनि छ, जसलाई 'घडीघर' भनिन्छ। मल्लकालमा ‘व्यापारिक केन्द्र’ का रूपमा विकास गरिएको यो घरलाई नेपालकै पहिलो ‘डिपार्टमेन्ट स्टोर’ मानिन्छ। यसलाई संरक्षण गर्न स्थानीयले केही दिनअघि मात्र पन्ध्र हजारको हस्ताक्षर संकलन गरी गुठी संस्थानलाई बुझाएका थिए। सांस्कृतिक महत्वको उक्त पुरातात्विक घर भत्काएर आधुनिक व्यापारिक 'कम्प्लेक्स' बनाउने गुठी संस्थानको निर्णयविरूद्ध हस्ताक्षर संकलन गरिएको हो।
‘अमिताभ बुद्धको यति पुरानो मन्दिर हुनु र पञ्चदानको पुरानो संस्कृति यही घरबाट चल्नुले यहाँको इतिहास झल्काउँछ,’ अशोक वृक्ष विहारका गुठियार उत्तमधर तुलाधरले भने, ‘यस्तो साँस्कृतिक महत्वको घर भत्काएर कम्प्लेक्स बनाउन खोज्नु हाम्रो संस्कृतिमाथि अतिक्रमण हो।’
‘घर भत्काउने हो भने पाँच सय पुरानो मन्दिर नै मासिने खतरा छ। भगवानको मूति कहाँ लगेर राख्ने? नयाँ चिज बनाउने भन्दैमा पुरानो सबै उखेलेर फाल्दै जाने हो र? यसले त काठमाडौं सभ्यता के बाँकी रहने भयो?’ उनले प्रश्न गरे।
पुरातात्विक महत्वका आधारमा संरक्षण गरिनुपर्ने घर भत्काएर ‘कम्प्लेक्स’ बनाउन गुठी संस्थानले ‘बज्रयोगिनी बहुउद्देश्यीय कम्पनी’ नामक व्यापारिक संस्थासँग सम्झौता गरेको छ। सम्झौताअनुसार उक्त व्यापारिक समूहले २७ वर्ष यहाँ अकन्टक कारोबार गर्न पाउनेछ। यहाँका बसोबासी, असनका स्थानीय तथा सम्पदाप्रेमीले उक्त सम्झौताविरूद्ध कोथुननी बचाउ अभियान सुरू गरेका हुन्।
आठ आना तीन दाम क्षेत्रफलमा बनेको यो घरमा अशोक वृक्ष विहारसहित एकै छतमुनि १३ वटा पसल छन्। तीन परिवार बसोबास गर्छन्।
पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि उनका छोरा बहादुर शाहले यो घर हड्पेको भनाइ छ। उनले दरबारमा मरेका वा मारिएका मान्छेको आत्माको शान्तिका लागि पूजाआजा गराउन ‘श्री ५ वायुदेवता गुठी’ चलाए। गुठीले यही घरबाट हनुमानढोकासम्म पूजा लैजान थाल्यो। घरबहालबाट उठेको पैसाले दसैं बेला हनुमानढोकामा पूजा लगिन्थ्यो। यो चलन कायम छ।
२०३१ सालमा नापी विभागका अधिकारी यहाँ फित्ता लिएर कित्ताकाट गर्न आए। वरपरका सबैले लालपुर्जा पाए, यो घरमा भने पसलहरू स–साना कित्तामा बाँडिएकाले नापीले सबैको एकीकृत ‘फिल्डबुक’ बनाएर गयो। उक्त फिल्डबुकमा ‘सन्तान दर सन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको’ उल्लेख छ।
गुठी संस्थानले २०७० फागुन ८ गते गरेको करार सम्झौतामा पनि ‘सन्तान दर सन्तानदेखि बसी आएको’ भनिएको छ। उक्त करार २०७० फागुन १ देखि लागू भएको हो। पाँच वर्षको म्याद छ। त्यसपछि पनि हटाउने व्यवस्था छैन। बरू प्रत्येक पाँच वर्षमा बहाल पुनरावलोकन गर्ने भनिएको छ। पुनरावलोकन गर्दा पाँच प्रतिशत वृद्धि हुनेछ। यसमा दुवै पक्षले मञ्जुरी गरेका छन्।
यो सम्झौताअनुसार बहालवालाले नियमित भाडा बुझाएसम्म हटाउन मिल्दैन। महिना गुज्रेको ६० दिनभित्र बहाल चुक्ता नगरे बल्ल पसल कब्जामा लिन सकिने उल्लेख छ। यही प्रावधानमा टेकेर बहालवालाले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।
गुठी संस्थानले भने २०७२ को भुइँचालोमा जीर्ण भएकाले पुनर्निर्माण गर्न लागेको तर्क गरेको छ। यहाँका बसोबासी यो तर्कसँग सहमत छैनन्।
‘१९९० को महाभूकम्पमा यो घर पूर्ण रूपमा क्षति भएपछि हाम्रा पुर्खाले संरचनामा कुनै फेरबदल नगरी जगदेखि नै पुनर्निर्माण गरेको इतिहास छ,’ स्थानीयले गुठीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।
२०७२ को भुइँचालोपछि सम्बन्धित निकायबाट घर निरीक्षण गर्दा बस्नयोग्य ठहर गरी ‘रातो स्टिकर’ नटाँसिएको ज्ञापनपत्रमा उल्लेख छ। यस आधारमा पूरै भत्काउनुको साटो ‘रेट्रोफिट’ गरेर यसको मौलिक स्वरूप जोगाउन सकिने यहाँका बसोबासी बताउँछन्। पुनर्निर्माण नै गर्नुपर्ने भए पनि भोगचलन गर्दै आएका १४ परिवारले नै सामूहिक लगानीमा नयाँ निर्माण गर्न मञ्जुरी जनाएका छन्।
गुठीले गरेको करार सम्झौतामा पनि दैवी वा प्राकृतिक प्रकोपका कारण क्षति भए बहालवालाले नै मर्मत गर्ने भनिएको छ।
‘पुनर्निर्माण गर्नुपर्ने हो भने अहिलेको संरचना नमासिने गरी हामी आफैं गर्छौं भन्दाभन्दै व्यापारिक संस्थालाई सुम्पन खोज्नुले गुठीको नियत प्रस्ट हुन्छ,’ सजीव बज्राचार्यले भने।
व्यापारिक कम्प्लेक्सको योजना पहिलोपटक बनेको होइन। यसअघि २०६२ सालमा पनि जग्गा भाडामा दिन खोजिएको थियो। त्यतिबेला एक जना तालुकदारले बहालवालालाई पत्तै नदिई नगरपालिकाबाट नक्सा पास गराएका थिए।
बहालवालाहरूले मुद्दा हाले। जिल्ला अदालतले जितायो। पुनरावदेन र सर्वोच्च अदालतमा भने उनीहरू हारे।
कानुनी लडाइँमा हारे पनि उनीहरूले विरोध गरिरहे। स्थानीयले साथ दिए। घर भत्काउने योजना सफल भएन। यसपालि गुठी संस्थान घर भत्काउने प्रपञ्चमा लागेपछि स्थानीय फेरि आन्दोलित भएका हुन्।
‘हाम्रो प्रमाण भनेकै हाम्रो भगवान हो। भगवानको ठाउँ हामी एक इन्च छाड्दा पनि छाड्दैनौं, अर्काको लिँदा पनि लिँदैनौं,’ तुलाधरले भने, ‘पैसाले सबथोक किन्न सकिएला, तर सत्य सत्य रहन्छ। सत्य के हो भने, यो पाँच सय वर्ष पुरानो भगवानको घर हो। व्यापारीको स्वार्थमा परेर यसलाई हामी कुनै हालतमा भत्काउन दिँदैनौं।’
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी
यो पनि हेर्नुहोस्: