'सुवर्ण पिण्ड पात्र दानम्'
पञ्चदानको अवसरमा बाटामा मानिसहरू दान दिँदै थिए। बौद्धधर्मी चिनियाकाजी बज्राचार्य भने यही श्लोक गाउँदै दान बटुल्दै गरेका भेटिए। श्लोक अर्थ्याउँदै उनले भने, ‘सुनको पात्रोमा राखेर दान गरेको भनिएको हो।’
बज्राचार्यका अनुसार पैसा र अन्नपिच्छे श्लोकका वाक्य फरक हुन्छन्। उनी पैसा दिँदा गाइने श्लोक हाल्न हौसिए, ‘यथानुलभ्यत्थे द्रव्य दक्षिणा दान दुर्गति निवारम्...’
यसको अर्थ– दक्षिणा दिएकोमा तिमीलाई राम्रो होस्।
हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीको अवसर पारेर बुधबार पञ्चदान पर्व मनाइयो। कम्तीमा हजार वर्षदेखि चल्दै आएको मानिने यो पर्व काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, थिमी र नेवार बौद्ध धर्मावलम्बी भएका विभिन्न बस्तीमा मनाइन्छ। यस दिन बौद्ध परम्पराअनुसार बाहा र बहीका बौद्ध भिक्षु पाँच प्रकारका वस्तु दान गर्छन्, जसमा अन्न (चामल, धान, गँहु, जौ आदि), गेडागुडी, फलफूल लगायत पर्छन्।
पञ्चदानमा विशेषत दीपंकर बुद्धको मूर्तिलाई प्रमुख भगवानका रूपमा राखेर पुज्ने गरिन्छ। भक्तपुरमा क्वाठण्डौंस्थित प्रशन्नशिल महाविहार, नःपुखुको जयक्रिति महाविहार, साकोठाको चर्तुब्रह्म महाविहार, झौरबहीको मंगलधर्मदीप महाविहार, कुटुबहीको बौद्ध समंकृत विहारको बुद्ध भेला भएर सहर परिक्रमा गरेका थिए। यी सबै बुद्धको अनुहार रातो थियो। मुद्रा भने फरक।
‘यी अक्षोभ्य, वैरोचन, अमिताभ, अमोघसिद्धि र रत्नसम्भव हुन्,’ नजिकैको चैत्यलाई देखाउँदै बज्राचार्यले भने, ‘यी बुद्ध चैत्यमाझैं पूर्व, पश्चिम, उत्तर र दक्षिणमुखी हुन्छन्। वैरोचन भने चैत्यको गर्भमा हुने भएकाले बाहिरबाट देखिन्न।’
यी बुद्ध पञ्चदान र सम्यक दान (माघ १) गरेर दुईपटक निकालिन्छन्। सम्यक दानलाई सबैभन्दा ठूलो दानका रूपमा लिइन्छ। यो दिन सियोदेखि लिएर जे उत्पादन हुन्छन् त्यो दिने परम्परा छ। घ्यू, चाकु लगायत पनि दिइन्छ। पञ्चदानमा भने अहिलेको समयमा पाइने कुरा दान गरिने बज्राचार्य बताउँछन्।
भक्तपुरमा दिपंकर बुद्धको यात्रा तौलाछेँबाट सुरू भएर दरबार स्क्वायर, नःपुखु, वंशगोपाल, नासमना हुँदै तौमडी पुग्यो। त्यहाँ अन्तिम दान र नृत्यपछि बुद्धहरु छुट्टिएर आ–आफ्नो ठाउँ पुग्दै पञ्चदान सम्पन्न भयो।
संस्कृतिविद् ओम धौभडेलका अनुसार पञ्चदान बौद्ध धर्मावलम्बीहरूले मान्ने गुँला पर्वसँग जोडिन्छ। गुँला पर्वमा एक महिना भिक्षुहरू उपवास बस्नुपर्ने नियम छ। यो समयमा धेरै पानी पर्ने भएकाले बाहिर भिक्षुहरू भिक्षा माग्न जाँदा सर्पले टोक्ने, पानी पर्ने, जनावरबाट आक्रमण हुने लगायत समस्या आउने भएकाले एक महिना विहारमै बस्छन्। सिंगेरी, धा लगायत बाजा बजाएर बौद्धमार्गीले भुतप्रेत भगाउँदै विहार परिक्रमा गर्ने चलन छ।
‘भिक्षुहरू उपवास बस्दा खानाको जोहो गर्न पनि त्यतिबेला पञ्चदानजस्तो पर्व चलाएर ती आवश्यक चिज बटुलेको हुनुपर्छ,’ धौभडेलले भने।
पञ्चदानमा दान दिँदै दानगाथा गाए मोक्ष प्राप्त हुने विश्वास छ। अर्को युगमा बोधिज्ञान प्राप्त गर्ने विश्वासका कारण पञ्चदानको दिनलाई जुगचर्य पनि भनिन्छ। यो दिनलाई पञ्जादान वा पञ्जरा पनि भनिन्छ।
‘पञ्जादानको पञ्जाले खिर दानको संकेत गर्छ जुन सबैभन्दा उत्तम भोजन हो। त्यो चलन अहिले हटेकाले जे उपलब्ध छ त्यही दिने चलन छ,’ उनले भने।
भक्तपुरमा पाँच बुद्धलाई दान दिइने भए पनि अन्य ठाउँमा पाँचवटै हुन्छन् भन्ने छैन। काठमाडौं, स्वयम्भू, बनेपा लगायत ठाउँमा एउटै बुद्ध छन्। पाटनमा भने आजको पाँच दिनपछि मात्रै पञ्चदान हुन्छ।
‘काठमाडौं, भक्तपुर र पाटन तीन छुट्टाछुट्टै राज्य हुँदा त्यति बेलाका शासकले भिन्नै तरिकाले पञ्चदान मनाएको हुनसक्छ,’ धौभडेलले भने।
भक्तपुरमा आज देखिएका यी पाँच बुद्ध सिद्धार्थभन्दा पुराना हुन्। बौद्धमागीहरू अर्को जन्ममा मौत्रीय बुद्ध जन्मने विश्वास राख्छन्।
बौद्ध धर्मावलम्बीहरूले दिपंकर मान्ने यी पाँच बुद्धलाई हिन्दुहरूले पाँच पाण्डव भनेर सम्बोधन गर्छन्। बौद्ध धर्मावलम्बीहरूको भने यसमा आपत्ति छ।
‘यहाँ हिन्दुकरण धेरै छ। पाँच जना भएपछि उनीहरुले दाजुभाइ सम्झेर पाण्डव भनेका हुन् तर यी दाजुभाइ होइनन्। पाँच जना दिपंकर बुद्ध हुन्,’ बौद्धधर्मी बज्राचार्यले भने।
यो पनि हेर्नुहोस्: