बैंक अफ काठमाण्डूको कर्जा घोटाला काण्डमा संलग्न भएको अभियोगमा तत्कालीन सिइओ अजय श्रेष्ठसहित १६ जनाविरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।
कर्जा घोटाला कान्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दाको अनुसन्धान प्रतिवेदन बुझाएको हो।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएसँगै विपक्षी बनाइएका व्यक्तिहरूविरुद्ध सरकारी वकिलको कार्यालयले बैंकिङ कसुरमा मुद्दा दायर गर्ने तयारी थालेको छ।
मुद्दा अभियोजनमा १६ जनाविरुद्ध बैंक अफ काठमाण्डूको दुई करोड पचास लाख १२ हजार ९७ रुपैयाँ हानिनोक्सानी गरेकाले बैकिङ कसुर ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही माग गरिएको छ। उनीहरूले झापाको बिरिङ खोलाको बगरको नक्कली जग्गा खडा गरी ऋण स्वीकृति गराएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
ब्युरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार अनुसन्धान प्रतिवेदनमा सो बराबरको रकम घोटाला भएको प्रमाणसहित तत्कालीन सिइओसहितका १६ जना कर्मचारी र बिचौलियालाई विपक्षी बनाइएको छ।
विपक्षी बनाइएकामा ऋणी हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ घर भई काठमाडौं बानेश्वर बस्ने ५४ वर्षीय सुरेन्द्र श्रेष्ठ, काठमाडौं महाराजगन्ज घर भई शैखरापुर नगरपालिका लालकिल्ला भुमेथली बस्ने ३८ वर्षीय भूपेन्द्र श्रेष्ठ, झापा चन्द्रगढी घर भएका मोरङका तत्कालीन बैंक प्रबन्धक गणेश लम्साल, भैरहवा खजनाटोल ३ घर भई काठमाडौं बानेश्वर बस्ने तत्कालीन कमलपोखरी शाखा प्रबन्धक किरणकुमार बोहरा, चितवन भन्डारा १ का ऋशेश्वर थपलिया, मकवानपुर खैराङ ३ घर भई हाल मनहरि गाउँपालिका ८ बस्ने कृष्णबहादुर कार्की छन्।
यस्तै, पर्सा वीरगन्ज ५ घर भई काठमाडौं ४ बैंकका तत्कालीन सम्पर्क अधिकृत सुष्मा शाह, काठमाडौं मैजुबाहाल ७ का वरिष्ठ सम्पर्क अधिकृत बिभुविक्रम पन्त, बाँके नेपालगञ्ज उपमहानगरपालिका १ का तत्कालीन जोखिम व्यवस्थापन अधिकृत ऋचा श्रेष्ठ र काठमाडौं ७ सिफलका तत्कालीन नायब महाप्रबन्धक पुष्पराज भण्डारी छन्।
यस्तै, घोटाला काण्डमा मुछिएका तर हाल फरार रहेका कल्पना शाही सिंह श्रेष्ठ, प्रेमप्सार पाण्डे, भेषराज खत्री, मीनासिंह विष्ट र सुनेना सेलालिकविरुद्ध पनि मुद्दा अभियोजन गरिएको एसपी पाण्डेले बताए।
फरार भएका व्यक्तिहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ। बैंक अफ काठमाण्डूबाट २०७१ सालमा झापाको बिरिङ खोलाको नक्कली जग्गा प्रमाणपत्र बनाएर १ करोड ९७ लाख रुपैयाँ ऋण स्वीकृत गरिएको थियो। ऋणी श्रेष्ठले तीन किस्तामा बगरको जग्गाको नक्कली पूर्जा राखेर बैंकबाट ऋण स्वीकृत गराई रकम निकासा गराएका थिए।
यससम्बन्धी समाचार हेर्नुहोस्
झापाको खोला बगर राखेर बैंक अफ काठमाण्डूबाट दुई करोड ऋण