पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ। सात महिनाअघि जन्मिएको बालकको अहिलेको अवस्था डिस्चार्ज लिएर घर लैजानयोग्य पाइएको उक्त आदेशमा उल्लेख छ।
‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको हक अधिकारको प्रचलन गराउने प्रयोजनका लागि अदालतले यस्तो आदेश दिएको जनाएको छ।
अस्पतालबाट बच्चा बुझेर अदालतमा उपस्थित हुन पनि शाहलाई भनिएको छ।
रजिष्ट्रार बाबुराम दाहालले असोज ३० गते आदेश दिँदै पत्र बुझेको तीन दिनभित्र बच्चा बुझेर बालकसहित उपस्थित हुन आदेश दिएका हुन्।
‘बालक जिम्मा लगाएर हक प्रचलन गराइ पाउँ’ भनी मेडिसिटी अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। सो मुद्दामा न्यायाधीश श्रीमणकुमार गौतम र टेकनारायण कुँवरको इजलासले असोज ८ गते बालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई तीन हप्ताभित्र निर्देशन दिइएकोमा वीरले असोज २९ गते बालकको स्वास्थ्य परीक्षणको रिपोर्ट अदालतमा बुझाएको थियो।
रिपोर्टमा बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेकोले डिस्चार्ज दिन मिल्ने व्यहोरा उल्लेख गरिएको थियो। ‘काठमाडौं कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. पंकज राय र डा. रामहरि चापागाईंसहितको टोलीले बालकको स्वास्थ्य परीक्षण गर्दा हालको अवस्था सामान्य रहेकोले घर लैजान सकिने देखियो,’ आदेशमा उल्लेख छ।
आदेशमा डाउन सिन्ड्रोमको लागि अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सद्वारा निर्देशित गाइडलाइनअनुसार नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्ने भनी दिएको प्रतिवेदन र नेपाल मेडिकल बोर्डले समेत सो प्रतिवेदनअनुसार सिफारिस गरेकोले हक प्रचलनको अधिकार प्रयोजनार्थ अदालत उपस्थित गराउन भनिएको छ।
अस्पतालको लापरबाहीले ‘डाउन सिन्ड्रोम’ शिशु जन्मिएको भन्दै बाँकी जीवनभरको उपचारको ग्यारेन्टी हुनुपर्ने भन्दै साह र उनका पति राजेश महतोले बच्चालाई मेडिसिटीबाट घर लैजान मानिरहेका थिएनन्।
जन्मँदा ‘डाउन सिन्ड्रोम’ देखिएपछि शिशुको उपचार र जीवन रक्षाको जिम्मेवारी कसले लिने भन्नेमा साह र मेडिसिटी अस्पतालबीच लामो समयसम्म विवाद छ। अदालतको यो आदेशसँगै पूर्वसांसह साह र मेडिसिटी अस्पतालबीचको विवाद किनारा लाग्ने अनुमान गरिएको छ।
साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। शिशु जन्मिँदा स्वास्थ्य ठीक थिएन। भारतमा रगत परीक्षण गर्न पठाएपछि शारीरिक विकास कम हुने रोग ‘डाउन सिन्ड्रोम’ पत्ता लागेको थियो।
चिकित्सकको लापरबाहीका कारण अस्वस्थ बच्चा जन्मिएको भन्दै साहले जीवनभरको उपचार खर्च ग्यारेन्टी अस्पतालले गर्नुपर्ने अडान राख्दै आएकी थिइन्। यो विवाद ललितपुर महानगरपालिकाको न्यायिक समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत ललितपुर हुँदै उच्च अदालत पाटन पुगेको थियो।
१२ हप्तामै पत्ता लाग्नुपर्ने ‘डाउन सिन्ड्रोम’ परीक्षण नगर्दा अस्वस्थ शिशु जन्मिएको दाबी साहको छ।
साह र उनका पति महतोले अदालतको पत्र आइतबार बुझेका छन्। अहिले अदालतको थालेको प्रक्रियामा सांसद साह र उनका पति राजेश महतोको चित्त दुखाइ कायमै छ। ‘वीरमा परीक्षण गर्न भनिएकोमा बच्चा त्यहाँ लगिएन। टोली यहाँ आएर हेर्यो मात्र। हामीलाई रोहबरमा पनि राखिएन। त्यो टोलीले डाउन सिन्ड्रोमको विषयमा बोल्यो तर हाम्रो बच्चाको बारे के गर्ने बोलेको देखिँदैन,’ महतोले भने, ‘अदालती प्रक्रियामा हामी सहभागी हुन्छौं, तर भोलि बच्चाको अवस्था तलमाथि भो भने कसले जिम्मा लिन्छ, त्यसबारे उपल्लो कानुनी निकाय जाने अधिकारी हामीलाई छ।’
महतोले बच्चाको अवस्थाको रिपोर्ट दिन वीर अस्पतालमा आइतबार निवेदन दिएका छन्। उनले बच्चाको आगामी उपचारको जिम्माबारे बोल्न मेडिकल बोर्ड गुहारेका छन्।
अस्पतालले शिशुको गर्भावस्थामा ‘डाउन सिन्ड्रोम’ परीक्षण गरेको थिएन। साधारणतया ३५ वर्षमाथिका महिला गर्भवती हुँदा शिशुमा ‘डाउन सिन्ड्रोम’ समस्या बढी देखिन सक्छ। साह गर्भवती हुँदा ३४ वर्षकी थिइन्। ‘डाउन सिन्ड्रोम’को अवस्था देखिए त्यस्तो शिशु नजन्माउन डाक्टरहरूले सुझाव दिने गरेका छन्।
के हो ‘डाउन सिन्ड्रोम’, चिकित्सक के भन्छन्?
चिकित्सकका अनुसार क्रोमोजमोममा हुने असामान्य अवस्था डाउन सिन्ड्रोम हो। सामान्य बच्चामा ४६ क्रोमोजोम हुन्छन् भने डाउन सिन्ड्रोम भएका बच्चामा ४७ क्रमोजोम हुन्छन्।
२३ क्रोमोजोमको ठाउँमा थप क्रोमोजोम हुने भएकाले यसलाई ‘ट्राइजोमी क्रोमोजोम’ पनि भनिन्छ। यो वंशानुगत रोग पनि हो। परिवार कसैलाई भएको भए नयाँ बच्चामा पनि हुने सम्भावना हुन्छ।
डाउन सिन्ड्रोम कसरी हुन्छ ?
डाक्टर नुतन शर्माका डाउन सिन्ड्रोम हुनुमा असामान्य खालको क्रोमोजोम र वंशानुगत कारण हुन सक्छन्। बच्चामा डाउन सिन्ड्रोम हुनुको प्रमुख कारण गर्भवती महिलाको उमेर नै हो। बढी उमेरका महिला गर्भवती हुँदा बच्चामा डाउन सिन्ड्रोम हुने सम्भावना बढी हुन्छ।
ढिला बिहे गर्ने अनि ढिलो बच्चा जन्माउँदा यस्तो खतरा हुन्छ। सामान्यत: महिलाले ३० वर्षअघि नै बच्चा जन्माइसक्नु राम्रो हो। अहिले मानिसहरू करियरका कारण ३४ देखि ३८ सम्म बच्चा जन्माउँछन्। ढिला बच्चा पाउने क्रम बढेसँगै डाउन सिन्ड्रोम भएका बच्चा जन्मिने सुरू भएको छ। बढ्दो उमेरमा गर्भवती हुनु नै यसको प्रमुख कारण हो।
एउटा निश्चित उमेरपछि महिलाको डिम्वासयमा अण्डाहरू कम हुँदै जान्छ। ३० वर्षसम्म गर्भवती भएका महिलाबाट जन्मिएका बच्चामा डाउन सिन्ड्रोमको सम्भावना कम हुन्छ।
विश्वभर १ हजार गर्भवतीमध्ये १ जना महिलाको बच्चामा यस्तो समस्या देखिन्छ। ४० वर्ष कटेका गर्भवती महिलाहरूलाई आधार मान्दा भने १ हजारमध्ये १३ जना महिलाबाट जन्मेका बच्चालाई डाउन सिन्ड्रोम हुने तथ्यांक छ।
जन्मिएका बच्चा असामान्य
क्रोमोजोम असामान्य हुने भएकाले बच्चा पनि असामान्य खालको हुन्छ। जन्मिनेबित्तिकै यिनीहरूको शरीर नै फरक खालको देखिन्छ। नाक थेप्चो हुने, कान फराकिलो हुने, खुट्टाका औंलाको बीचमा बढी ग्याप हुन्छ।
यस्ता, बच्चाहरुको जिब्रो बाक्लो हुन्छ। यिनीहरू हँसिला र निर्दोष देखिन्छन्।
सामान्य काम गर्न सक्दैनन् र व्यवहार पनि असामान्य देखाउँछन्। उमेर बढ्दै गए पनि त्यो अनुसारको शारीरिक विकास भने हुँदैन।
डाउन सिन्ड्रोम भएर जन्मेका मानिस ५५-५६ वर्ष बाँचेका छन्।
यो पनि हेर्नुहोस्