म क्रिश्टिन म्यानहार्टलाई तीनवटा प्रश्न सोध्न चाहन्थेँ–
पन्ध्र सय वर्ष पुरानो काठमाडौंको सहरी संरचना र त्योभन्दा सयौं वर्षअघि विकसित काठमाडौं सभ्यतालाई विश्व सम्पदामा सूचीकृत गर्न सकिन्छ कि सकिँदैन?
हिन्दु र बौद्धमार्गीहरूका दुई प्रमुख तीर्थस्थल पशुपति र स्वयम्भू जोड्ने लिच्छविकालीन मार्ग, जुन अहिले पनि जस्ताको तस्तै छ, विश्व सम्पदामा दर्ज हुन योग्य छ कि छैन?
काठमाडौंको येँया पुन्ही (इन्द्रजात्रा), पाटनको बुंगद्यः (रातो मच्छिन्द्रनाथ), भक्तपुरको बिस्काः लगायत जात्रापर्वहरू यति विशिष्ट र अद्भूत छन्, के यिनीहरू अमूर्त सांस्कृतिक सम्पदाका रूपमा संसारभरि चिनिन लायक छैनन्?
क्रिश्टिन संसारभरका पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न स्थापित राष्ट्रसंघीय नियोग ‘युनेस्को’ का नेपाल प्रतिनिधि हुन्।
उनीसँग यी प्रश्न सोध्नुको कारण हाम्रा मूर्त–अमूर्त सम्पदाहरूलाई युनेस्कोबाट अनुमोदन गराउनुपर्छ भनेर होइन। नगराए पनि हुन्छ। युनेस्कोले सूचीमा नराखे पनि हाम्रा निम्ति यी सम्पदाको महत्व कम हुनेवाला छैन। हामी पूजा गर्न गइरहन्छौं। जात्रापर्व पनि मनाइरहन्छौं।
आफ्नो परम्परा र संस्कृतिसँग अभिन्न गाँसिएका सम्पदाको मर्म आत्मसात् गर्न हामीलाई विदेशी संगठनले भनिरहनु पर्दैन।
यति हुँदाहुँदै, हजारौं वर्षदेखि चलिआएका संस्कृति र सम्पदाहरू अलिकति कोशिसले विश्वलाई चिनाउन सकिन्छ भने किन नचिनाउने?
हामीसँग पर्यटक तान्ने परिकार मनग्य छन्। तर, जबसम्म हामी आफ्ना परिकारहरू मेनुमा सजाएर पेस गर्दैनौं, तबसम्म संसारलाई कसरी थाहा हुन्छ, हामीसँग विश्वमै दुर्लभ खजाना के–के छन् भनेर!
रेस्टुरेन्टमा मेनु हेरेर खाना अर्डर गर्न सजिलो कि, फलानो खानेकुरा छ कि छैन भनेर घरिघरि वेटरलाई डाकेर सोध्न?
युनेस्को सम्पदा सूची पनि त्यस्तै हो, रेस्टुरेन्टको मेनुजस्तो।
म विश्व सम्पदाको मेनुमा थप्न सकिने काठमाडौंका नयाँ परिकारबारे कुरा गर्न क्रिश्टिनसँग समय मिलाउँदै थिएँ। त्यही बेला युनेस्कोको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आइपुग्यो।
करिब एक साता बसाइमा उक्त टोलीले काठमाडौंका छवटै सम्पदा स्थल अनुगमन गर्यो। हनुमानढोका, पाटन र भक्तपुर दरबारक्षेत्र गयो। पशुपति, स्वयम्भू र चाँगुनारायण पनि घुम्यो।
यी सबै ठाउँ भुइँचालो बेला धेरै–थोरै भत्किएका थिए। युनेस्कोले केही ठाउँको पुनर्निर्माणमा आपत्ति जनायो। यी सम्पदा स्थललाई ‘जोखिम’ सूचीमा सार्ने गाइँगुइँ सुनिन थाल्यो।
म यता रेस्टुरेन्टमा नयाँ परिकार थप्ने कुरा सोच्दै थिएँ, उता भएकै परिकारको स्वाद बिग्रिएर ग्राहक भड्किएलान् भन्ने पो डर भयो!
अन्तर्राष्ट्रिय टोलीको व्यस्त भ्रमण तालिकाले क्रिश्टिनसँग साताभरि भेट हुन सकेन। टोली फर्केको भोलिपल्ट बिहान ११ बजे उनले मलाई सानेपास्थित युनेस्को कार्यालय डाके।
युनेस्कोका सञ्चार अधिकृत निर्जना शर्माले जसै मलाई मिटिङ रूममा बसालिन्, क्रिश्टिन हुर्रिंदै भित्र छिरे, ‘प्लिज कम, आई वान्ट टू शो यू समथिङ (यता आउनस् त, म तपाईंलाई केही देखाउन चाहन्छु)’
म क्रिश्टिनलाई पछ्याउँदै उनको कोठामा गएँ।
उनले टेबलमाथि राखेको एउटा सानो यन्त्र बडो उत्साहपूर्वक देखाए। अंकहरू पिलिक–पिलिक बलिरहेको त्यो प्रदूषण नाप्ने यन्त्र थियो। यन्त्रमा अफिस कोठाको प्रदूषण मात्रा पहेँलो रङमा देखिँदै थियो भने सानेपाको बाहिरी हावा रातो।
‘यसपालि बर्खा सकिएपछि पहिलोपटक प्रदूषणले रातो रङ देखायो,’ उनले भने।
रातोको अर्थ पनि थरीथरीको हुन्छ। कसैको निम्ति क्रान्ति र विजयको रङ, कसैको निम्ति सिम्रिक र चन्द्र–सूर्य झन्डाको रङ। यहाँ भने जोखिमको रङ। विद्यार्थी जाँचमा फेल हुँदा रिपोर्ट कार्ड रातो रङले रंगिएको हुन्छ नि, त्यस्तै।
के युनेस्को टोलीले काठमाडौंका विश्व सम्पदालाई दिने रिपोर्ट कार्ड पनि ‘रातो’ होला?
‘वायु प्रदूषण काठमाडौंको सबभन्दा नराम्रो पक्ष हो। यस्तो हावामा लगातार दस–पन्ध्र वर्ष सास फेरिरह्यो भने हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्छ,’ उनी भन्दै थिए, ‘म त मास्कबिना बाहिर हिँड्नै सक्दिनँ।’
उनले आफ्नो अफिस र घरको कोठाभित्र हावा शुद्ध पार्न ‘एअर प्युरिफायर’ पनि राखेका छन्। यस्तै ‘प्युरिफायर’ पूरै सहरको हावामा राख्न के गर्नुपर्ला हँ? हाम्रा सम्पदाहरू जोगाउन पनि यस्तै केही यन्त्र पाइएला कि?
‘स्वच्छ हावामा सास फेर्नु सबै मान्छेको अधिकार हो, जुन काठमाडौंमा छैन। तराईको प्रदूषण त अझ बढी,’ क्रिश्टिनले लुम्बिनी घुम्न जाँदा आफ्नो यन्त्र बोकेर गएका रहेछन्, ‘त्यहाँको प्रदूषण काठमाडौंभन्दा बढ्ता देखियो। लुम्बिनी क्षेत्र वरिपरिका कलकारखाना र भारतबाट आउने दूषित हावाले दिनैभरिजसो आकाश धूम्म भइरहन्छ। म त छक्कै परेँ।’
‘तपाईं सम्पदाविद् कि वातावरणविद्?’ प्रदूषणप्रति उनको अगाध रुचि र चासो देखेर मैले सोधेँ।
उनी हाँस्दै आफ्नो कोठाबाट मिटिङ रूमतिर आए, ‘खासमा मेरो अध्ययन संस्कृति हो।’
‘संस्कृतिविद्लाई वातावरणमा यत्रो रुचि?’
‘जहाँको हावा सास फेर्न लायक हुन्न, त्यहाँ संस्कृति र सम्पदा जतिसुकै समृद्ध भए पनि के अर्थ?’ उनले भने, ‘ठाउँ जतिसुकै सुन्दर होस्, सासै फेर्न नसक्ने भएपछि मान्छे किन आउँछन्?’
उनी आफू चार वर्षदेखि काठमाडौंमा छन्। एक वर्ष म्याद थपिएछ। म्याद थपिँदा थकथकी लाग्यो होला है?
‘म त खुसी छु,’ उनले कुरा मिलाए वा मनको कुरा खोले, ‘मजस्तो सम्पदा र संस्कृतिमा काम गर्नेलाई काठमाडौं ज्ञानको भण्डार नै हो।’
यति भनेर उनले चारवर्षे नेपाल बसाइबाट सिकेको अनुभवको सार खिचे, ‘नेपालीहरू आफ्नो इतिहास, सम्पदा र संस्कृतिमा गौरव गर्छन्। यहाँको संस्कृतिले हिन्दु र बौद्ध धर्मलाई आपसमा जोड्छ। यो ठाउँ आफ्ना दुवै छिमेकी मुलुकहरूको संस्कृतिबाट प्रभावित छ र ती दुवै मुलुकको संस्कृतिमा यसले ठूलो प्रभाव पनि पारेको छ। अहिलेको अवस्था हेर्दा भने गौरव गर्नुपर्ने यहाँका सम्पदा र संस्कृतिमाथि प्रदूषण र अव्यवस्थित बसोबासले नकारात्मक असर पार्दै छन्।’
‘मैले यस्तो राजधानी संसारमै देखेको छैन, जहाँको इतिहास गौरवपूर्ण छ, वर्तमान भने कमजोर पूर्वाधार, कमजोर सडक संरचना, अव्यवस्थित बसोबास र धुलोधुवाँले बिग्रँदै गएको छ।’
भुइँचालोपछिको पुनर्निर्माणले पनि हाम्रो सम्पदा धेरै बिगार्यो है!
पुनर्निर्माणमा हुनसक्ने लापरबाहीले सम्पदा विनाश हुनसक्छ भन्ने युनेस्कोको सुरूदेखिकै चासो हो। यसपालि अन्तर्राष्ट्रिय टोली त्यही निरीक्षण गर्न आएको थियो। उनीहरू केही ठाउँको काम देखेर दंग परे, केही ठाउँमा मुख बिगारेर गए।
अब रिपोर्ट कार्डमा कति आलु दिने हुन्?
एक–दुइटा कुराले भने युनेस्को टोली खुसी देखिए। खासगरी, सम्पदा संरक्षण अभियन्ताहरूको सक्रियताले।
रानीपोखरी विनाशलीला रोक्न जुर्मुराएका अभियन्ताहरूले त्यसयता पुरातत्व विभाग र महानगरलाई पटक–पटक सचेत गराएका छन्। यी निकायहरू भित्रभित्रै मुर्मुरिएका पनि होलान्। क्रिश्टिनको प्रतिक्रिया भने फरक थियो।
‘काठमाडौंमा सम्पदा संरक्षण अभियन्ताहरू निकै सक्रिय रहेछन् जुन राम्रो कुरा हो,’ उनले भने, ‘हामीले पहिलोपटक ती अभियन्ताहरूसँग कुराकानी गर्यौं। उनीहरू कतिपय ठाउँमा हामी सँगसँगै निरीक्षणमा गए। के–के नराम्रा काम भएका छन् भनेर पारदर्शी रूपमा देखाए। यसले हामीलाई स्थानीय सरोकारका मुद्दा समग्रमा बुझ्न सजिलो भयो।’
पाटन दरबार क्षेत्र र स्वयम्भूमा भएको पुनर्निर्माणबाट पनि युनेस्को सन्तुष्ट देखिन्छ।
स्वयम्भूमा मुख्य स्तुपनजिकै आधुनिक शैलीमा गुम्बा निर्माण गरिएको मुद्दा विवादित थियो। संरक्षण अभियन्ता र स्थानीयहरूले विरोध गरेका थिए। युनेस्को टोलीले दुवै पक्षसँग कुराकानी गर्यो। स्थलगत रूपमै गएर निर्माणाधीन गुम्बा र त्यसको नक्सा हेर्यो।
‘त्यो गुम्बाले स्वयम्भू स्तुप परिक्रमा गर्न पहिलेभन्दा दुई मिटर बढी ठाउँ छाडेको छ,’ उनले भने, ‘तीर्थयात्रीले स्तुप घुम्न फराकिलो ठाउँ पाउनेछन्। घरको उचाइ पनि पहिलेभन्दा सानो छ। उनीहरूले अगाडि स्तुपतिरको क्षेत्रफल छाडेर पछाडि डाँडाको चट्टानतिर बढी क्षेत्र ओगट्दै निर्माण गर्न लागेका रहेछन्, जुन हामीलाई मन पर्यो।’
गुम्बामा त कंक्रिट प्रयोग भइरहेको छ नि? के त्यसमा पनि युनेस्कोलाई आपत्ति छैन?
जवाफमा उनले भने, ‘ती घरहरू ऐतिहासिक वा पुरातात्विक होइनन्। पहिले पनि कंक्रिटले नै बनेका थिए। सबभन्दा ठूलो कुरा त, अहिलेको नक्सा हेर्दा स्वयम्भू स्तुप छेकिँदैन।’
युनेस्कोको ठूलो आपत्ति भने सम्पदा पुनर्निर्माणको टेन्डर प्रक्रियामा रहेछ।
महानगर र पुरातत्व विभागले सबभन्दा न्यूनतम मूल्य प्रस्ताव गर्ने ठेकेदारलाई करारमा काम लगाउँछ। जबकि, इतिहास र पुरातत्वसँग जोडिएका संवेदनशील काममा मूल्यभन्दा गुणस्तर हेर्नुपर्थ्यो भन्ने क्रिश्टिनको राय छ।
‘जसले गुणस्तरीय काम गर्न सक्छ उसैलाई दिनुपर्छ,’ उनले भने, ‘पैसाको मात्र मुख हेर्दा कामको स्तरमा सम्झौता हुन सक्छ।’
युनेस्कोले सन् २०१६ मै पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणसँग मिलेर सम्पदा स्थलको टेन्डर प्रक्रियासम्बन्धी मस्यौदा सरकारलाई बुझाएको उनले जानकारी दिए।
‘त्यो मन्त्रिपरिषदमा पुगेको छ, तर पारित भएको छैन। पुनर्निर्माणमा गुणस्तरीय ठेक्का गर्ने हो भने नयाँ टेन्डर प्रक्रियामा जानुपर्छ,’ उनले भने।
पुनर्निर्माणमा देखिएका केही त्रुटि पनि उनले औंल्याए।
सस्तो र छिटो काम गर्नुपर्दा ढुंगा वा इँटाहरूको जोडाइ राम्रो हुँदैन। यस्तो जोडाइमा चुनाको प्रयोग राम्रो मानिन्छ। चुनालाई कम्तिमा तीन साता पानीमा भिजाएर राख्नुपर्छ। त्यसपछि बल्ल त्यो कडा र प्रयोग गर्न उपयुक्त हुन्छ।
राम्ररी भिजाएको छैन भने जोडाइ सजिलै टुक्रिन्छ। यसले संरचना भत्किने वा कमजोर हुने डर हुन्छ। युनेस्कोले केही ठेकेदारलाई चुनाको बलियो जोडाइ बनाउने तालिम दिएको थियो। निर्देशिका पनि बाँडेको थियो। तर, धेरै ठाउँमा कार्यान्वयन नभएको उनले बताए।
सबैतिर चुनाकै जोडाइ प्रयोग गर्नुपर्छ भन्ने छैन। स्वयम्भूको शान्तिपुर मन्दिरमा माटोको जोडाइ प्रयोग गरिएको छ। चुना वा सिमेन्टको तुलनामा माटोको जोडाइ नरम र लचिलो हुन्छ। भुइँचालो बेला यस्तो जोडाइ चर्किंदैन। माटो आफैं चिप्लिने हुँदा त्यसले आपसमा जोडेर राखेका इँटा वा ढुंगा काठसँगै लच्किन्छन् र संरचना भत्कन पाउँदैन।
हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक पुनर्निर्माणमा युनेस्को सकारात्मक रहे पनि जगन्नाथ र गोपीनाथ मन्दिर बन्न नसकेकोमा उसको आपत्ति छ। दरबारको मूलढोका अगाडिका यी मन्दिर पूरै ढलेका छैनन्। धेरै ठाउँमा चर्किएर जोखिमपूर्ण अवस्थामा छन्।
पशुपति क्षेत्रमा आधुनिक निर्माण र श्लेषमान्तक वनको विश्वरुप मन्दिरमा कंक्रिट प्रयोगलाई लिएर पनि युनेस्कोले चासो देखाएको छ।
यी त भए युनेस्को टोलीले पहिचान गरेका केही राम्रा र केही नराम्रा कुरा, जसको विस्तृत विवरण उनीहरूको प्रतिवेदनमा आउने नै छ।
क्रिश्टिनलाई भेट्नुको मेरो मुख्य उद्देश्य भने अर्कै थियो, जुन मैले सुरूमै भनिसकेँ।
मेरो चासो काठमाडौं उपत्यकाका पुराना सहरी संरचना, प्राचीन मार्ग र यहाँका परम्परागत जात्रापर्वहरूलाई विश्व सम्पदामा सूचीकृत गर्न सकिन्छ कि सकिँदैन भन्ने थियो।
उनले यसमा सकारात्मक जवाफ दिए।
उनका अनुसार, काठमाडौं उपत्यकाका प्राचीन सहरहरूलाई सम्पदा सूचीमा समावेश गर्न सकिन्छ, तर केही न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ।
पहिलो त, पुराना बस्तीबाट सवारी साधनको आवागमन नियन्त्रित गरिनुपर्छ।
दोस्रो, प्राचीन बस्तीमा रहेका पुराना घरहरू संरक्षण गर्नुपर्छ र नयाँ घर पनि परम्परागत शैलीमा मात्र बनाउन दिनुपर्छ। परम्परागत घर भन्नाले आधुनिक सुविधाहरू राख्नै नहुने चाहिँ होइन रहेछ।
‘परम्परागत ढाँचाको घरमा पनि आधुनिक सुविधा राख्न सकिन्छ। सरकारले चाहने हो भने प्राचीन बस्तीमा सम्पदासँग मिल्दोजुल्दो निजी घरको मोडालिटी कस्तो हुनसक्छ भन्नेबारे हामी छलफल गर्न सक्छौं,’ उनले भने।
उनको कुरा सुन्दा, प्राचीन बस्तीलाई सम्पदा क्षेत्रका रूपमा जीवित राख्ने हो भने सरकार र स्थानीयले केही सम्झौता गर्नुपर्ने देखिन्छ।
स्थानीयले आफूलाई जस्तो मन लाग्यो त्यस्तो घर बनाउन पाउँदैनन्। परम्परागत सामग्री प्रयोग गरेर पुरानै ढाँचा र शिल्पका घरले प्राचीन बस्तीको झलक दिन्छ। यस्तो घर बनाउन सबै स्थानीयको आर्थिक क्षमताले नधान्न सक्छ। यहाँ सरकार र नगरपालिकाहरूले घरधनीहरूसँग सल्लाह गरेर आर्थिक सहायता गर्न सक्छन्।
‘सरकारले आर्थिक सहायता दिने र स्थानीय पनि परम्परागत शैलीमा फर्किन तयार हुने हो भने प्राचीन बस्तीहरूलाई पुरानै स्वरूपमा ब्युँताउन सम्भव छ,’ उनले भने, ‘विश्व सम्पदामा सूचीकृत पनि हुनसक्छ।’
तेस्रो सर्त हो, यहाँका पुराना गल्ली, बहाल र ढुंगेधाराहरू जोगाउनु।
पछिल्लो समय अव्यवस्थित सहरीकरणले पुराना गल्ली र बहालहरू मासिने क्रममा छन्। भित्री बस्तीका ठूल्ठूला बहाल पार्किङ स्थल बनेका छन्। त्यस्ता बहालमा स्थानीयबाटै विभिन्न संरचना अनधिकृत रूपले निर्माण भएका छन्। ढुंगेधाराहरू त धेरै सुकिसके।
क्रिश्टिनले हनुमानढोका र पाटन दरबार क्षेत्रको उदाहरण दिए, जहाँ पुराना ऐतिहासिक भवनहरू नासिँदै गएका छन्। बढ्दो परिवारलाई थेग्न घरहरू सम्पदा क्षेत्रलाई नै बिरुप पार्ने गरी अग्लिँदैछन्। आधुनिक सुविधाहरू थपिँदैछन्। नयाँ छत राख्ने, बार्दली थप्ने र नयाँ भर्याङ निकाल्ने काम भइरहेका छन्।
‘अहिलेको जमानामा आधुनिक तरिकाले घर बनाउनु स्थानीयको बाध्यता होला, तर यसले सम्पदाको मर्म बिगार्छ,’ उनले भने, ‘विश्व सम्पदामा सूचीकृत हुने हो भने स्थानीयले यत्ति सम्झौता त गर्नैपर्छ।’
कुरै कुरामा उनले भित्री बस्तीका पुराना घरहरू गाभेर एकीकृत आवास योजना (हाउसपुलिङ) लागू गर्ने प्रस्ताव सम्झे।
‘त्यो एकदमै खतरनाक प्रस्ताव थियो, त्यसले यहाँको परम्परागत ढाँचा मास्थ्यो। त्यस्तो योजना सानेपामा लागू गर्न सकिन्छ, तर पुरानो बस्तीमा हुँदैन,’ उनले भने, ‘धन्न त्यो योजना बन्द भयो, तर भोलि कसैले फेरि ब्युँताउन के बेर?’
क्रिश्टिनले भनेका यी न्यूनतम सर्तहरू पूरा गर्न कठिन छ, तर असम्भव छैन।
काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले तयारी गरिरहेको प्राचीन बस्ती ब्युँताउने योजनामा क्रिश्टिनले भनेका यी सबै सर्त समेटिएका छन्। त्यसमा काठमाडौंको पुरानो बस्तीमा सवारी आवागमन निषेधदेखि भित्री बस्तीका घरलाई परम्परागत ढाँचामा पुनर्निर्माण र गल्ली, बहालहरू संरक्षण गर्ने योजनासमेत छ। (हेर्नुस्ः प्रिय विद्यासुन्दरजी, आफ्नो छवि सुधार्ने यो मौका नगुमाउनुस्)
मानौं, महानगरको यो योजना लागू भयो र काठमाडौंले युनेस्कोका सर्तहरू पालना गर्यो, अनि के?
न्यूनतम सर्तहरू पूरा गरेपछि सरकारले कुन स्थल सम्पदा सूचीमा राख्ने निर्णय गरेर युनेस्कोमा मनोनयन प्रस्ताव दर्ता गर्नुपर्छ। प्रस्ताव चित्त बुझ्यो भने युनेस्कोले प्रारम्भिक वा ‘टेन्टेटिभ’ सूचीमा राख्छ। त्यसपछि विश्व सम्पदाको मुख्य सूचीमा चढ्न थप मापदण्डहरू पूरा गर्नुपर्छ। यसका लागि कम्तिमा एकदेखि पाँच वर्ष लाग्ने उनले बताए।
नेपालका १५ वटा स्थल प्रारम्भिक सूचीमा छन्।
पनौतीको मध्यकालीन संरचना, तिलौराकोटका पुरातात्विक अवशेष, मुक्तिनाथका गुफा, गोरखा दरबार, नवलपरासीको रामग्रामस्थित गौतम बुद्धको छैठौं शताब्दीको मूर्ति र खोकना गाउँ सन् १९९६ मै प्रारम्भिक सूचीमा परेका हुन्।
यसबाहेक लोमान्थाङ, साँखुको प्राचीन बस्ती, कीर्तिपुरको मध्यकालीन बस्ती, रूरू क्षेत्रको ऋषिकेश, नुवाकोट दरबार, जनकपुरको रामजानकी मन्दिर, तानसेनको मध्यकालीन बस्ती, सिन्जा उपत्यका र दैलखेको भुर्ती मन्दिर सन् २००८ मा सूचीकृत भएका हुन्।
नेपालको प्रक्रिया कतिसम्म सुस्त छ भने, २००८ यता प्रारम्भिक सूचीमा नयाँ सम्पदा स्थल थप्न एउटा पनि प्रस्ताव पठाएको छैन।
यति मात्र होइन, प्रारम्भिक सूचीमा परेका स्थललाई मुख्यसूचीमा चढाउन पनि पहल गरेको छैन। जनकपुरको राममन्दिर र तिलौराकोटका पुरातात्विक अवशेषलाई मुख्यसूचीमा राख्न छलफल अघि बढे पनि सरोकारवाला निकायले विस्तृत प्रस्ताव पठाउन बाँकी छ।
काठमाडौंका जात्रापर्वलाई युनेस्कोको अमूर्त सम्पदामा सूचीकृत गर्न भने क्रिश्टिन आफैं उत्साहित देखिए।
चार वर्षको काठमाडौं बसाइमा उनले यहाँका सबैजसो जात्रा प्रत्यक्ष अनुभव गरेका छन्। आफू संस्कृति पृष्ठभूमिको भएकाले ती जात्राको विशिष्टता उनले राम्ररी बुझेका छन्।
‘यहाँका जात्राहरू अरू देशमा जस्तो कुनै उत्सव वा पर्वमा सीमित छैनन्,’ उनले भने, ‘जनताको दैनिक जीवनयापन र परम्परासँग जोडिएका छन्। मान्छेको आस्थासँग जोडिएका छन्। यसलाई अमूर्त सम्पदाका रूपमा सूचीकृत गरेर संरक्षण गर्न सकिन्छ।’
यहाँका जीवित संस्कृतिलाई दीगो रूपमा संरक्षित गर्न पनि विश्व सम्पदा सूचीकरणले मद्दत गर्ने उनको ठम्याइ छ।
‘भोलिका दिनमा यी जात्रापर्व र संस्कृतिहरू सरकारको प्राथमिकतामा पर्लान् कि नपर्लान् थाहा हुन्न। पुस्तान्तरसँगै यसको महत्व पनि घट्दै जान सक्छ। एकचोटि विश्व सम्पदामा सूचीकृत भएपछि सरकारले यसको संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रतिबद्धता जनाउनुपर्छ,' उनले भने, ‘केही तलमाथि भए प्रश्न उठाउने निकाय हुन्छ, अनुगमन हुन्छ र संरक्षणको पहल हुन्छ।’
अर्को कुरा, सम्पदा सूचीमा चढेपछि यी जात्राहरू संसारभरका पर्यटकको नजरमा पर्नेछन्। धेरैभन्दा धेरै पर्यटक हेर्न आउँछन्। जात्रा चलाउन आर्थिक समस्या परे अन्तर्राष्ट्रिय समुदायबाट रकम जुटाउन सजिलो पर्छ।
‘सम्पदा सूचीमा परेका स्थल वा सांस्कृतिक पर्वलाई आर्थिक सहायता गर्न दाताहरू सजिलै तयार हुन्छन्। यस्ता सम्पदा वा संस्कृतिमा लगानी गर्नुलाई गौरवको विषय मानिन्छ,’ उनले भने।
हामीसँग परिकार छ र मेनु बनाउने निकायले त्यसको स्वाद पनि मन पराएको छ भने विश्व सम्पदाको मेनुमा चढ्न के ले रोकेको छ त?
‘नेपालबाटै प्रस्ताव आउनुपर्यो, नेपालले अहिलेसम्म मनोनयनका लागि प्रस्तावै पठाएको छैन,’ उनले भने, ‘सरकारले यी जात्रापर्वको विशेषता के–के हो र यिनीहरू कसरी समुदायसँग जोडिएका छन् भन्ने खुलाएर प्रस्ताव पठाउनुपर्छ।’
यस्तो प्रस्ताव युनेस्को सल्लाहकार समितिले मूल्यांकन गर्छ। अन्तिम निर्णय भने युनेस्कोको विश्व सम्पदा समितिले गर्छ। समितिमा २१ जना सदस्य छन्। यी सदस्य १ सय ८४ सदस्य राष्ट्रका तर्फबाट निर्वाचित प्रतिनिधि हुन्। उनीहरूले सल्लाहकार समितिको सिफारिस मान्न पनि सक्छन्, वा आफ्नै स्वविवेकले निर्णय गर्न सक्छन्।
सम्पदा मेनुमा नयाँ–नयाँ परिकार थप्न सरकारले मनोनयन प्रस्ताव पठाउने क्षमता विकास गर्नुपर्ने उनले सुझाए। सरकारको क्षमता छैन भने निजी क्षेत्र वा परामर्शदाताहरू राखेर पनि यो काम गर्न सक्छ। त्यसनिम्ति के–के गर्नुपर्छ, के–कस्ता विवरण भर्नुपर्छ भनेर युनेस्कोको नेपाल कार्यालय मद्दत गर्न तयार रहेको उनले बताए।
‘नेपालसँग विश्व सम्पदामा पर्न सक्ने स्थलहरू प्रशस्त छन्, तिनलाई मनोनयन प्रक्रियामा लैजान सक्दो सहयोग गर्छौं भनेर हामीले भनिरहेका छौं,’ उनले भने।
उनको कुरा सुन्दा, संस्कृति तथा पर्यटन मन्त्रालयबाटै पहलकदमीको खाँचो देखियो।
भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै पर्यटक ल्याउन हौसिएको यो मन्त्रालयले क्रिश्टिनका सुझावलाई पनि गम्भीर भएर गमिदिए हुन्थ्यो नि!
भ्रमण वर्षको सफलता भनेको पर्यटक आगमनको तथ्यांक मात्र होइन। भविष्यका लागि हामीले कस्ता-कस्ता पर्यटकीय गन्तव्यहरू विकास गर्यौं भन्ने पनि सफलताको मानक हो।
यसपालि भ्रमण वर्षकै अवसर पारेर विश्व सम्पदामा नेपालको उपस्थिति बढाउन पहल गर्ने कि?
क्रिश्टिनसँग कुराकानी सकेर फर्किने बेला मैले एकचोटि फेरि उनको कोठामा गएर प्रदूषण नाप्ने यन्त्र हेरेँ। त्यो यन्त्रले सहरको हावामा प्रदूषणको मात्रा रातै अंकमा देखाउँदै थियो।
धन्न युनेस्कोले विश्व सम्पदाको ‘रेटिङ’ गर्दा प्रदूषणलाई आधार मान्दैन, नभए काठमाडौंका सबै सम्पदा स्थलहरू ’रातो’ मा चढिसक्ने रहेछन्!
सबै तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी