उच्च अदालत पाटनले रूकुमकी सिस्ने हिमाल (नाम परिवर्तन)को बेचबिखन गर्नेलाई अभियोगबाटै छुटकारा दिने अनुसन्धान अधिकृत, सरकारी वकिल साथै मुद्दा लागेका अभियुक्तलाई सफाइ दिने जिल्ला न्यायाधीशमाथि टिप्पणी उठाएको छ।
२०७१ साल वैशाख १ गते उनलाई रूकुमकै ज्ञानेन्द्र चनरा र उनकी पत्नी रेणुका, काठमाडौंका श्याम डंगोल र सुनिता मुरमुरले रूकुमबाट काठमाडौं ल्याएर विराटनगर, काँकडभिट्टा हुँदै भारत पुर्याएका थिए।
भारतको कलकत्ताबाट दुबई हुँदै सिरिया पुर्याएर बेच्न भने सुनसरीका भक्ते परियार, टोपेन्द्र अधिकारी (टोपलाल अधिकारी) र कल्पना सार्कीले मुख्य भूमिका खेलेको भन्दै सिस्ने हिमालले जाहेरी दिएकी थिइन्।
ज्ञानेन्द्र, सुनिता र श्यामलाई प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो। जसमध्ये जिल्ला अदालतबाट श्यामलाई १० वर्ष कैद भए पनि ज्ञानेन्द्र र सुनिताले भने सफाइ पाएका थिए।
जिल्ला अदालतले कम सजाय गरेका श्याम डंगोल र सफाइ पाएका ज्ञानेन्द्र चनरा र सुनिता मुरमुरलाई जनही २० वर्ष कैद, २ लाख जरिवाना र पीडितलाई २ लाख नै क्षतिपूर्तिको फैसला गर्दै न्यायाधीश यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले यस्तो टिप्पणी पनि उठाएको हो। यो फैसला असार ३१ गते गरे पनि फैसलाको पूर्णपाठ भने केही समयअघिमात्रै आएको छ।
जिल्ला अदालतका न्यायाधीश कैलाश सुवेदीले डेढ वर्षअघि श्याम डंगोललाई १० वर्ष कैद, ज्ञानेन्द्र चनरा र सुनिता मुरमुरलाई सफाइ दिने फैसला गरेको थियो।
उच्च अदालत पाटनले उक्त फैसला नमिलेको ठहर गर्दै भन्यो- पीडितलाई काठमाडौंदेखि कलकत्ता दुबई हुँदै सिरियासम्म पुर्याएर बिक्री गरेको भन्ने तथ्य वस्तुनिष्ठ प्रमाणहरूबाट स्पष्ट रूपमा प्रमाणित रहेको अवस्थामा अभियुक्त श्यामलाल ढंगोललाई मिल्दै नमिल्ने दफाअनुसार सजाय गरिएको र ज्ञानेन्द्र र सुनितालाई सफाइ दिने गरी काठमाडौं जिल्ला अदालतका न्यायाधीश कैलाश सुवेदीबाट २०७५ असार ३१ गते भएको फैसला उल्टी हुन्छ।
न्यायाधीश सुवेदीले यस्तो फैसला गरेर गम्भीर कानूनी त्रुटी गरेको उच्च अदालतको टिप्पणी छ।
'मुद्दा चलाइएकामध्ये श्यामलाल डंगोललाईमात्र र त्यसमा पनि असम्बद्ध कानूनी दफा प्रयोग गरी अभियोग दाबीभन्दा कम सजाय ठहर गरेको र उनैसरहका ज्ञानेन्द्र चनरा र सुनिता मुरमुरलाई सफाई हुने गरी भएको फैसलामा गम्भीर कानूनी त्रुटी देखिन आएको हुँदा यो इजलास प्रस्तुत टिप्पणी उल्लेख गर्न उपयुक्त ठान्दछ,' फैसलामा भनिएको छ।
न्यायाधीशले गम्भीर कानुनी त्रुटी गरे न्यायपरिषदले कारबाही गर्छ। टिप्पणी उठेको फैसलाबारे कुनै हिसाबले जानकारी आएपछि परिषदले अध्ययन गर्ने, गम्भीर त्रुटी भेटिए अनुसन्धान र कारबाही प्रकृया थालिने परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए।
सिस्ने हिमालले भने आफूलाई बेचविखन गर्ने कार्यमा यी तीनबाहेक भक्ते परियार, कल्पना सार्की र टोपेन्द्र अधिकारी पनि थिए भन्दै जाहेरी दिएकी थिइन्।
जाहेरीमा उल्लेखित भक्ते परियार, कल्पना सार्की र टोपेन्द्र अधिकारी तथा पीडितलाई प्रलोभन पार्नेदेखि सिरियासम्म पुर्याउने रेणुका चनरालाई अनुसन्धानको दायरामा नल्याउने र अभियोजन पनि प्रहरी र सरकारी वकिलको कार्य बदनियतपूर्ण देखिएको टिप्पणी उच्च अदालतले गरेको छ।
उनीहरूलाई मुलुकी अपराध संहिता अन्तर्गत कारबाही गर्नुपर्ने देखिएको उक्त टिप्पणीमा उल्लेख छ।
'पीडितको पीडालाई आत्मसात् गरी कसूरमा संलग्न व्यक्तिहरू सबैमाथि अपराध अनुसन्धान गरी उनीहरू सबैलाई मुद्दा चलाउनु पर्नेमा अपराधको मुख्य संयोजनकर्तामध्येका रेणुका चनराजस्ता मुख्य व्यक्तिलाई कुनै अभियोजन नै नगरी अपराधबाट उन्मुक्ति दिलाएको देखिन आयो,' पाटन उच्च अदालतको फैसलामा भनिएको छ, 'साधै अपराधीलाई कानूनबमोजिम कसूरको मात्राअनुसार सजाय हुनु पर्नेमा किटानी जाहेरीभित्रका ती केही मुख्य व्यक्तिहरूको हकमा मुद्दा नै नचलाइएकोमा सम्बद्ध अनुसन्धान अधिकृत र अभियोजनकर्ता उपर मुलुकी अपराध संहिता २०७४ को दफा ९९ आकर्षित हुने अवस्था देखिन्छ।'
उक्त दफामा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने भनिएको छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले फैसलामा टिप्पणी उठाइएको भए त्यसको औपचारिक जानकारी अदालतले पठाएमात्र कारबाही प्रकृया सुरू हुने बताए।
'फैसलामा अनुसन्धान र अभियोजनकर्तालाई टिप्पणी उठाएरमात्र कारबाही हुँदैन त्यो टिप्पणी महान्यायाधीवक्ता कार्यालयलाई लेखी पठाउनु भन्ने पनि हुनुपर्यो। त्यसो भए बल्ल कारबाही प्रकृया अघि बढ्छ। फैसलामा लेखिएको कुरा अदालतले जानकारी गराएर पत्र लेख्यो भने पनि कारबाही अघि बढ्छ,' उनले भने, 'हामीलाई यस्तो फैसला भएको पनि थाहा थिएन।'
पीडित सिस्ने हिमालले भने उच्च अदालतको फैसलाले न्याय दिएको बताइन्। तर आफूलाई सिरिया पठाउने भक्ते परियार, कल्पना सार्की र टोपराज अधिकारीलाई पनि कानूनी कठघरामा ल्याएपछि मात्र आफ्नो मन शान्त हुने उनको भनाइ छ।
‘अदालतले तीन जनालाई मात्रै गरेको सजाय त ठीक लाग्यो, मलाई बेच्ने अझ ३ जना त खुलेआम घुमेका छन् उनीहरू जेल नपुगी मलाई पूरै न्याय हुन्न,’ उनले सेतोपाटीसँग भनिन्, ‘उनीहरू जेल नजाउन्जेल म सुरक्षित हुन्छुजस्तो पनि लाग्दैन।’
२०७१ साल वैशाख १ गते ज्ञानेन्द्र, सुनिता र श्याम डंगोलले उनलाई रूकुमबाट काठमाडौं ल्याएर विराटनगर काँकडभिट्टा हुँदै भारत पुर्याएका थिए। पाँच दिनपछि भारतको कलकत्ताबाट दुबई हुँदै सिरिया पुर्याएर उनलाई बेचिएको थियो।
सिस्ने हिमाललाई डंगोलले कम्पनीमा काम लगाइदिने लोभ देखाएका थिए। डंगोलसँग भने ज्ञानेन्द्र चनराले भेटाएका थिए। सिस्ने हिमाललाई कलकत्ता पुर्याएर उनीहरूले भक्ते परियार र टोपराज अधिकारीको जिम्मा लगाएका थिए।
ती दुबैले सिस्ने हिमालसहित ५ जना केटीलाई कलकत्तादेखि दुबई पठाए। त्यहाँबाट उनीहरूकै च्यानलका एक व्यक्तिले सिरिया पठाएका थिए।
सिरिया पठाएपछिमात्र आफूलाई ७ हजार अमेरिकी डलरमा बेचिएको थाहा पाएको सिस्ने हिमालले अदालतमा बयान दिएकी थिइन्।
सिरियामा भएको यो समूहको अफिसले उनलाई एउटा घरमा काम गर्न भन्दै पठाएको थियो।
त्यहाँ आफूलाई खान नदिने, यौन शोषण गर्ने, कुटपिट गर्ने, काम गरेको पैसा नदिनेलगायतका शोषण गरेको सिस्ने हिमालले अदालतसमक्ष बयान दिएकी थिइन्।
तीन महिना काम गरेपछि उनी बिरामी परिन्। त्यो परिवारले उनलाई अफिस फर्काइदिएको थियो। त्यो अफिसका कर्मचारीले आफूलाई दिनदिनै यातना दिने गरेको सिस्ने हिमालले बताइन्।
सिरियाको दमास्कसस्थित उक्त अफिसमा दुई महिना बसेपछि उनले लुकेर परिवारसँग सम्पर्क गरेकी थिइन्।
परिवारले अफिसमा दुई लाख पैसा पठाइदिएपछि उनलाई फर्काइएको थियो।
फर्केर आएलगत्तै उनले ज्ञानेन्द्र, श्याम डंगोल, सुनिता मुरमुर, भक्ते परियार, टोपराज अधिकारी र कल्पना भन्ने एक महिलाले मिलिजुली आफूलाई बेचेको भन्दै जाहेरी दिएकी थिइन्।
सुरूमा प्रहरीले उनको जाहेरी लिएन। चार महिनापछि विभिन्न संघसंस्थाको सहयोगमा बल्ल उनले प्रहरीमा जाहेरी दर्ता गराउन सफल भइन्।
जाहेरी दर्ता भएको एक वर्षपछि ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि श्याम र सुनितालाई पक्राउ गर्यो।
प्रहरीले सबैविरूद्ध मुद्दा लगे पनि सरकारी वकिलले भने भक्ते परियार, टोपराज अधिकारी र कल्पनालाई फरार रहेको र ठेगाना नमिलेको भन्दै मुद्दा चलाएन।
जबकी सिस्ने हिमालले सिरियाको अफिसबाट फेला पारेर ल्याएको ६ जनाकै ठेगाना र पासपोर्टको फोटोकपी प्रहरीलाई बुझाएकी थिइन्।
सिस्ने हिमालले प्रहरीमा उजुरी दिएपछि ज्ञानेन्द्र र श्यामको समूहले उनलाई मुद्दा फिर्ता लिन धम्की दिएका थिए।
रूकुम घर भएकी सिस्ने हिमाल एक वर्षदेखि काठमाडौंमा छिन्। ज्ञानेन्द्रलाई अदालतले छोडिदिएपछि उनले ज्यान मार्नेसम्मका धम्की दिएकाले घर छोड्नु परेको उनले बताइन्।
‘उनीहरूले मलाई नसकेपछि छोरीलाई मार्ने धम्की दिए अनि मैले घर छोड्नु पर्यो,’ सिस्ने हिमालले सेतोपाटीसँग भनिन्, ‘मुद्दा काठमाडौंमै भएकाले म यहीँ आएकी हुँ।’
यो पनि पढ्नुस्: