मंसिर १५ देखि आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी सहभागी हुन नपाउने भएका छन्।
दुई साताअघि 'नाइट क्लब' प्रकरणका कारण राष्ट्रिय टिमबाट बर्खास्तगीमा परेका तीन जनाले साग पनि गुमाउने भएका हुन्। एन्फाले कात्तिक २५ गते सागका लागि घोषणा गरेको यु–२३ टिममा तीन जनाले स्थान बनाएका थिए। राष्ट्रिय टिमबाट बर्खास्तगी पारेका अर्का फुटबलर सन्तोष तामाङ भने साग खेल्ने टिममा समावेश थिएनन्।
एन्फाले घटनाबारे अनुसन्धान जारी राख्दै उनीहरु तत्कालका लागि सागमा सहभागी नगराउने निर्णय गरेको हो।
यसअघि 'नाइट क्लब' मा गएर नियमबिपरित मदिरा सेवन गरेका कारण चार जनाले कुवेतविरुद्धको विश्वकप छनोटको खेल गुमाएका थिए।
साग उनीहरुको सट्टामा सागमा बैकल्पिक खेलाडीले मौका पाउने भएका छन्। राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनले अब साग खेल्न पाउने भएका छन्। तीनै जनालाई यु–२३ टिमको प्रशिक्षणमा बोलाइएको छ।
साग फुटबलमा नेपालसहित बंगलादेश र भुटान समूह 'ए' मा छन्। भारत, माल्दिभ्स र श्रीलंका समूह 'बी' मा परेका थिए। यद्यपी भारतीय टिमले साग नखेल्ने बताइएको छ। नेपालले मंसिर १५ गते उद्घाटन खेलमा बंगलादेशसँग खेल्ने कार्यक्रम छ।
यो पनि : राष्ट्रिय टिमबाट बर्खास्त चार फुटबलरमाथि थप अनुसन्धान हुने