३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो, कराते र आर्चरीमा सहभागिता जनाउनका लागि भारतले गरेको आग्रहलाई नेपालले अस्वीकार गरेको छ।
आगामी मंसिर १५ देखि नेपालमा हुने १३औं सागको खेलाडी दर्ता मिति चार दिनअघि नै सकिएको थियो।
तर भारतले तेक्वान्दो, कराते र आर्चरीमा दर्ता मितिको म्याद सकिएपछि सहभागी गराउन नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गरेको थियो।
'हामी आर्चरी, तेक्वान्दो र करातेलाई सहभागी गराउन सक्दैनौ,' नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले भारतीय ओलम्पिक कमिटीलाई पठाएको पत्रमा भनिएको छ।
आर्चरीको हकमा भने दक्षिण एसियाली आर्चरी महासंघले भारत सहभागी हुन नपाउने यसअघि नै निर्णय गरेको थियो।
नेपालले भारतको आग्रहलाई अस्वीकार गरेसँगै भारतले गर्ने भनिएको करातेको छनोट रद्द भएको छ। यसअघि भारतले मंगलबार करातेको छनोट भुवनेश्वरमा गर्ने जनाएको थियो।
तीन वटै खेल ओलम्पिक खेल भएकाले सागमा सहभागी हुन भारतले अन्तिमसम्म प्रयास गरेको हो। तर यी संघमा भएका अन्तरिक विवादका कारण भारतले क्षेत्रीय खेलकुदको कुम्भमेला गुमाउने भएको छ।
करातेको दुई वटा संघ हुँदा २०१६ मा भारतको सिलोङ र गुवाहाटीमा भएको १२औं सागमा प्रतिस्पर्धा नै भएको थिएन।
गत संस्करणमा भारतले आर्चरीमा सबै १० स्वर्ण र तेक्वान्दोमा १३ मध्ये ५ स्वर्ण जितेको थियो।
तेक्वान्दोमा अफगानिस्तानले सर्वाधिक ६ स्वर्ण हात पारेको थियो। नेपाल भने ७ रजतमै सीमित बनेको थियो।
अघिल्ला सागमा तेक्वान्दोमा राम्रो प्रदर्शन गरेका भारत र अफगानिस्तान यसपटक सहभागी हुनेछैनन्। जसले नेपाललाई फाइदा पुग्न सक्छ।
यसपटकको सागमा करातेमा १९ स्वर्ण, तेक्वान्दोमा २९ स्वर्ण र आर्चरीमा १० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
भारतले कराते छनोटका लागि निकालेको सूचना