अर्को सातादेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत टेबलटेनिस खेलमा नेपालले कूल सात पदक भित्र्याउने लक्ष्य लिएको छ।
सन् १९८७ भारतको कोलकातामा भएको तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूदबाट शुरुआत गरेको टेबलटेनिस खेलमा नेपालले यसपटक एक स्वर्ण, दुई रजत र चार कास्य पदक भित्र्याउने लक्ष्य लिएको हो।
सन् १९८४ मा नेपालबाट नै शुरुआत गरिएको दक्षिण एशियाली खेलकूद (तत्कालीन दक्षिण एशियाली महासङ्घीय खेलकूद–साफ) को शुरुआती दुई संस्करणमा भने टेबल टेनिस खेल समावेश गरिएको थिएन।
त्यसयता टेबल टेनिस खेलको निरन्तर सहभागिता रहँदै आएको छ। टेबल टेनिस खेलमा हालसम्म नेपालले १९ पदक ल्याएको छ। जसमा एक स्वर्ण, तीन रजत र १५ कास्य पदक छन्।
सन् १९९३ बाहेक नेपालले टेबल टेनिसमा कुनै न कुनै पदक भित्र्याएको अखिल नेपाल टेबल टेनिस सङ्घका महासचिव शङ्कर गौतमले बताए।
घरेलु मैदानमा नै हुन लागेको सागमा टेबल टेनिस खेलले उत्कृष्ट प्रर्दशन गर्ने सङ्घको विश्वास छ।
महासचिव गौतमले अन्य देशको तुलनामा नेपाली खेलाडीले फरक तरिकाले खेल्ने भन्दै स्वर्ण जित्ने लक्ष्यसहित नेपाली टिमले तयारी गरिरहेको बताए।
उनका अनुसार नेपालले तीन बल एट्याकमा खेल्छ भने अन्य देश र्याली फर्मुलामा खेल्छन्।
सन् १९९१ मा श्रीलङ्काको कोलम्बोमा भएको पाँचौँ संस्करणको सागमा भारतलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको थियो।
साग इतिहासमा टेबल टेनिसले हात पारेको सबैभन्दा ठूलो सफलता नै त्यही हो। त्यसयता नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।
पाँचौं संस्करणको सागमा त्यतिबेला, सिर्जना शाह, पूजा थापा, गीता क्षेत्री र निलम तुलाधरले महिला टिम इभेन्टको फाइनलमा भारतलाई हराउँदै स्वर्ण जितेका थिए।
यसपटकको सागमा टेबल टेनिसतर्फ विभिन्न सात विधामा प्रतिस्पर्धा हुनेछ।
एकल, डबल र टिममा महिला-पुरुष दुवैको हुनेछ। महिला र पुरुषको मिक्स डबल इभेन्ट हुनेछ।
सात स्वर्णका लागि प्रतिस्पर्धा हुने टेबल टेनिस खेल मङ्सिर १६ देखि २० गतेसम्म काठमाडौँको लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ।
टेबल टेनिसका १० खेलाडी हाल थाइल्याण्डको बैंककमा प्रशिक्षणरत रहेका छन्।
उनीहरु यही मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको सङ्घले जनाएको छ। सागको लागि छनोट हुने पुरुष खेलाडीमा विनेश खनियाँ, स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली छन्।
त्यसैगरी महिलामा रविना महर्जन, नविता श्रेष्ठ, दिक्षा तामाङ, एलिना महर्जन र सिका सुवाल छन्।
'अन्य राष्ट्रले समेत लामो समयदेखि तयारी गरेकाले साग प्रतिस्पर्धात्मक हुनेछ', महासचिव गौतमले भने।
सागमा नेपालबाट कूल ५९९ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा ३१२ पुरुष र २८७ महिला खेलाडी छन्।
त्यस्तै सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ।
(राससका लागि मुना कार्की)