१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भारतले पनि भाग लिने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजक नेपाललाई भारतीय तेक्वान्दो खेलाडीलाई सहभागी गराउन पत्राचार गरेपछि १३औं सागमा भारतको पनि सहभागिता हुने भएको हो।
तर कराते र आर्चरीमा भारत सहभागिताका लागि गरेको प्रयास भने असफल भएको छ। कराते र आर्चरीमा अन्तरिक विवादका कारण भारतले दक्षिण एसियाको कुम्भमेलामा सहभागिता जाउन सकेन। यद्यपी भारतले कराते र आर्चरीमा सहभागिताका लागि नेपाल ओलम्पिक कमिटीलाई आग्रह गरेको थियो।
मंसिर १५ देखि नेपालमा हुने १३औं सागको खेलाडी दर्ता मिति ८ दिनअघि नै सकिएको थियो। तर भारतले तेक्वान्दो, कराते र आर्चरीमा दर्ता मितिको म्याद सकिएपछि सहभागी गराउन नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गरेको थियो।
आर्चरीको हकमा भने दक्षिण एसियाली आर्चरी महासंघले भारत सहभागी हुन नपाउने यसअघि नै निर्णय गरेको थियो। करातेको लागि गत मंगलबार भुवनेश्वरमा छनोट गर्ने भनिएको थियो।
यो पनि :- तेक्वान्दोमा स्वर्णबिनाको पदक के पदक!
तेक्वान्दोमा अन्तर्राष्ट्रिय ओललम्पिक कमिटी र विश्व तेक्वान्दोको पत्राचार गरेकाले भारतले प्रतिस्पर्धा गर्न पाउने भएको हो।
यसपटकको सागमा तेक्वान्दोमा २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।
गत संस्करणमा भने १३ स्वर्णका लागि भिडन्त भएको थियो। जसमा भारतले ५ स्वर्ण जितेको थियो। तेक्वान्दोमा अफगानिस्तानले सर्वाधिक ६ स्वर्ण हात पारेको थियो। नेपाल भने ७ रजतमै सीमित बनेको थियो।