दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणअन्तर्गत महिला भलिबलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ।
शनिबार हुने सेमिफाइनल समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उपविजेता माल्दिभ्स तथा समूह ‘ए’ उपविजेता नेपालले समूह ‘बी’ को विजेता श्रीलंका विरुद्ध खेल्ने छन्।
श्रीलंकालाई हराएमा नेपालले रजत पदक जित्ने पक्का हुनेछ। श्रीलंकासँग पराजित भए पनि नेपालले कास्य पदकका लागि खेल्न पाउनेछ। कास्य पदकका लागि अर्को सेमिफाइनलमा पराजित हुने टिमसँग खेल्नु पर्नेछ।
नेपाल र श्रीलंकाबीचको दोस्रो सेमिफाइनल शनिबार साँझ ७ बजे हुनेछ।
शुक्रबार महिलाको प्रतिस्पर्धामा भारतले बंगलादेशलाई २५–८, २५–११ र २५–९ तथा श्रीलंकाले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ ले पराजित गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषको खेलमा भारतले घरेलु टोली नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउदै समूह ‘ए’ को विजेताको हैसियतले सेमिफाइनलमा पुग्यो। पराजयसंँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। यो समूहबाट बंगलादेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गर्यो।
पुरुषकै अर्को खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१८, २५–२३ र २५–१७ को जित दर्ता गर्यो ।समूह चरणको दुवै खेलमा पराजित भएपछि माल्दिभ्सको चुनौती समाप्त भइसकेको छ।
समूह ‘बी’ को अन्तिम खेल सेमिफाइनल पुगिसकेका दुवै टोली श्रीलंका र पाकिस्तानबीच शनिबार हुने छ। त्यो खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ।