आइतबार दशरथ रंगशालामा उद्घाटन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको राष्ट्रिय झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्।
नेपाल ओलम्पिक कमिटीले कमलले झण्डा बोक्ने जनाएको हो। यसअघि १३औं सागको प्राविधिक समितिले भने राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गरेको थियो।
क्रिकेट ओलम्पिक खेल नभएकाले पारसको सट्टामा कमलको नाम पक्का गरिएको हो।
काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ।
दशौं सागका स्वर्ण विजेता कमलले दोस्रो पटक साग खेल्न लागेका हुन्। यसअघि कमलले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि नेपालको झन्डा बोकेका थिए।
सन् २००६ मा श्रीलंकामा आयोजना भएको दसौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक हासिल गर्दै उनले सनसनी मच्चाएका थिए। नेपाली सेनाका कमलले ६९ केजी तौल समूहमा नेपालका लागि पहिलो स्वर्ण जितेका थिए, साग गेम्सकै इतिहासमा।
त्यसयता उनले ओलम्पिकमा पनि भाग लिए। सन् २०१८ को जकर्ता एसियाडमा भाग लिँदा कमलले लगातार चौथो पटक प्रतिस्पर्धा गरेका थिए।
दुई वर्षअघि दक्षिण कोरियाको इन्चोनमा एसियन सिनियर कप र एसियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपको नाममा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो। यसमा सहभागी भएका उनले ६ वटा पदक (३–३ कास्य) जितेर अर्को कीर्तिमान बनाए। त्यतिबेला उनी ७७ केजीमा उत्रिएका थिए। कमलले ७७ केजी स्न्याचमा १ सय १७ र क्लिन एन्ड जर्कमा १ सय ४० केजीसहित कुल २ सय ५७ केजी तौल उठाए।
साग गेम्समा स्वर्ण जित्ने एक्लो नेपाली खेलाडीको इतिहास बोकेका कमलले एसियाली स्तरको प्रतियोगितामा पदक जितेको पनि पहिलो थियो।
एक दशकअघि साग गेम्समा ऐतिहासिक पदक जितेपछि उनी एकाएक सेलिब्रिटी बनेका थिए। उनको बाल्यकालको कहानीले अखबारका पाना भरिए।
सानैदेखि गह्रौं कुरा उचाल्ने र भारी बोक्ने काममा छरितो थिए, कमल। उनले पढ्न भन्दा घरको काममा बढी ध्यान दिन्थे।
चितवनस्थित गीतानगरका कमल ०५४ सालमा नेपाली सेनामा भर्ना भए। त्यसको दुई वर्षमै जीवनले नयाँ मोड लियो। उनी त्रिभुवन आर्मी क्लबका लागि छनोट भए। गणमा असजिलो र गाह्रो सामान उचाल्ने काम पनि छिटो र सहज रुपमा गर्थे, कमल।
त्यसैले त्रिभुवन आर्मी क्लबमा उनको नाम सिफारिस हुँदा उनलाई गणकै बलियो सिपाहीको उपमा दिइएको थियो।
तीन वर्षको नियमित प्रशिक्षणपछि कमलले २०५९ सालमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा ६२ केजी तौल समूहमा स्वर्ण जिते। त्यसयता उनले भाग लिएको राष्ट्रिय प्रतियोगितामा दोस्रो हुनुपरेको छैन, सधैं स्वर्ण हात पारेका छन्।
कमलले सन् २००६ को साग गेम्सपछि दोहा एसियाडमा सहभागिता जनाए। उनले २०१० को चीनको ग्वान्झाउ र २०१४ को दक्षिण कोरियाको इन्चोन एसियाडमा गरी तीन वटा एसियाडमा भाग लिइसकेका छन्।
सन् २०१० मा बंगलादेशमा आयोजना भएको साग गेम्समा आफ्नो सानो गल्तीका कारण पदक जित्नबाट चुकेका कमल २०१६ मा भारतमा भएको सागमा भने सहभागिता जनाउन पाएनन्। शान्ति सेनाको मिसनमा कंगो गएका कारण उनले भारतमा भएको साग गेम्स गुमाउनुपर्यो।
सन् २००८ को बेइजिङ ओलम्पिकलाई उनी जीवनको अविस्मरणीय क्षण मान्छन्।