१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ।
शनिबार त्रिपुरेश्वरस्थित कबर्डहलमा भएको सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेपछि नेपाल फाइनल पुगेको हो। सागमा नेपाली महिला भलिबलमा फाइनलमा पुगेको यो पहिलो पटक हो।
नेपालले पहिलो सेट २५-१४ ले सहज रुपमा जितेको थियो। दोस्रो सेटमा पनि नेपाल खेलमा हाबी भयो। दोस्रो सेटमा नेपाल २५-१८ ले विजयी भयो।
तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो। नेपालले तेस्रो सेट २५-२१ ले जित्दै फाइनलमा स्थान पक्का गर्यो।
अब नेपालले स्वर्णका लागि सोमबार भारतसँग खेल्नेछ। हार बेहोरेको अवस्थामा पनि नेपालले जितेको रजत ऐतिहासिक हुनेछ।
यद्यपी नेपाली महिला भलिबल टिम सागमा पदकबिहीन बन्न परेको छैन। सागमा सहभागी भएका तीन संस्करणमै नेपालले कास्य पदक जितेको थियो।
यसअघि सागमा नेपाली महिला भलिबलले कास्य पदक मात्र जितेको थियो। सन् २०१६ मा भारतमा भएको १२औं सागमा नेपालले कास्य जितेको थियो। त्यसैगरी सन् १९९९ र २००६ को सागमा पनि नेपालले कास्य पदक हात पारेको थियो।
भारत पनि आजै भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेर फाइनलमा पुगेको हो।
पराजित भएका माल्दिभ्स र श्रीलंकाबीच कास्य पदकका लागि खेल हुनेछ।
नेपाली महिला भलिबल टिमले यसै महिना बंगलादेशमा भएको सेन्ट्रल जोन च्याम्पियनसिपमा च्याम्पियन हुँदै पहिलो उपाधि जितेको थियो।