१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको खेल तालिकामा सहभागी टिमहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार दशरथ रंगशालामा आयोजित प्रि-म्याच पत्रकार सम्मेलनमा सहभागी टिमले लगातार खेल राखिएको भन्दै आपत्ति जनाएका हुन्।
साग फुटबलमा नेपाल, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटान सहभागी छन्। राउन्ड रोबिनको आधारमा हुने खेल तालिकामा टिमहरुको खेल लगातार छन्।
फिफाको नियमअनुसार एक खेल खेलेपछि कम्तिमा ४८ घन्टापछि मात्र दोस्रो खेल हुनु पर्छ।
माल्दिभ्सका प्रमुख प्रशिक्षक पिटर सेग्रेटले एन्फाले फिफाको नियम पालना नगरेको बताए।
'लगातार खेल राखेर फिफाको नियम उल्लङ्घन गरिएको छ,' उनले भने,'म मेरो खेलाडीलाई लगातार खेलाएर मर्नका लागि पठाउन सक्दिन।'
उनले भारत सहभागी नभएपछि खेल तालिका परिवर्तन गरेको पनि आपत्ति जनाए।
'खेल तालिका सार्वजनिक भएपछि एक देशले खेल्दिन भनेपछि फेरि अर्को तालिका प्रकासित गर्नु नियमविपरित हो,' उनले भने।
यसअघि पहिले पनि खेल तालिका प्रकास गरिएको थियो। जसअनुसार समूह 'बी' मा भारत, श्रीलंका र माल्दिभ्स थिए। यस्तै समूह 'ए' मा नेपालसहित बंगलादेश र भुटान थिए।
तर भारत नआएपछि राउन्ड रोबिनमा प्रतियोगिता गर्ने एन्फाले दोस्रो पटक खेल तालिका प्रकासन गरेको थियो।
भारत नआएपछि बाँकी २ टिमलाई ३ अंक दिनु पर्ने माल्दिभ्सका प्रशिक्षकको तर्क छ।
'हामी अब खेल्ने वा नखेल्ने विषयमा फुटबल संघसँग छलफल गरेर निर्णय गर्छौ,' उनले भने।
खेल तालिकमा श्रीलंकाका प्रशिक्षक प्याकिर अलीले पनि आपत्ति जनाए।
'यस्तो खेल तालिका अहिलेसम्म देखेको थिएनँ,' उनले भने,'भारत नआएपछि बाँकी टिमलाई ३ अंक दिनु पर्थ्यो।'
उनले लगातार खेल भएकोमा पनि असन्तुष्ट जनाए। 'टिममा २० जना छन्। त्यसमा ३ जना गोलकिपर छन्। लगातार खेलेर खेलाडी घाइतेमा दोस्रो खेल कसरी खेल्थे,' उनले भने।
भुटान पनि खेल तालिका लिएर सन्तुष्ट छैन। भुटानका कप्तान चेन्चोले फिफाको नियमबिपरित खेल तालिका आएको बताए।
खेल तालिका