१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको पुरुष व्यक्तिगत कातामा मण्डेकाजी श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका छन्।
योसँगै आयोजक नेपालले स्वर्णमा खाता खोलेको छ।
सोमबार भएको प्रतिस्पर्धामा उनले पाकिस्तानका नाइमातुल्लाहलाई पराजित गर्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्।
फाइनलमा मण्डेले २५.७२ अंक ल्याए। नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए।
त्यसअघि समूह चरणमा उनले सर्वाधिक २४ अंक ल्याएर फाइनलमा स्थान बनाएका थिए। पाकिस्तान नाइमुतुल्लाहले २३.६८ अंकका साथ स्वर्णका लागि भिडन्त पक्का गरेका थिए।
यसअघि महिला व्यक्तिगत कातामा भने चञ्चला दनुवार स्वर्णबाट चुकेकी थिइन्। फाइनलमा चञ्चलालाई पाकिस्तानकी साइदाले पराजित गरेकी थिइन्।
सोमबार करातेमा व्यक्तिग र टिम काता गरी चार स्वर्ण र फाइटका ५ स्वर्णमा प्रतिस्पर्धा हुँदैछ। बुधबारसम्म चल्ने करातेमा कुल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।