ट्रायथलनमा स्वर्ण जितेकी सोनी गुरुङलाई एक लाख २५ हजार पुरस्कार दिइने भएको छ।
उनले दक्षिण एसियामा ट्रायथलनको पावर मानिने भारतलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
उनले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी हुन्।
पौडी र साइक्लिङमा पछि परेकी उनले दौडमा आफूलाई अब्बल राख्दै स्वर्ण हात पार्न सफल भएकी हुन्।
विजयी गुरुङलाई नेपाल ट्रायथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले नगद १ लाख प्रदान गर्ने घोषण गरेका छन्।
यस्तै, गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले खेलाडीलाई प्रोत्साहन स्वरूप नगद २५ हजार प्रदान गर्ने घोषण गरेका छन्। दोस्रो र तेस्रो स्थानमा भारत रह्यो।
भारतकी सरोजनी देवी १ घन्टा, १४ मिनटका साथ रजत र भारतकै प्रग्न्या मोनानले १ घन्टा १४ मिनट ५७ सेकेन्डका साथ कास्य प्राप्त गरे।
पोखराको फेवालेकमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ भने नेपाली खेलाडी वसन्त थारु कास्यमा चित्त बुझाउन बाध्य भए।
उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ६ सेकेन्डमा पूरा गरे।
पुरुषतर्फ पहिलो र दोस्रो स्थान भारतले हात पार्यो।
भारतका आदर्श एमएन सिनिमोलले निर्धारित दूरी १ घन्टा २ मिनेट ३१ सेकेन्ड र विश्वरजित साइखोमले १ घन्टा २ मिनेट ५९ सेकेन्डमा स्वर्ण र रजत प्राप्त गरे।