१३औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन तेक्वान्दोकी आयशाले दोस्रो स्वर्ण जितेकी छिन्।
पुम्सेको महिला व्यक्तिगत २९ वर्ष माथिको विधामा पहिलो स्वर्ण जितेकी आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण जितेकी हुन्।
आयशा र सञ्जिवले ८.१६० अंक जोडे। पाकिस्तानले ७.८६० अंक ल्याएर दोस्रो भयो। तेस्रो भएको बंगलादेशले ७.८५० अंक ल्यायो।
योसँगै नेपालले तेक्वान्दोबाट ५ स्वर्ण जितेको, १ रजत र २ कास्य जितेको छ। अब पुम्सेको ४ स्वर्णको छिनोफानो हुन बाँकी छ।
यसअघि १७ वर्षदेखि २३ वर्षसम्मको विधामा अस्मिन राउत र सिना मादेश लिम्बू कास्यमै सीमित भए। यो विधामा श्रीलंका पहिलो र भारत तेस्रो भयो।
यस्तै २३ देखि २९ वर्षको जोडीमा पनि नेपाल कास्यमै सीमित भयो। नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तेस्रो स्थानमा खुम्चिए।
नेपालले अहिलेसम्म १२ स्वर्ण जितिसकेको छ। नेपालले तेक्वान्दोमा ५, कराँतेमा ६ र ट्रायथलनमा १ स्वर्ण जितेको हो।