१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा फुटबल स्टेडिममा सुरू हुँदैछ।
महिला फुटबलको उद्घाटन खेल आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्ने छ।
सागअन्तर्गत नेपालले श्रीलंकासँग आमनेसामने हुन लागेको यो पहिलो पटक भने होइन। ११ औं सागमा पहिलो पटक महिला फुटबलले प्रवेश पाएपछि नै यी २ देश परिचित प्रतिद्वन्द्वी बनेका छन्। तर, नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने मानिँदैन।
सागको १२ औं संस्करण भारतमा भएको थियो। भारतको गुवाहाटीमा भएको खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो।
त्यसअघिका संस्करणमा पनि श्रीलंकाले नेपालमाथि दबाब कायम राख्न सकेको छैन।
बंगलादेशको ढाकामा ११ औं संस्करणमा प्रवेश पाएको महिला फुटबल टोलीले त्यतिबेला पनि श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो।
श्रीलंकापछि नेपाल मंसिर १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिष्पर्धा गर्ने भएको छ।
सहभागी राष्ट्र थोरै र मैदानको अवस्थाका कारण पनि प्रत्येक खेलपछि १ दिन खेल रोकिएको छ।
राउन्ड रोबिन लिगबाट शीर्षस्थानमा उक्लिने २ टिम मंसिर २३ गते फाइनलमा भिड्ने छन्।
श्रीलंकासँग भिड्न नेपाली टोली तयार छ।
पोखरा रंगशालास्थित फुटबल स्टेडियमसमेत प्रतियोगिता हुन तयार भइसकेको छ।
नेपाली टिमका प्रशिक्षक हरि खड्का घरेलु मैदानमा जितेर इतिहास खडा गर्न चाहेको बताउँछन्।
‘यो चोटी हामीले कडा मेहेनत गरेका छौं। हामीसँग घरेलु मैदान पनि छ,’ उनले भने, ‘दुवै स्ट्रेन्थ मिलाएर टाइटलका लागि तयार छौं।’
अघिल्ला संस्करणमा भारतले नेपाललाई रजतमा रोक्दै आएको छ।
पोखरा रंगशालामा हुने साग महिला फुटबलका लागि खेलाडीसहित सागका लागि ३७ जना अफिसियल टोली नेपालको प्रतिनिधित्व गर्नेछन्।
१३ औं साग महिला फुटबल प्रतियोगितामा गोल रक्षकका रूपमा एन्जिला तुम्बापो, अञ्जना रानामगर र उषानाथ छन्।
डिफेन्डरमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना उभिनेछन्। मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जलीकुमारी योन्जन, विमल चौधरी छन्। फरवार्डको जिम्मा सावित्री भन्डारी, निरु थापा, अनिता केसीले सम्हाल्ने छन्।