तेक्वान्दोमा उत्कृष्ट कमब्याक गर्दै आयशा शाक्यले १३ औं सागको पहिलो दिन सोमबार दुई स्वर्ण जितिन्। उनले तेक्वान्दोको पुम्से २९ वर्ष माथिको उमेर समूहमा स्वर्ण जित्दा भावकु बनिन्। अहिले तेक्वान्दोका कोच रहेका श्रीमान् दिपक विष्टलाई ग्वाम्लाङ अङ्गालो मारिन् र खुसी साटिन्।
सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा रजतमा सिमित बनेकी आयशाले यसपटक दुइ स्वर्ण जितिन्। आयशाले तेक्वान्दोको पुम्सेमै सञ्जिवकुमार ओझासँग मिलेर सामुहिक प्रतिष्पर्धामा पनि स्वर्ण जित्न सफल भइन्।
नेपाली तेक्वान्दोमा दिपक विष्ट र आयशा शाक्यले सन् २०१० मा बंगलादेशको ढाकामा भएको एघारौं सागमा दुवै तेक्वान्दोबाट स्वर्ण जितेका थिए । त्यसको एक वर्ष बित्न नपाउँदै यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे।
अहिले उनीहरुका दुई सन्तान छन्।
'एउटै फिल्डमा दुई जना हुँदा खेल जीवनमा सहज हुँदो रहेछ', जीतपछि आयशाले भनिन्, 'हाम्रो दुई जना छोरा छन्। एउटाले तेक्वान्दो खेल्न सुरु गरिसक्यो। उनीहरु पनि गेममा लागे खुसी हुन्छौँ।'
आयशा र दीपकको परिवारले उनीहरुलाई खेल जीवनमा लाग्न बच्चाको रेखदेखको सम्पूर्ण जिम्मेवारी उठाएको छ।
'छोराहरुलाइ समय दिन सकिएको छैन कि भन्ने लाग्छ कहिलेकाँही तर आयशा र मेरो परिवारले सहयोग गरेको छ', दीपक भन्छन्, 'एउटै प्रोफेसनमा हुँदा नराम्रो केही भएको छैन।'
दीपक खेलकुदले नै आफूहरुको पहिचान गराइदिएकाले खुसी लाग्ने बताए। 'देशको नाम राख्न सकेका छौँ। देशको झण्डा फहराउन पाउनु गर्व हो', दीपक भन्छन्, 'हामी जसरी लागेका छौँ। त्यसरी फल पनि पाएका छौँ।'
दीपक आफू भन्दा आयशा तेक्वान्दोमा क्रेजी रहेको बताउँछन्। 'मेरो रेकर्ड आयशाले तोडे मेरा लागि अहोभाग्य हुने थियो', दीपक भन्छन्, 'आयशाले तोड्ना नतोड्ला कम्तिमा मेरै खेलाडीहरुले तोड्नु भन्ने चाहाना छ।'
सागमा लगातार चार पटक स्वर्ण जित्ने रेकर्ड दीपकको नाममा छ। काखमा छोरा च्याप्दै प्रतिष्पर्धा स्थल पुगेका दीपकले भन्छन्, 'दुई छोरा लक्की रहेछन्।'
तस्बिरहरू : निशा भण्डारी