१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको फाइटमा नेपालका गंगाराम कुशवाले रजतमा चित्त बुझाएका छन्। मंगलबार भएको प्रतिस्पर्धामा उनी ७५ केजी तौल समूहमा पाकिस्तानका सादी अम्बाससँग नकआउट ०-८ अंकले पराजित भए।
समूह चरणमा भुटानका शेराब वाङ्चुकमाथि ७-१ अंकको सहज जित निकालेका गंगारामले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेनन्। उनले विपक्षीबाट एक अंक पनि बटुल्न सकेनन्।
सोमबार करातेको ९ स्वर्णको लागि भएको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको थियो। मंगलबार भने अहिलेसम्म नेपालले करातेबाट १ स्वर्ण मात्र जितेको छ। नेपालका लागि नविन रसाईले ६७ केजी तौल समूहमा स्वर्ण दिलाएका हुन्।
मंगलबार करातेको फाइट विधामा ६ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ।
१३औं सागमा नेपालले आफ्नो स्वर्ण संख्या २० यथावत छ। जसमा करातेबाट ८, तेक्वान्दोबाट ७, ट्राइथोलनबाट २, उसुबाट २ र एथलेटिक्सको दश हजार मिटरबाट १ स्वर्ण छन्।