तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार भुटानविरूद्धको खेलमा नेपाली टोलीले दोस्रो हाफमा फ्रि-किक अवसर पायो। खेलको ७६ मिनेट चल्दा नेपालले फ्रि-किकको अवसर पाएको थियो।
सो फ्रि-किक नेपाली खेलाडी मिक्चेन तामाङले प्रहार गरे। दाहिनेतिरको कर्नर फ्ल्यागको छेउबाट तामाङले फ्रि-किक प्रहार गरेका थिए।
देब्रे खुट्टाले पोस्टको तीस यार्डजति टाढाबाट हानेको सो बल गोलकिपर र गोललाइनमा रहेका डिफेन्डरलाई छक्याउँदै ‘फार पोस्ट’मा जाली चुमेको थियो।
सो आकर्षक फ्रि-किकसँगै नेपालले भुटानविरूद्ध ४-० को जित निकालेको छ।
खेलको दोस्रो हाफमा ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरेका थिए।
पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको ५२ मिनेटमा अर्को गोल थपेको थियो।
पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता दिलाएका थिए। दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपेका थिए।
यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोलेको छ।