तेह्रौं दक्षिण एसियाली खेलकुदअन्तर्गत आज भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन्।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन्।
नेपालका दीपेश धामी पाकिस्तानका मुरद अलीसँग सोझो सेटमा पराजित भए। दीपेशले मुरदलाई २१–१५ र २१–१३ को सोझो सेट सुम्पिएका हुन्।
त्यस्तै, नेपालकी नङ्साल तामाङ भारतकी गायत्री गोपीचन्दसँग सोझो सेटमै पराजित भइन्। नङ्शाल गायत्रीसँग २१–९ र २१–१४ को सेटमा पराजित भएकी हुन्। अर्को खेलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी रत्नासिरी कपुरुसँग २१–१५ र २१–९ को सेटमा पराजित भइन्।
अर्को खेलमा श्रीलंकाका दिनुका निशान परेराले बंगलादेशका मोहम्मद सल्मान खानलाई २१–१० र २१–७ को सेटमा पराजित गरे। भारतका आर्यमान टण्डनले पाकिस्तानका अवेइस जाहिदलाई १५ –२१, २१–१४ र २१–९ को सेटमा पराजित गरे।
बंगलादेशका सिग्बत उल्लाहले भुटानका अनिश गुरुङलाई २१–१७ र २१–९ को सेटमा पराजित गरे।
पाकिस्तानका पल्वाशा वशीरले मालदिभ्सका अब्दुल रज्जाक फतिमा नवाहालाई २१– र २१–११ को सोझो सेटमा पराजित गरिन्। बंगलादेशका शाल्पा अख्तरले भुटानकी सम्झना गुरुङलाई रिटायर्ड हट गरिन्।
बंगलादेशकी एलिना सुल्तानाले भुटानकी फुन्ट्सो छोदेन थिङलाई २१–५ र २१–८ को सेटमा पराजित गरिन्। अर्को खेलमा श्रीलंकाका दिल्मी डिआसले मालदिभ्सका अमिनाथ लविहा अब्दुल रजाकलाई २१–६ र २१–१४ को सेटमा पराजित गरे।
पुरुष युगल स्पर्धामा श्रीलंकाका दिआस अंगोडा भिडानेज र थरिन्डु डुलियोले बंगलादेशका मोहम्मद अब्दुल हामिद र गौरब सिन्हालाई २१–१५ र २१–१८ को सेटमा पराजित गरे। अर्को खेलमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हसिनको जोडीले भुटानका निडुप दोर्जी र नोर्वु ड्रधुलको जोडीलाई २१–१४ र २१-१६ को सेटमा पराजित गरे।
त्यस्तै, भारतका कृष्णप्रसाद गंरञ्जा र ध्रुव कोपिलाको जोडीले बंगलादेशका शुभो खण्डाकर र तुसार कृष्ण रोयको जोडीलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे।
विजेता सबै प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन्। खेलहरू जारी रहेका छन्।
व्याडमिन्टन टिम इभेण्टमा भारतलाई दुई स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको व्याडमिन्टन प्रतियोगिताको टिम इभेण्टतर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ। सोमबार राति भएको फाइनलमा भारतले श्रीलंकालाई पराजित गरेको हो।
भारतले पुरुषतर्फ ३–१ र महिलातर्फ ३–० को सेटमा जित निकालेको हो। रजत पदक विजेता श्रीलंका नेपाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने, स्वर्ण पदक विजेता भारत पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
फाइनलमा टिम इभेण्ट पुरुषतर्फ सिंगल्समा भारतका श्रीकान्त किदाम्बीले श्रीलंकाका एदिरिमुनि दिनुका निसान पर करुणारत्नेलाई पराजित गरे। पहिलो सेट १७–२१ ले गुमाएका श्रीकान्तले बाँकी सेट २१–१५ र २१–११ को स्कोरमा आफ्नो पक्षमा पारेका थिए।
यस्तै, सिंगल्सतर्फ भारतका श्री साई सिरिल वर्मा अलुरीले श्रीलंकाका सचिन प्रेमासन एंगोदा विदांगेलाई २–१ को सेटम पराजित गरे। सचिनले २१–१७ र ११–६ को स्कोरमा सेट गुमाएका हुन्।
पुरुष डबल्सतर्फ भारतका कृष्ण प्रसाद कपिला र ध्रुव कापिलाको जोडीले श्रीलंकाका इद्रिमुनि दिनुका निसान पर करुणारत्ने र हासिथा चण्डाका मन्नी हेवाको जोडीलाई २१–१४ र २१–१८ को सेटमा पराजित गरको हो। यद्यपि, श्रीलंकाको उक्त जोडीले एउटा सेट २१–१४ ले आफ्नो पक्षमा पारेपछि हार टार्न सकेन।
टिम इभेण्ट महिला तर्फको सिंगल्समा भारतले क्लिन स्विप गर्यो। उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। भारतकी अस्मिता चलिथाले श्रीलंकाकी थिलिनी प्रोमादिका हेन्दाहेवालाई २१–१२ र २१–१३ को सेटमा पराजित गरिन् भने भारतकै आकर्षि कश्यपले श्रीलंकाकी दिल्मी प्रेमशिखा डायसलाई २१–१९ र २१–१० को सेटमा पराजित गरिन्। तेस्रोे खेलमा भारतकी गायत्री गोपिचन्द पुलेलाले श्रीलंकाकी अचिनि निमेशिका रत्नश्रीलाई २१–१८ र २१–१० को सेटमा पराजित गरिन्। रत्नश्रीले एउटा सेट २१–१३ ले आफ्नो पक्षमा पारे पनि उनले रजत पदकमै चित्त बुझाउनु पर्यो।