पोखरा रंगशालामा जारी १३ औं साग महिला फुटबलतर्फ भारतले माल्दिभ्सलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
भारतको जितमा न्गांगोम बालादेवीको २ गोलको योगदान छ। उनले २६ र ३५ मिनेटमा गोल गरेकी हुन्। छैठौं मिनेटमा जर्सी नम्बर ११ की डेंग्नेई ग्रेसको गोलबाट अग्रता लिएको भारतले पहिलो हाफमा ३ गोल गर्यो भने दोस्रो हाफमा थप २ गोल थपेको हो। दोस्रो हाफको अन्तिम समयमा भारतका लागि मनिषा पान्ना र जगमानी टुडुले १/१ गोल थपे। मनिषाले ८७ मिनेट र टुडुले ८८ औं मिनेटमा गोल गरिन्।
सुरूदेखि नै रक्षात्मक देखिएको माल्दिभ्सले कुनै पनि उत्कृष्ट अवसर सिर्जना गर्न सकेन। माल्दिभ्सका प्रशिक्षक मोहम्मद अतिफले मैदानका कारण फराकिलो अन्तरले पराजित हुनुपरेको बताए।
भारतीय प्रशिक्षक मेमोल रकीले गोल्ड मेडलका लागि प्रतिस्पर्धा गर्ने दाबी गरिन्।