१३ औं दक्षिण एसियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी सुरूआत गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।
टस हारेपछि ब्याटिङमा आएको श्रीलंकाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको तर्फबाट यु थिमासिनीले ५६ रनको पारी खेलिन्। ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकी थिइन्। क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन्।
त्यस्तै, एस सन्दिपनीले १२ रन जोडेकी थिइन् भने बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो। बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन्।
१ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो। बंगलादेशको तर्फबाट सन्जिदा इस्लामले अभिजित ५१ तथा आयशा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिए। सन्जिदाले ४५ बलमा ८ चौका प्रहार गरिन् भने आयशाले २ चौका प्रहार गरेकी थिइन्।
खेलको अन्तिमतिर ब्याटिङमा आएकी फरगंगा हकले अभिजित रहँदै २३ रन बनाइन्। मात्रै १८ बलको सामना गरेकी उनले १ छक्का र १ चौका प्रहार गरिन्।
श्रीलंकन बलरहर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिए। खेलमा बंगलादेशकी सन्जिदा प्लेयर अफ द म्याच भइन्। नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उनलाई ट्रफी प्रदान गरेका थिए।
खेलपछि प्रतिक्रिया दिँदै बंगलादेशी कप्तान सलमान खातुनले क्रिकेटका लागि पोखराको वातावरण निकै राम्रो भएको बताउँदै पहिलो खेलमा आफ्ना खेलाडीहरूको प्रदर्शन चित्त बुझ्दो भएको बताइन्।
श्रीलंकाकी कप्तान हर्षिताले वलिङ र फिल्डिङमा अझै सुधारको खाँचो रहेको औंल्याइन्।
प्रतियोगिता अन्तर्गत बुधबार बिहान ९ बजे नेपाल र बंगलादेशबीच तथा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्सबीच स्पर्धा हुनेछ।