१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले करातेमा १० स्वर्ण जितेको छ। कुल १९ वटा स्वर्णको लागि प्रतिस्पर्धा भएको खेलमा नेपालले १० स्वर्ण सुनिश्चित गरेको हो।
सोमबार सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको प्रतिस्पर्धामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ९ मध्ये ७ स्वर्ण जितेको थियो। नेपालका लागि चञ्चला दनुवार र दिवस श्रेष्ठ मात्र स्वर्ण चुम्नबाट चुकेका थिए। सो दिन नेपालले कातामा ३ र फाइटमा ४ स्वर्ण आफ्नो पोल्टामा पारेको थियो।
सोमबार प्रदर्शनलाई निरन्तरता दिन नसक्दा नेपालले मंगलबार २ स्वर्णमा चित्त बुझायो। नेपालका लागि सुनिता श्रेष्ठ र नविन रसाईले स्वर्ण दिलाए। मंगलबार करातेमा ६ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो।
बुधबार पनि नेपालले राम्रो प्रदर्शन गर्न सकेन। ४ वटा स्वर्णको लागि भएको प्रतिस्पर्धामा नेपालले जम्मा एक स्वर्ण जित्यो। नेपालका लागि अनुपमा मगरले स्वर्ण हात पारिन्। उनले एसियन पदक विजेता समेत रहेकी पाकिस्तानकी नार्गिसलाई पराजित गरेर स्वर्ण सुनिश्चित गरिन्।
नेपालले १९९९ मा भएको आठौं सागमा करातेबाट मात्र १४ स्वर्ण जितेको थियो। यसपटक पनि त्यही हाराहारीमा स्वर्ण आउने आशा गरिएको थियो। भारतमा भएको सागको अघिल्लो संस्करणमा भने कराते समावेश गरिएको थिएन।