तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल १० विकेटले पराजित भएको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो। यसअघि माल्दिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो।
बुधबारको खेलमा टस हारेर बंगलादेशले फिल्डिङ रोजेपछि पहिलो व्याटिङ गरेको नेपालले १९.२ ओभरमा केबल ५० रन जोडेको थियो। नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक १२ रन र इन्दु वर्माले १० रन जोडे पनि अन्य ब्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन्। नेपालकी अप्सरा वेगमले ५, सीता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन्।
नेपालको ४ महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन्। त्यस्तै जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १/१ विकेट हत्याए।
५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले विना क्षति ७.४ ओभरमै जित निकाल्यो। बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए। २२ बलको सामना गरेकी रहमानले ३ चौकासहित २६ रन हानेकी थिइन् भने २४ बल सामना गरेकी खातुनले ४ चौकासहित २३ रन हानिन्।
४ ओभरमा २ मेडनसहित ८ रन खर्चेर नेपालको महत्वपूर्ण ४ विकेट हत्याउने रबेया खान प्लेयर अफ दी म्याच घोषित भइन्।