ललितपुरको सातदोबाटोमा दक्षिण एसियाली खेलकुद अन्तर्गत (साग)को प्रतिस्पर्धा भइरहेको छ। तर नेपालको स्थिति भने दयनीय छ।
नेपाली खेलाडीहरू प्रतिस्पर्धी देशहरूसँग हतियार र गोली मागेर सहभागिता जनाइरहेका छन्। २५ मिटरको सेन्टर फायरमा पहिलोपटक सहभागी भएको नेपालले श्रीलङ्कासँग हतियार मागेको हो।
नेपाली टोलीले प्रतिस्पर्धामा भाग लिए पनि उक्त खेल खेल्ने हतियार भने नेपालसँग छैन। नेपालसँग दस मिटर रेन्जमा प्रहार गर्ने एउटा मात्र पेस्तोल छ। त्यो पनि २० वर्ष अघि किनेको। सागमा सहभागी ९ खेलाडीहरूले तयारी समेत त्यही एउटा पेस्तोलबाट गरेका थिए। पालैपालो लाइन लागेर।
त्यही एउटा हतियार बोकेर सुटिङ खेल्न पुगेका नेपाली खेलाडीको प्रदर्शन निराशाजक छ। १० मिटरका सुटर विजय कार्की धेरै फायर गर्दा हतियारमा समस्या आएको बताउँछन्।
'खेलाडीहरूको स्कोर घटिराखेको छ', कार्की छन्, 'हामीले चिनियाँ गोली प्रयोग गरेका थियौं। अहिलेसम्म जर्मन गोली प्रयोग गर्न पाएका थिएनौं।’
सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पेस्तोल नभएको स्वीकार गरे। उनले आफूहरूले राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक सामानसहित पत्र लेखे पनि उपलब्ध नभएको बताए।
हतियार किन्न गृह मन्त्रालयको अनुमति नमिलेका कारण ढिलाइ भएको श्रेष्ठले बताए। उनले राष्ट्रिय खेलकुद परिषद्को हतियार उपलब्ध गराउनुपर्ने जिम्मा भए पनि उपलब्ध नगराएको बताए।
खेलाडी कार्कीले भने, 'आउँछ आँउछ' भनेर अलम्ल्याउने काम भएको बताए।
पेस्तोल र गोली नपाएपछि खेलाडीहरू अहिले प्रतिस्पर्धामा सहभागिता नै नजनाउने मुडमा पुगेका छन्।