१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्र्तगत आर्चरी खेलमा पाकिस्तानले अन्तिम समयमा आएर सहभागी नहुने जनाएको छ।
मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आफ्नो आन्तरिक कारण देखाउँदै सहभागी नहुने जानकारी दिएको आर्चरी संघका केन्द्रीय उपाध्यक्ष वसन्त थकालीले बताए।
उनका अनुसार नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन्। भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरु सहभागी हुनेछन्।
बिहीबार बिहान करिब ८ः१५ बजे उद्घाटन पश्चात र्याङकिङ राउण्ड सुरु हुने उपाध्यक्ष थकालीले बताए। टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने छ।
त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका हुन्।
प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ। विश्व आर्चरी महासंघबाट प्रतिवन्ध (सस्पेन्स) भएको भारत १३ औं सागमा सहभागी नहुने भएको छ।
अन्तिम समयमा आएर दबाबका बाबजुत दर्ता भएको भारतको आर्चरी टिमलाई सागमा सहभागी नगराउने निर्णय साउथ एसियन ओलम्पिक काउन्सिलले गरेको थियो।
पोखरामा यही मंसिर २३ गतेसम्म आर्चरी हुने भएको खेलाडी योगेन्द्र शेरचनले बताए। उनका अनुसार २२ र २३ गते पदकको लागि फाइनल खेल हुनेछ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिस्पर्धा हुने भएको छ। सहभागी देशका खेलाडीहरुले बुधबार प्रतियोगिता स्थल तथा प्रशिक्षण मैदानमा पुगेर प्रशिक्षण समेत गरेका छन्।