अभ्यास क्रममा माउन्टेन बाइकर राजेश मगर (आरजे रिपर) लाई साइकलको चेन चुँडिने समस्याले बारम्बार सताइरहेको थियो।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को डाउनहिल साइक्लिङ रेस क्रममा उनलाई डर थियो, 'आज पनि त्यस्तै हुने हो कि?'
राष्ट्रिय खेलमा चार पटक विजेता भए पनि स–साना गल्तीले नतिजा राम्रो ल्याउन नसकेको अनुभव उनलाई थियो। बिहानैदेखि खेलमा साइकल नबिग्रियोस्, नलडोस्, आफ्नै रफ्तारमा कुद्न सकूँ भन्ने एक किसिमको दबाब दिमागमा थियो। त्यसमाथि पहिलो पटक सागमा समावेश साइक्लिङमा इतिहास रच्ने मौका पनि त गुमाउनु थिएन!
गोकर्णेश्वरस्थित सहिद पार्कमा धेरै पटक साइकल चलाए पनि यो उनका लागि महत्वपूर्ण खेल थियो। यस्तै महत्वपूर्ण खेलमा त हो कहिलेकाँही भाग्यले साथ नदिँदा खुट्टा चिप्लिने, चेन चुँडिने, अनि हारिने।
यस्तै डरबीच उनले 'गुड लक' मान्ने आमाबुवालाई सम्झिए र मनमनै भने रे, 'आरजे यो चाहिँ तेरो गर्ने टाइम हो, दिस इज द चान्स टु डु इट।'
नभन्दै त्यो मौका उनले खेर जान दिएनन्। बुधबार भएको खेलमा १ मिनेट ४९ सेकेन्ड ०३३ मिलिसेकेन्डमा १ किलोमिटर दुरी पार गर्दै नेपालका लागि स्वर्ण पदक दिलाए। दोस्रो र तेस्रो हुने खेलाडीको खेलअन्तर करिब १–१ सेकेन्डको मात्रै फरक हो। नेपालकै निरभ श्रेष्ठ दोस्रो र प्रचित थापा मगर तेस्रो भए।
'हाम्रो रेसमा सेकेन्ड, मिलिसेकेन्डको पनि महत्व धेरै हुन्छ। मेरा प्रतिद्वन्द्वी केही सेकेन्डको दुरीमा मात्रै भएकाले पनि प्रेसर थियो,' उनले बुधबार खुसी साट्दै सेतोपाटीसँग भने।
नेपालमा साइक्लिङ 'एडभेन्चर टुरिजम' का रूपमा भित्रिएको थियो। ९० दशकमा प्रतियोगिताहरू भए पनि सीमित वर्गका लागि मात्रै थियो। विस्तारै यो अहिलेको अवस्थासम्म आएको हो।
प्रशिक्षक प्रयास तामाङका अनुसार सागमा साइकल छिराउन ओलम्पिकबाट ७ देशलाई रिझाउन निकै गाह्रो भएको थियो। पहाड र उबडखाबड भिरमा साइकल हुँइक्याउने खेल भएकाले भौगोलिक रूपले पनि नेपाल डाउनहिल साइकलका लागि राम्रो मानिन्छ। त्यसैले डाउनहिलमा स्वर्ण ल्याउने कुरामा उनी पक्काजस्तै भएको बताउँछन्।
'अरु देशभन्दा राम्रो तयारी थियो। त्यही भएर यो प्रतियोगिता नेपालले स्वर्ण ल्याउन भन्ने पक्का जस्तै नै थियौं,' उनले भने, 'राजेशको कार्य व्यस्तताले गर्दा राष्ट्रिय खेलमा स्वर्ण मिस भएको थियो। त्यही पनि हामीले उसलाई विश्वास गरेर ल्याएका थियौं।'
२३ वर्षीय राजेशले साइक्लिङमै आफ्नो भविष्य खोज्न थालेको करिब ६ वर्ष भइसक्यो। साइकलसँगको नाता भने सानैदेखि हो।
उनकी आमा अरूको घरमा काम गर्थिन्। त्यहीँका मान्छेले 'छोराले खेलोस्' भनेर दिएको साइकल नै पहिलो साइकल बन्यो राजेशको। त्यो साइकल उनले यति कुदाएछन्, आमा हैरान। छोरा पढाइ छाडेर साइकलमै हराउन थालेपछि छिमेकीले पनि आमालाई 'छोराको भविष्य ब्रिगन्छ' भन्न थालेछन्।
'त्यसपछि दिक्क भएर साइकल नै कवाडीलाई बेचिदिनुभयो। ९० रुपैयाँमा,' राजेशले सुनाए।
त्यसपछि उनी आफैंले २५ सय रुपैयाँमा साथीसँग सेकेन्ड ह्यान्ड साइकल किने। अनि युट्युबमा साइक्लिस्टका स्टन्ट हेर्दै सिक्न थाले। साथीहरूसँग अभ्यास पनि। सुरूसुरूमा आमाले फेरि साइकल बेचिदिने हो कि भनेर लुकाएर राख्न थालेछन्।
'पछि आमालाई राम्ररी पढ्छु भन्दै देखाएरै चलाउन थालेँ,' उनले भने, 'पढ्ने त त्यस्तै हो। साइकल पाएपछि त्यसमै हराइहालिन्थ्यो। एसएलसी पूरै क्लियर, प्लस टु अचकल्टो छ।'
युट्युबमा साइक्लिस्टका डाउनहिल साइकल देख्दा उनलाई पनि त्यस्तै साइकल किन्ने रहर थियो। तर करिब ३ लाख पर्थ्यो। त्यति महँगो साइकल किन्ने उनको क्षमता थिएन। आमा अरूको घरमा काम गर्ने, बुवा ज्यामी काम। महिनाको जम्मा ७-८ हजार कमाइ न हुन्थ्यो।
राजेशले हरेश भने खाएनन्।
सानैदेखि उनको दिमाग के–के बनाउने, अरूको देखेर यस्तो हुने रहेछ भन्दै 'ठाङठुङ' पार्थे। स्कुलमा पनि साइकलकै बारे सोच्थे रे। चित्र पनि बनाउथे।
डाउनहिल साइकलकै युट्युब प्रभावले दुःख गरेर किनेको साइकल डराइडराइ काटे। स्कुटरको सस्पेन्सन दुई सयमा किनेर हाले र मोडिफाइ गरे। जोडजाड गरेको साइकल न हो, चलाउँदा हाँस उठ्दो आवाज आउने, पाटपूर्जा हल्लिने, सस्पेन्सन कराउने हुन थाल्यो।
यही साइकल बोकेर उनी रेस खेल्न समेत पुगे। त्यही बेला साइक्लिस्ट मन्दिल प्रधानको नजर उनमा पर्यो। 'लाइफ साइकल डाउनहिल' मा आफ्नै साइकल राजेशलाई चलाउन दिएछन्, जसमा उनले चौथो स्थान ल्याए। त्यसपछि उनमा झनै हौसला जाग्यो।
मन्दिलले नै उनलाई आफ्नो 'हिमालयन राइड्स' कम्पनीमा जागिर दिए। त्यहाँबाट उनले साइक्लिङको पर्यटक गाइड गर्ने काम गरिरहेका छन्। प्रायः माउन्टेन बाइकिङ गर्नेहरूलाई गाइड बन्नु अर्को जीविकाको माध्यम।
'त्यो मेरो लागि टर्निङ प्वाइन्ट हो। उहाँसँग भेट नभएको भए यहाँसम्म म आउने थिइनँ होला। हरेस खाएर अर्कैतिर लागिसकेको हुन्थेँ कि' उनले भने।
भविष्य त अर्कै सोचेका रहेछन्, ब्रिटिस लाहुरे।
एसएलसी सक्किने बित्तिकै उनलाई ब्रिटिस लाहुरेको तालिम गर्छु भन्ने थियो। तर भएन। तीन महिनाको छुट्टिमा उनी विभिन्न जागिर खोज्दै भौंतारिए। दुई महिना छापाखानामा किताब छापेको मिलाउने-बोक्ने गर्दै बित्यो। त्यसमा टक बसेन, छाडिदिए।
एक सातापछि छिमेकी दाइले ठमेलमा 'साइकल पसलमा काम गर्छस्' भन्दै लगेछन्। दुई हजार तलबमा मेकानिक काम सिक्दै–गर्दै उनका ६-७ महिना कटे। त्यसपछि साइक्लिस्ट मन्दिलसँग भेटे, उनको जिन्दगीको गन्तव्य फेरियो।
सन् ०१३ बाट सुरू गरेर ०१४ मा राष्ट्रिय खेल नै जिते। त्यो जितपछि घरबाट पनि साथ पाए।
अहिले त सानामा साइकल बेचिदिने उनै परिवारले भन्न थालेका छन्, 'ठीकै छ, जे गर आफू खुसी हुनु पर्यो, भविष्य राम्रो हुन पर्यो। राम्रो गर।'
यो सागमा त झन् पहिलोपटक राजेशको खेल हेर्न आमाबुबा पुगेका रहेछन्।
'माथि आमाबुबा देख्दा नै भावुक भइसकेको थिएँ। खेल जितेपछि झनै रोएँ,' उनले भने।
यस्तै सफलता चुम्दै राजेश नेसनल जोग्राफीको २०१८ सालको 'एडभेन्चर अफ द इयर' पनि बनेका थिए। राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस जित्न थालेयता मन्दिलले नै उनलाई 'स्पोन्सर' खोजिदिन सहयोग गरेका छन्। अहिले बाइकका लागि कोलोराडो, सस्पेन्सका लागि क्यालिफोर्निया, हेल्मेट र प्याडका लागि इटाली लगायत विभिन्न देशका स्पोन्सरले उनलाई सहयोग गरिरहेका छन्।
जति नै सफल भए पनि गल्तीहरू जीवनका सिकाइ हुन्। यो राम्ररी बुझेका उनी प्रत्येक खेलपछि आफ्ना खेलका गल्ती विश्लेषण गर्छन् रे। बुधबार सागमा स्वर्ण जिते पनि त्यहाँ भएका गल्ती उनले मनन गरेका छन्।
'जहाँ छिटो जान सक्थेँ, त्यहाँ ढिलो भएँ। जहाँ स्मुथ भएर टक्क जानु पर्ने हो त्यहाँ हल्का लड्ला जस्तो भयो,' उनले भने, '३-४ सेकेन्ड त गएकै हो। जितेपछि त्यो कुरा गनिन्न, वेवास्ता हुन्छ।'
यस्तै गल्ती अनि सिकाइसँगै उनी जीवनमा पाइडल मारिरहेका छन्, माउन्टेन बाइकरको रूपमा। नत्र ब्रिटिस लाहुरे बनिसकेका हुँदा हुन्।
'त्यो सपना त टुट्यो,' लेघ्रो तान्दै भन्छन्, 'साइकलले सबै खाइदियो।'
तर त्यही साइकलले उनलाई आज यहाँसम्म डोर्याएको पनि उनलाई महशुस छ।
भिडिओः बिअलाइभ