सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा निमा घर्ती मगरले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन्। १२औं सागमा स्वर्णका लागि तड्पिएको नेपालका लागि चौथो दिन पहिलो स्वर्ण जितेपछि १६ वर्षीय निमा चर्चित बनिन्।
उनीसँगै उनका बुबा मन्सुर घर्तीमगर पनि चर्चामा आए। सिलोङमा छोरीले स्वर्ण जितेको खबर नेपाली मिडियाका हेडलाइन बनिरहँदा उनले थाहा पाउन केही घन्टा लाग्यो।
त्यतिबेला मन्सुर आफ्नै बलेरो पिकअपका लागि तेलको लाइनमा बसेका थिए। लाइनमै पञ्चर भएको टायर फेरिरहेको बेला मन्सुरलाई कसैले फोन गरेर छोरीले स्वर्ण जितेको खबर सुनाइदिएको थियो।
१३औं सागमा पनि छोरी निमाको बिहीबार स्वर्णका लागि भिडन्त थियो। मन्सुर बिहानै गाडी चलाउन निस्केका थिए। यसपटक पनि गाडी बिग्रियो। सायद बुवाको गाडी बिग्रनु निमाका लागि 'लक' थियो।
निमाले बिहीबार नछ्वान अलराउन्डबाट स्वर्ण जितिन्। पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन्। निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन्। यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्रत दोस्रो र श्रीलंकाकी सन्जु कुमारीले तेस्रो भइन्।
मन्सुरलाई निमाले स्वर्ण जितेको खबर थाहा पाउन यसपटक भने समय लागेन। किनभने मन्सुर आफ्नो बिग्रेको गाडी ग्यारेजमा थन्काएर श्रीमतीसँगै निमाको खेल हेर्न लगनखेलस्थित आर्मी कबर्ड हल आइपुगेका थिए।
'गाडी बिग्रिएपछि ग्यारेजमा राखेर आउनु भएको रहेछ,' निमाले भनिन्, 'बुबा-आमा र सबै परिवारको अघि राम्रो खेलेर स्वर्ण जितेको क्षण वर्णन गर्न सक्दिनँ।'
स्वर्ण जितेपछि निमा सबैभन्दा पहिला दर्शकदिर्घामा रहेका आफ्ना आमाबुबालाई भेट्न पुगेकी थिइन्। जहाँ उनका बुबाआमा नर्भस देखिन्थे भने निमा उत्साहित।
रोल्पाका स्थायी बासिन्दा मन्सुर लामो समय वैदेशिक रोजगारीमा गएका थिए। नेपाल फर्केपछि आफ्नी छोरी निमाको उसुमा लगाव देखेर उनी खुसी भए। प्रशिक्षणमा आफैं पुर्याउने अनि सधैं प्रोत्साहिन गरिरहे।
'बुबासँग उसुको बारेमा कुरा गरिरहन्छु। उहाँले गल्ती नगरी खेल्न भन्नुहुन्छ। आमालाई त धेरै थाहा छैन। तर पनि नबिगारी खेल्न भन्नुहुन्छ,' उनले भनिन्।
मेडल समारोहपछिको दृश्य झन् भावुक बन्यो। स्वर्ण पदक गलामा भिरेर फर्किएपछि निमा फेरि आफ्नो बुबाआमासम्म पुगेकी थिइन्। त्यसपछि उनले आमालाई स्वर्ण पदक पहिर्याइदिइन्। छोरीको स्वर्ण आफ्नो गलामा परेपछि उनी निकै भावुक बनेकी थिइन्।
'जीवनमा निकै दु:ख गरेर यहाँसम्म आइपुगेका हौं, त्यसैले निमाको सफलतामा गर्व छ,' बुबा मन्सुरले भने।
१३औं सागमा सुरु हुनुअघि निमाले खेल्न पाउनेमै शंका थियो। किनभने निमाको विधामा अन्तिमसम्म बंगालदेशका खेलाडी मात्र नाम दर्ता गराएकी थिइन्।
'मैले खेल्न नपाउने समाचार सुनेर निकै नमज्जा लागेको थियो। गुरुहरुसँग बुझ्दा श्रीलंकाले पनि खेल्ने, तर पक्का छैन भन्नुभयो,' निमाले भनिन्, 'त्यसपछि यसपटक अर्को पटक खेल्छु भनेर चित्त बुझाइसकेको थिएँ। बुबाआमाले पनि उमेर छदैछ चिन्ता नलेउ भन्नु भएको थियो।'
अन्तिम समयमा श्रीलंकाकी खेलाडीले नाम दर्ता गराएपछि मात्र निमाले १३औं सागमा भाग लिने पक्का भएको थियो।
उसुमा २२ विधा मध्ये एक देशले १७ विधामा मात्र भाग लिन पाउने नियम छ। जसमा निमाको विधामा राम्रो मानिएका भारतले खेलाडी सहभागी गराएन। भारत उसुको सान्सुमा बलियो भएको तथा पुरुष खेलाडी उत्कृष्ट रहेकाले निमा खेल्ने लगायतका विधामा सहभागी नभएको हो।
'अघिल्लो सागमा मैले राम्रो खेलेको थिएँ। त्यसैले भारतले आफू बलियो विधामा मात्र भाग लिएको होला,' निमाले भनिन्,'भारतलाई हराएर स्वर्ण जित्न पाएको भए झन् रमाइलो हुन्थ्यो। तर पनि म अरू देशका प्रतिद्वन्द्वीलाई कहिल्यै कमजोर ठान्दिनँ।'
१९ वर्षीया निमाले लगातार दुई संस्करणमा स्वर्ण उसु खेलाडी बनेर इतिहास समेत बनाएकी छिन्।
दुई वर्षपछि हुने १४औं सागमा भाग लिएर स्वर्ण जिते उनी सागमा लगातार तेस्रो स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बन्नेछिन्।
'साग समयमै आयोजना भयो र भाग लिने अवसर पाए तेस्रो स्वर्ण जित्ने मेरो लक्ष्य हो,' उनले भनिन्।