१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार तेक्वान्दोमा नेपालका चार प्रतिस्पर्धी फाइनलमा पुगेका छन्। सातदोबाटोस्थित तेक्वान्दो कबर्ड हलमा ६ स्वर्णको लागि भएको प्रतिस्पर्धामा नेपालबाट ४ प्रतिस्पर्धी स्वर्ण नजिक पुगेको हो।
नेपालका लागि किरण बहादुर आले फाइनल प्रवेश गरेका छन्। उनले ८० केजी मुनिको तौल समूहमा बंगलादेशका मसुम खानलाई ३६-१३ अंकले पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन्।
८७ केजी मुनिको तौल समूहमा नेपालका भुपेन श्रेष्ठ पनि फाइनल प्रवेश गरेका छन्। उनले बंगलादेशका रसेल खानमाथि ३५-६ अंकको सहज जित निकाल्दै फाइनल पुगेका हुन्।
यस्तै, अप्सरा कार्की र मनिता साही पनि फाइनल पुगेका छन्। अप्सराले ६७ केजी मुनिको तौल समूहमा बंगलादेशी खेलाडी र मनिताले श्रीलंकाली खेलाडीमाथि जित निकाल्दै फाइनल पुगेका हुन्।
बिहीबार तेक्वान्दोको ग्योरुगी विधामा ६ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म नेपालले तेक्वान्दोबाट ११ स्वर्ण जितिसकेको छ। यो संख्या अझै बढ्न सक्ने देखिन्छ।