१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी अप्सरा कार्कीले रजत पदकमा चित्त बुझाएकी छिन्। बिहीबार सातदोबाटोस्थित तेक्वान्दो कबर्ड हलमा भएको प्रतिस्पर्धामा उनी ६७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी रुचिका श्रीरांङसँग ८-५ अंकले पराजित भएकी हुन्।
सेमिफाइनलमा बंगलादेशकी सल्मा खातुनमाथि जित निकाल्दै अप्सरा फाइनल पुगेकी थिइन्।
बिहीबार ६ स्वर्णको लागि भएको प्रतिस्पर्धामा नेपालबाट अप्सरासँगै ४ प्रतिस्पर्धी फाइनल पुगेका छन्।
नेपालका लागि किरण बहादुर आले फाइनल प्रवेश गरेका छन्। उनले ८० केजी मुनिको तौल समूहमा बंगलादेशका मसुम खानलाई ३६-१३ अंकले पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन्।
८७ केजी मुनिको तौल समूहमा नेपालका भूपेन श्रेष्ठ पनि फाइनल प्रवेश गरेका छन्। उनले बंगलादेशका रसेल खानमाथि ३५-६ अंकको सहज जित निकाल्दै फाइनल पुगेका हुन्।
यस्तै मनिता साही पनि फाइनल पुगेका छन्। मनिताले श्रीलंकाली खेलाडीमाथि जित निकाल्दै फाइनल पुगेका हुन्।
बिहीबार तेक्वान्दोको ग्योरुगी विधामा ६ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म नेपालले तेक्वान्दोबाट ११ स्वर्ण जितिसकेको छ।