१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपाल दुई स्वर्ण चुम्नबाट चुकेको छ। भारतीय खेलाडीसँग पराजित हुँदा नेपालकी अप्सरा कार्की र मनिता साहीले रजतमै चित्त बुझाएका छन्।
बिहीबार भएको पहिलो फाइनलमा अप्सरा कार्की ६७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी रुचिकासँग ८-५ अंकले पराजित भइन्। यस्तै मनिता साहीले पनि ७३ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी मारिया रेगीसँग १५-० अंकको निराशजनक हार बेहोरिन्।
अब नेपालका लागि किरण बहादुर आले र भुपेन श्रेष्ठले फाइनल खेल्न बाँकी छ।
किरणले उनले ८० केजी मुनिको तौल समूहमा बंगलादेशका मसुम खानलाई ३६-१३ अंकले पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन्।
यस्तै भुपेन ८७ केजी मुनिको तौल समूहमा बंगलादेशका रसेल खानमाथि ३५-६ अंकको सहज जित निकाल्दै फाइनल पुगेका हुन्।
बिहीबार तेक्वान्दोको ग्योरुगी विधामा ६ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म नेपालले तेक्वान्दोबाट ११ स्वर्ण जितिसकेको छ।