बंगलादेश १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ। माल्दिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो।
बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो।
बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे। प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रन जोडेका थिए।
६५ बलको सामना गरेकी सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन्। विस्फोटक व्याटिङ गरेकी फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकी थिइन्। माल्दिभ्सयको बलिङमा समा अलिले १ विकेट लिइन्। बंगलादेशका समिमा सुल्तान रनआउट भएकी थिइन्।
जितका लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको माल्दिभ्सको पारी मात्रै ६ रनमा समेटियो। माल्दिभ्सका समा अलिले २ तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए। दुई रन अतिरिक्त रनका रूपमा पाएका थिए। बंगलादेशको बलिङमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पूजा चक्रवर्तीले पनि एक/एक विकेट लिए।
योसँगै राउण्ड रोबिनका पूरै तीन खेलमा जित हासिल गरेको बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो। बंंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो।
नेपाललाई खेल जित्नैपर्ने दबाब
फाइनल पुग्नका लागि अब नेपालले श्रीलंकाविरूद्ध शुक्रबार हुने खेल जित्नै पर्ने भएको छ।
राउण्ड रोविनमा नेपाल र श्रीलंका दुवैले १ खेलमा जित तथा १ खेलमा पराजय व्यहोर्दै समान २–२ अंक जोडेका छन्। नेपाल र श्रीलंका दुवैले माल्दिभ्सलाई पराजित गरेर आ–आफ्नो खातामा समान दुई अंक जोडेका हुन्। तर नेट रनरेटको आधारमा नेपाल लिगको दोस्रो स्थानमा रहेको छ।