१३औंं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भारतलाई उछिनेर पाकिस्तानले स्वर्ण जितेको छ। ५८ केजी मुनिको तौल समूहमा कडा टक्करबीच पाकिस्तानका हरुण खानले भारतका दिलिप चौधरीलाई २५-१८ अंकले पराजित गर्दै स्वर्ण आफ्नो पक्षमा पारेका हुन्।
सुरूआती अग्रता लिएको भारतमाथि पाकिस्तानले लय समातेको थियो। बिहीबार सातदोबाटोस्थि तेक्वान्दो कबर्ड हलमा भएको प्रतिस्पर्धाम पाकिस्तानको यो पहिलो स्वर्ण हो।
यसअघि भएको दुई फाइनल खेलमा नेपालकी मनिता साही र अप्सारा कार्की भारतीय खेलाडीसँग पराजित हुँदा स्वर्णबाट चुकेका थिए।
अप्सरा कार्की ६७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी रुचिकासँग ८-५ अंकले पराजित भइन्। यस्तै, मनिता साहीले पनि ७३ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी मारिया रेगीसँग १५-० अंकको निराशजनक हार बेहोरिन्।
अब नेपालका लागि किरण बहादुर आले र भुपेन श्रेष्ठले फाइनल खेल्न बाँकी छ।
किरणले उनले ८० केजी मुनिको तौल समूहमा बंगलादेशका मसुम खानलाई ३६-१३ अंकले पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन्।
यस्तै, भुपेन ८७ केजी मुनिको तौल समूहमा बंगलादेशका रसेल खानमाथि ३५-६ अंकको सहज जित निकाल्दै फाइनल पुगेका हुन्।
बिहीबार तेक्वान्दोको ग्योरुगी विधामा ६ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म नेपालले तेक्वान्दोबाट ११ स्वर्ण जितिसकेको छ।