दक्षिण एसियाली खेलकुद (साग)को उसु थाउलको नानछ्वान गुन्छुमा विश्व बुढामगरले बिहीबार स्वर्णको आशा राखेका थिए।
तर उनी भारतीय खेलाडी सुडिराज सिंहसँग पराजित हुने पुगे। त्यो पनि ० दशमलव ९ अंकको अन्तरले।
बुधबार विश्वको अंक ९ दशमवल ५५ थियो। भारतीय खेलाडीको अंक ९ दशमलव ६६ थियो। तर बिहीबार विश्वले खेल सुधारे। उनले शतप्रतिशत प्रदर्शन गरे। फलस्वरूप भारतीय खेलाडीको भन्दा धेरै अंक बटुले। विश्वले ९ दशमवल ५८ अंक जोडे। जबकी भारतीय खेलाडी सुडिराजले ९ दशमवल ५५ अंक ल्याए। तर त्यो अंक विश्वलाई स्वर्ण दिलाउन पर्याप्त बनेन। समग्रमा भारतीय खेलाडीले १९ दशमलव २२ अंक जोड्दा विश्वको अंक १९ दशमलव १३ मात्र भयो। उनी स्वर्णबाट चुके।
भारतमै सन् २०१६ मा भएको सागमा पनि विश्वले रजतमा चित्त बुझाएका थिए। यसपटक उनी स्वर्ण जित्ने लक्ष्यसाथ उत्रिएका थिए। प्रशिक्षण पनि राम्रो गरेका थिए। नेपालले पाँच महिनासम्म खेलाडीहरूलाई बन्द प्रशिक्षण दिएको थियो। तर बिहीबारको प्रदर्शनमा भारतीय खेलाडीको खराब प्रदर्शनमा पनि निर्णायकले अंक नकाटेपछि आफू पराजित भएको विश्व बताउँछन्।
त्यसो त विश्वका लागि साग खेल्नु नै चुनौतीपूर्ण थियो। बन्द प्रशिक्षणका लागि उसुमा २२ खेलाडी छनोट भएका थिए। तर अन्तिममा खेल्ने टुंगो १७ को मात्र थियो। उनी फालिने निश्चित थियो। तर अर्को खेल नहुनेपछि विश्व सागमा अटाए।
इन्डोनेसियामा भएको एसियन खेलकुदमा पनि उसुको थाउलको नानछ्वान गुन्छुको कोटा सरकारले कटौती गरिदिएपछि प्रतियोगितामा उनले खेल्न पाएनन्। यसपटक बल्लबल्ल सागमा अटाएका विश्वलाई स्वर्ण जित्ने आशा थियो।
लगनखेलस्थित आर्मीको कबर्डहलमा भएको खेलमा रजतमा सीमित भएपछि विश्व भावविह्वल भए। उनका आँखाबाट बलिन्द्र धारा आँसु झरे।
'खेलाडी छनोटदेखि नै संघर्ष गर्नुपर्यो। प्रशिक्षणले मात्र नहुने रहेछ, लबिङ हुने रहेछ', विश्वले रुँदै भने, 'इन्डोनेसियामा पनि कोटा काटियो। सरकारसँग पनि बजेट छैन रे हामीलाई खेलाउन। यसपटक सागमै पर्न धेरै प्रेसर भयो।’
खेलमा रजतमा सीमित भए पनि उनले आमालाई फोन गरे।
'सिल्भर भयो मम्मी भनेँ', रुँदै विश्वले भने, 'अब रिटार्यमेन्ट लिन्छु।’