१३ औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि जनकपुरधाम स्थित कबर्ड हलमा सम्पूर्ण तयारी पुरा भएको छ।
जनकपुरधाममा साग हुने भएपछि जीर्ण अवस्थामा रहेको कबर्ड हललाई रंगरोगन गरी चिटिक्क बनाइएको छ। जनकपुरधाममा पहिलो पटक हुन लागेको साग अन्तर्गत कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुन लागेको हो। यूद्धस्तरमा कबर्डहललाई तयार गरी भव्य रुपमा सजाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले जानकारी दिए।
प्रतियोगितालाई लक्षित गरेर खेल पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष चौधरीले बताए।
सागको कुस्तीमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित १ सय २५ अन्तर्राष्ट्रिय प्रशिक्षक, रेफ्री, व्यवस्थापक, निर्णायक जनकपुरधाम पुगी सकेका छन्।
साग अन्तर्गतको कुस्ती खेलमा सहभागी हुनका लागि नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट खेलाडीहरु जनकपुरधाम आइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विनोद कुमार सिंहले जानकारी दिए।
जनकपुरधाममा मंसिर २० गते देखि हुने कुस्ती प्रतियोगितामा नेपालबाट १० पुरुष र ५ महिला खेलाडी, बंगलादेशबाट १० पुरुष र १० महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यस्तै भारतबाट महिला र पुरुष गरी २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना, पाकिस्तानबाट १० पुरुष खेलाडी कुस्तीमा सहभागी हुनेछन्।
खेलकुदको क्रममा खेलाडी वा दर्शकसँग हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै तत्काल उपचारको सम्पूर्ण व्यवस्था समेत मिलाइएको छ। यसका लागि आइसीयू कक्ष सहित भेन्टिलेटर, एम्बुलेन्स सेवा समेत २४ औं घण्टा उपलब्ध रहने जनाइएको छ।
त्यस्तै प्रदेश आन्तरिक मामिला तथा कनुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सागको कुस्ती प्रदेश २कै लागि गर्वको कुरा रहेको बताए। यसले प्रदेश २मा कुस्ती खेल्नेहरुमा उर्जा समेत थपिने बताए। उनले प्रदेश दुईमा लोप हुँदै गएको कुस्ती खेलले पुनः एउटा जोश र जागरका साथ नयाँ मोड लिई स्थापित हुन सक्ने बताए।