डाउनहिल साइक्लिङमा महिलातर्फ स्वर्ण विजेता निश्मा श्रेष्ठ प्रतियोगिताअघि निकै दबाबमा थिइन्।
हुन त कुनै पनि ठूलो प्रतियोगिताअघि खेलाडीहरू दबाबमा रहनु सामान्य हो। निश्माको तनाव भने अर्कै थियो।
यसअघि अभ्यास क्रममा उनले राम्रो खेल्न सकेकी थिइनन्। डाउनहिल साइक्लिङकै अर्की खेलाडी जमुना थापाले उनलाई कडा टक्कर दिएकी थिइन्।
अभ्यासमा निश्मा र जमुनाबीच जम्मा ४ सेकेन्डको अन्तर थियो। जमुनाले यति कम अन्तरमा पछ्याएकीले प्रतियोगिताको नतिजा जे पनि आउन सक्थ्यो।
‘हामीले दुई जनामा जो पहिला भए पनि केही छैन भनेर सम्झाएका थियौं,’ निश्मा र जमुनाका प्रशिक्षक प्रयास तामाङले भने।
निश्मा आफ्नो लामो अनुभवका कारण थप दबाबमा थिइन्। उनी सात वर्षदेखि डाउनहिड साइक्लिङ गर्दै आएकी छन्। जमुनाले भने तीन महिनाअघि मात्र सुरू गरेकी हुन्। यति कम समयमै जमुनाले टक्कर दिएकीले निश्मा हडबडाएकी थिइन्।
प्रतियोगिताको अघिल्लो रात छटपटीमै बित्यो।
'अभ्यासमा राम्रो भएको थिएन, सक्छु कि सक्दिनँ भन्ने डर थियो,' उनले भनिन्।
तनाव कम गर्न निश्माले प्रतियोगिताको दिन बिहानै ‘मोटिभेसनल स्पिच’ सुनिन्। गीत सुनेर मन शान्त पारिन्। गोकर्णेश्वरको खेल मैदान पुग्दासम्म उनले आफूलाई सम्हालिसकेकी थिइन्। दिमाग शून्य थियो।
नतिजा जे आए पनि राम्रो प्रदर्शन गर्छु भन्ने अठोटसहित उनले साइकलको ह्यान्डल समातिन्।
उनको प्रदर्शन अभ्यासभन्दा निकै राम्रो भयो।
दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक समावेश डाउनहिल साइक्लिङतर्फ एक किलोमिटरको दुरी निश्माले २ मिनेट २२ सेकेन्डमा पार गरिन्। उनका निकट प्रतिस्पर्धी जमुनाले यही दुरी २ मिनेट ४१ मिनेटमा पूरा गरेकी थिइन्।
‘उनले अभ्यासभन्दा राम्रो खेल देखाइन्,’ प्रयासले भने, ‘कहिलेकाहीँ प्रेसरले पनि काम गर्दो रहेछ।’
नेपालमा डाउनहिल साइक्लिङ ‘साहसिक पर्यटन’ का रूपमा भित्रिएको थियो। सीमित वर्गका मान्छेले मात्र यसमा हात हालेका थिए। यो खेललाई सागमा छिराउन निकै गाह्रो भएको प्रशिक्षक प्रयास सम्झन्छन्।
पहाड र उबडखाबड भिरमा साइकल हुँइक्याउने खेल भएकाले भौगोलिक रूपले नेपाल डाउनहिल साइक्लिङका लागि राम्रो मानिन्छ। ‘अरू देशभन्दा हाम्रो तयारी राम्रो थियो। त्यही भएर नेपालले स्वर्ण ल्याउँछ भन्ने पक्काजस्तै थियो,’ उनले भने।
बिहीबारको 'क्रस-कन्ट्री' खेलमा पनि नेपालकै लक्ष्मी मगरले स्वर्ण र उषा खनालले रजत जितेका छन्। अब 'रोड रेस' बाँकी छ, जुन अघिल्लोको तुलनामा कठिन हुने प्रशिक्षक बताउँछन्।
निश्मा भने खेलअगाडिको छटपटी जितमा परिणत भएकोमा खुसी देखिन्थिन्। ‘अभ्यासमा जति गल्ती गरेको थिएँ, त्यसलाई केही हदसम्म सुधारेर जितेँ,’ उनले भनिन्।
सात वर्षअघि यो क्षेत्रमा छिरेकी निश्मालाई पारिवारिक रूपले कुनै समस्या थिएन। उनको बुबा र मामा दुवै माउन्टेन बाइकर थिए। उनीहरूको पछि लाग्दालाग्दै निश्मालाई यसमा टक बस्यो।
‘शनिबार आउनेबित्तिकै मामासँग साइकल माग्थेँ। बालाजुको मट्खु हुँदै गोलढुंगा पुग्थेँ,’ उनले भनिन्।
निश्माले ब्रिटेन सर्टिफाइड ‘माउन्टेन बाइक लिडरसिप अवार्ड’ पनि पाएकी छन्। उनी फ्रान्सबाहेक अन्य युरोपेली देशमा गाइडका रूपमा काम गर्न सक्छिन्। यो साइक्लिस्टको निम्ति अन्तर्राष्ट्रिय 'करिअर' र जीविकाको राम्रो माध्यम हो।
नेपालमा महिला साइकल राइडर कम भएकाले सुरू सुरूमा त रेस गर्न खेलाडी पनि पाउथिनन्। खेलाडी नहुँदा उनले केटाहरूसँगै थुप्रै प्रतियोगिता खेलिन्।
‘एकपटक त राष्ट्रिय खेलमा खेलाडी नै नभएर हामीले केटाहरूसँगै उनलाई खेलायौं,’ प्रशिक्षक प्रयासले भने, ‘अर्कोमा निश्मा आफैंले महिला खेलाडी बटुलेर ल्याएकी थिइन्।’
‘केटासँगै अभ्यास गरेकाले उनीहरूसँग रेस गर्न गाह्रो भएन। शारीरिक भिन्नताले केही चुनौतीपूर्ण भने हुन्छ,’ निस्माले भनिन्।
सधैं साइक्लिङ गर्दा शरीर सक्रिय रहने भएकाले महिनावारी हुँदा पनि पाइडल मार्न गाह्रो नहुने उनी बताउँछिन्। ‘अरू साथीहरूले गाह्रो हुन्छ भन्छन्, तर मलाई हुन्न। महिनावारीकै कारण खेल बिग्रिएको छैन,’ उनले भनिन्।
माउन्टेन बाइकिङको सुरूआत उनले केटा र केटी दुवैले चलाउने साइकलबाट गरेका हुन्। अहिले केटीकै लागि बनेको ‘लाइभ’ साइकल कुदाउँछिन्। ‘यो केटीलाई विशेष ध्यानमा राखेर बनाइएको हो। यसको ढाँचा केही फरक छ। डबल सस्पेन्सन हुन्छ। चलाउँदा सजिलो पनि,’ निश्माले भनिन्।
पहिलेको तुलनामा नेपाली महिला खेलाडी बढेको देख्दा उनी खुसी छिन्। त्यसैको नतिजा हो, डानउहिल र क्रस-कन्ट्री रेसको नतिजा। दुवै खेलमा नेपालले महिलातर्फ स्वर्ण र रजत जितेको छ।
‘महिलालाई साइकल चलाउन प्रोत्साहन गर्ने हो भने हामीकहाँ माउन्टेन बाइकिङ क्षेत्र अझै फराकिलो हुँदै जानेछ,’ प्रशिक्षक प्रयासले भने, ‘सागको नतिजाले अरू धेरै महिलालाई यो क्षेत्रमा आउन आकर्षित गर्नेछ।’