निमा घर्ती मगरले १३ औं सागको नछ्वान अलराउन्डबाट बिहीबार स्वर्ण जितिन्। निमाको खेल हेर्न उनका बुवा मन्सुर र आमा पुना सातदोबाटोको लगनखेलको आर्मीको कबर्ड हलमा पुगेका थिए।
फाइनलमा निमाले बंगलादेशकी मोरजिना अख्रत र श्रीलंकाकी सन्जु कुमारीलाई पछि पारिन्।
निमालाई उनका बुबा मन्सुरले चार वर्षको उमेरमै रोल्पाबाट काँधमा बोकेर राजधानी ल्याएका थिए। सन्तानको नयाँ जीवन खोज्दै।
उनै निमाले बिहीबार स्वर्ण जित्दा मन्सुरको अनुहार खुसीले धपक्कै बल्यो।
'यिनीहरूलाई केही गरून्, राम्रो शिक्षा पाउन,देशका लागि केही गरून् भन्ने सोचेर नै त्यस्तो दुर्गमबाट यहाँ लिएर आएको हुँ', मन्सुरले भने, 'हाम्रो यहाँ कोही थिएन। पढेर केही गर्ला भन्ने सोचेको थिएँ। पढ्दा पढ्दै खेलकुदमा लागि। जुडो खेल्दा स्वास्थ्य राम्रो होला भन्ने लाग्यो। तर आज उसले देशलाई मेडल दियो।’
त्यसो त आमा पुनालाई छोरी खेलकुदमा लाग्दा पढाइ बिग्रने चिन्ताले सताएको थियो। १२ औं सागमा भारतमा मेडल जितेपछि पनि निमालाई आमाले 'मेडल मात्र ठूलो कुरा हैन', भन्दै सम्झाइन्। तर निमाले खेलमा निरन्तरता दिइन्।
'म पहिला पढ्नु ठूला कुरा हो भन्थेँ', पुनाले भनिन्, 'मेडलमात्र ठूलो कुरा हैन पढाइ पनि ठूलो हो। सँगै लैजानुपर्छ भनेँ।’
निमा भने आमालाई फकाउन खप्पिस् छिन्।
'मैले बच्चैमा जति दु:ख दिएँ नि अब त बुझ्ने भएनी त', आमालाई अङ्गालो हाल्दै निमाले भनिन्, 'अब अझै राम्रो गर्छु।'
निमाले बिहीबार स्वर्ण जितेपछि पनि आमाको गलामा पहिर्याइ दिइन्। पुनाको खुसीको सीमा रहेन। उनले फुकालेर छोरीलाई लगाइदिइन्।
खेलमा लाग्न निमालाई परिवारले राम्रै साथ दियो। स्कुलमा धेरै अनुपस्थित हुँदा खेलमा गएको भन्दै कुरा मिलाइदिने काम बुवा ममीले गरेको निमा सम्झन्छिन्।
'बाबा मम्मीले खेलमा सुधार गर भनेर उत्प्रेरित गर्नुहुन्छ', निमाले भनिन्,'असन्तुष्ट भएँ भने अर्कोपटक राम्रो गर भनेर सम्झाउनुहुन्छ।’