१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा भुटानको उत्कृष्ट प्रदर्शन बिहीबार पनि जारी रह्यो र उसले दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २–१ ले हरायो। भुटानले फुटबलको कुनै पनि स्तरमा माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो। यो जितले पा“च टिम सम्मिलित प्रतियोगिताको अंक तालिकामा भुटान शीर्ष स्थानमा उक्लेको छ।
भुटानको तीन खेलबाट छ अंक भएको छ । माल्दिभ्स भने समान तीन खेलबाट दुई अंकमा सीमित रह्यो। माल्दिभ्सले आप्mनो सुरुआती दुवै खेल बराबरी खेलेको थियो। यो नतिजाले भुटानको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ भने स्वर्णको बलियो दावेदार मानिएको माल्दिभ्सलाई अब त्यो सम्भावना कायम राख्न निकै कठिन हुनेछ।
दशरथ रंगशालामा भएको यू–२३ फुटबलमा भुटानले गोलरहित बराबरीपछि दोस्रो हाफमा दुई गोल गरेको थियो। उसका लागि ५५ औं मिनेटमा छिमी दोर्जेले पहिलो गोल गरे । यस्तै ८४ औं मिनेटमा फुब थिन्लले दोस्रो गोल गरे । खेलको अन्त्यतिर माल्दिभ्सका लागि हाम्जा माहेमदले सान्त्वना गोल फर्काए र यसले खेलमा कुनै फरक पारेन्।
जितमा भुटानी प्रशिक्षक पेमाले खुसी व्यक्त गरे र यो जितलाई ऐतिहासिक माने। उनले भने, ‘यो जितमा हामी कति खुसी छौं भनेर भन्न नै सकिरहेका छैनौं । हामी आज जितका लागि पूर्ण हकदार थियौं।’ बिहीबार नै भएको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हरायो । बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरे।
जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसले फाइनल पुग्ने आफ्नो सम्भावनालाई जीवन्त पारेको छ । बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो। श्रीलंका भने दुई अंकमै सीमित रह्यो। आयोजक नेपालको चार अंक छ र दोस्रो स्थानमा छ । नेपाललाई बंगलादेशमाथि गोल अन्तरको फाइदा छ।